नयाँ वर्षमा सौराहमा दोब्बर पर्यटक

२०७५ बैशाख ३ सोमबार १३:२९:०० मा प्रकाशित


चितवन, ३ वैशाख । नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । 

यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,” क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भने। 

घिमिरेका अनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने आशा पलाएको छ । गत वर्ष करीब १० हजार पर्यटक भित्रिएका र होटलमै बास बस्ने पर्यटक अनुमानित ६ हजार रहेको उनले बताए। “विगतमा व्यवसायी चुके, अब प्रवद्र्धनमा तात्नुपर्छ,” घिमिरेले भने। 

विक्रम संवत्को नयाँ वर्षमा सौराहाका होटलमा पर्यटक खचाखच भरिएका छन् । यसपाली सौराहालाई पर्यटक धान्नै मुस्किल भयो । राति कोठा नपाएर फर्कने पर्यटक थुप्रै थिए । एउटै कोठामा म्याट थपेर पनि पर्यटक सुताउनुपरेको अनुभव सुनाउनुहुन्छ होटल पार्क साइडका सञ्चालक शीरलाल परियार । नयाँ वर्ष शुरु हुनु तीन दिन अघिदेखि नै सौराहामा पर्यटक भरिएका थिए । 

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहा हो । विगतमा यहाँ करीब एक लाख ५० हजार पर्यटक आउँथे । यस वर्ष एक लाख ८० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको र यसका लागि व्यवसायी पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने घिमिरेको भनाइ छ । 

शान्ति, सु–व्यवस्था, स्थिरता र मुग्लिन सडकमा विगतभन्दा सास्ती कम भएकाले पनि विभिन्न जिल्लाबाट सौराहा घुम्न पर्यटक आउन थालेका छन् । यसपटक नेपाली नयाँ वर्षमा विदेशी पर्यटक ३० प्रतिशत थिए । अरु सबै आन्तरिक पर्यटक भरिएका थिए । 

रेष्टुराँ एण्ड बार एशोसिएसन नेपाल रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी यसपटक विगतभन्दा बढी पर्यटक सौराहा भित्रिएकाले नयाँ वर्ष पर्यटन व्यवसायीका लागि सुखद हुने बताउँछन्। सौराहामा सुविधायुक्त होटल ११० वटा छन् । अन्य साना होटल पनि सञ्चालनमा छन् । ठूला होटलको क्षमता दैनिक करिब तीन हजार पर्यटक अट्ने छ । “दैनिक पाँच हजारसम्म पर्यटक राख्न सकिन्छ,” गिरीले भने। 

सौराहामा आउने पर्यटक हात्ती सफारी, जिप सफारी र डुङ्गा सफारी गर्छन् । थारु संस्कृतिमा पर्यटक रमाउँछन् । उनीहरु चितवन निकुञ्जमा गैंँडा, चित्तल, हात्ती, जरायो, बाघ, गौरीगाई, भालुलगायत वन्यजन्तु अवलोकन गरेर रमाउँछन् । रासस

ताजा खबर