वसन्तको ‘यायावर’ आयो बजारमा

२०७५ बैशाख ३ सोमबार १२:०५:०० मा प्रकाशित

काठमाडौं । गम्भीर सन्देश दिने ओजपूर्ण शव्दमा गीत र कविता लेख्ने सीप भएका सर्जक बसन्त थाम्सुहाङको नयाँ  सांगीतिक एल्बम ‘यायावर’ सार्वजनिक भएको छ । 

उनको यसअघि २०६८ सालमा आएको पहिलो ‘अवशेष’ शीर्षकको एल्वम निकै लोकप्रिय भएको थियो ।

गीतकार संघ नेपालका आजीवन सदस्य वसन्तको यो यायावर सार्वजनिक गर्न संघले नै व्यवस्थापनको नेतृत्व गरेको थियो । आइतबार काठमाडौंमा आयोजित विमोचन समारोहमा देशका नाम चलेका गीतकार र कविहरुले वसन्तको यायावर सार्वजनिक गरेका थिए ।

 स्वरसम्राट नारायण गोपालका मित्र गीतकार रत्नशमशेर थापा, कवि तथा गीतकार दिनेश अधिकारी,गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, संगीतकार शक्ति बल्लभ, नयाँ पुस्ताका लोकप्रिय कवि श्रवण मुकारुङ, संगीतकार आभाष, गीतकार योगेन्द्रमणि दाहाल र गीतकार थाम्सुहाङले संयुक्त रुपमा एल्बम सार्वजनिक गरेका थिए।

एल्बमको प्रमुख गीत ‘यायावर’ निकै मामिक सन्देश बोकेको सदाबहार गीत भएको गीतकारहरुको प्रतिक्रिया थियो । एल्बमको शीर्ष गीतको भिडियो दर्शकको आँखा रसाउने किसिमको छ । मण्डला थिएटरका संस्थापक तथा लोकप्रिय रंगकर्मी राजन खतिवडाको अभिनय रहेको ‘यायावर’को दृश्यले कसैलाई पनि भावुक नबनी बस्न दिँदैन ।

एल्वमको अर्को ‘न मर्नु न बाँच्नु’ शीर्षकको गीत वसन्तको मन परेको गीत थियो । शव्द संगीत र स्वरका त्रिवेणी अम्बर गुरुङ्गको जीवनबाट प्रभावित भएर वसन्तले यो गीतको रचना गरेको अनुभव सुनाएका थिए । गीतमा अम्बर गुरुङ्गले नै संगीत भरेका छन् । 

त्यसैगरी ‘प्रणयका ती पलहरु’, ‘किन आज’, ‘आफ्नै मुहार’, ‘ए चन्द्रमुखी’ र ‘नसोध साथी’ बोलका गीत एल्वममा समाविष्ट छन् । गीतमा भीषण मुकारुङ, भविन ढुंगाना, झुमा लिम्बु, कर्मा ग्याल्छेन बम्जन र लसिमित राईको स्वर छ । गीतमा अम्बर गुरुङ्ग, शान्ती ठटाल, पारस मुकारुङ र आभाषले संगीत भरेका छन्।

कवि तथा गीतकार वसन्त थाम्सुहाङ्गले आफ्नो विवाहको रजत वर्षको अवसर पारेर गीति एल्बम यायावर सार्वजनिक गर्ने चाँजो मिलाएका थिए।
 

ताजा खबर