बोल्नुस् ओलीजी बोल्नुस्, मुख खोल्नुस् 

२०७४ चैत २८ बुधबार १५:५१:०० मा प्रकाशित

 केपी ओलीजी, रक्सौलबाट अमलेखगञ्ज पाइप लाइन बनेपछि चीनबाट पेट्रोलियम ल्याउन पाइन्छ कि पाइँदैन ? यो प्रश्न प्रधानमन्त्री ओलीलाई कुनै मिडियाले सोधेको सुन्न पाइएन ।

केपी ओलीको राष्ट्रवाद उकालो लागेको बेला थियो । हामी पनि उनको राष्ट्रवादी अडानको समर्थक थियौं । हामी भन्नाले सारा नेपालीले ओलीले नाकावन्दीको बेला लिएको अडानमा साथ दिएका हुन् । त्यसबेला ओलीले चीनबाट पेट्रोलियम ल्याए । हामी दंग पर्यौं ।

ओलीको राष्ट्रवाद खोक्रो हो र समाधानमुखी छैन भन्ने जनताले बुझ्दै गए । नेपालको स्वाभिमान र आत्मसम्मान कुन नेपालीले चाहँदैन ? भारत र चीन दुवै देशसँग समान सम्बन्ध राखेर नेपालको विकास गर्न कुन नेपालीले चाहँदैन । सबैले चाहन्छन् । जनताको यो भावनाको व्यापार गर्न थाले केपी ओलीले । त्यसैले चुनावमा माओवादीसँग तालमेल गर्नपर्ने अवस्थामा पुग्यो ओलीको पार्टी एमाले ।

प्रधानमन्त्री बनेपछि ओली भारत गए । फर्किइसकेका छन् । उनले रक्सौलबाट अमलेखगञ्जसम्म आउने पाइप लाइनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेर गरेका छन् । पाइप लाइन निर्माण स्वागतयोग्य कुरा हो । उपलब्धी हो । यो उपलब्धी भइरहँदा ओलीलाई सोधिनुपर्ने प्रश्न हो– ‘चीनबाट पेट्रोलियम किन्न नपाइने सर्तमा यो पाइपलाइन उद्घाटन भएको हो कि होइन ?’

यो विषयमा ओलीको बोलि फुटेको छैन । 

भारतले नेपालको दशौं ठाउँमा सीमा मिचेको छ । यो विषयमा भारत भ्रमणमा कुरा राखियो ? भारतले मिचेको जमिन छाड्ने भो ? अहँ, ओली मात्र होइन ओलीको टोलीकै बोली फुटेको छैन ।

वर्षा लाग्यो । अब दिनहुँ डुबानको समाचार आउँछ । सीमामा भारतले बनाएको अनाधिकृत बाँध हटाउने बारे भ्रमणमा के उपलब्धी भयो ? पञ्चेश्वर परियोजना बनाउने विषयमा के उपलब्धी भयो ? प्रश्न अनेक छन् तर ओलीको जवाफ आएको छैन । 

अरुण परियोजनामा सहमति भएको छ, उद्घाटन भने हुन सकेन । अरुण जलविद्युत परियोजना बन्नैपर्छ । तर, भारतले विजुली के दाममा किन्ने   हो ? कुन सर्तमा किन्ने हो ? यो विषयमा ओलीको जवाफ आएको खोई ?

अनेक छन् जवाफ आउनुपर्ने विषय । जस्तो कि पानी जहाजको कुरा गरौं । समुद्रसम्मबाट नेपालमा पानी जहाज आउनसक्ने भयो भने विकासका लागि वरदान नै हुन्छ । कोशी नदीमा जहाज ल्याउने रे । राम्रो कुरा हो । जहाज कसरी आउँछ ? कोशी उच्च बाँध बनाएर हिउँदमा जल सतह बढाएमा जहाज आउँछ भनिएको छ । कोशी उच्च बाँध भारतले बनाउने हो । के सर्तमा भारतलाई बाँध बनाउन दिन लागिएको हो ? त्यसबाट नेपालले के फाइदा पाउँछ ? कोशी उच्च बाँध बनाउन दिने निर्णयको ढाकछोप गर्न ओली र मोदीले पानीजहाजको गुलियो छरेका हुन् कि    होइनन् ? यो विषयमा ओली बोल्नुपर्छ । 

भारत भ्रमणबाट के उपलब्धी भयो ? ओलीले पानी जहाजलाई उपलब्धी भनेका छन् । आउँदै नआएको पानीजहाज कसरी उपलब्धी हो ? अर्काे उपलब्धी रेललाई भनिएको छ । बीरगञ्जबाट काठमाडौंसम्म रेल चलाउन सर्वेक्षण भयो ? विस्तृत परियोजना प्रतिवेदन तयार भयो ? यही पाराले आउँदो पाँच वर्षसम्म पनि प्रतिवेदन तयार हुने लक्षण छैन । अनि, लागत कति ? भारतले सम्पूर्ण लागत व्यहोरेर यो रेल बनाइदिँदा बिना शर्त बनाउला ? के छ यसमा सर्त ? बोल्नुस् ओलीजी बोल्नुस्, मुख खोल्नुस् ।

चुनावका बेला एमालेले छरेको आश्वासन र भारत भ्रमणको सेरोफेरोमा प्रधानमन्त्री ओलीले हासिल गरेको भनिएका उपलब्धी उस्तैउस्तै छन् । वर्षाैंवर्षसम्म पूरा नहुने योजनाको सपना देखाएर कसरी उपलब्धी ? सीमा मिचिएको र वाढीले हुने डुबानको समस्या तत्काल समाधान गरिँदैन भने पानी जहाज र रेलको सपना ठगी हो भन्नुपर्ने हुन्छ । त्यसै पनि उडन्ते योजना घोषणा गर्नु ओलीको विशेषता हो । भारत भ्रमणको सेरोफेरोमा पनि उडन्ते योजना घोषणा गरिएको छ । 

अहिले चुनाव छैन, तैपनि किन उडन्ते योजनाहरुलाई प्राथमिकता दिइयो ? रहस्यमय बनेको छ । चुनावको बेलामा उडन्ते योजना घोषणा गरेर भोट बटुल्न खोज्नु सामान्य कुरा हो । अहिले चुनाव पनि छैन तर उडन्ते योजनाहरु घोषणा गरिएको छ, किन ? ओली सरकारले तत्काल हुनुपर्ने ठोस उपलब्धी हासिल गर्न सकेको छैन, त्यसैले उडन्ते योजनाहरु घोषणा गरेर जनतालाई भ्रममा पार्न खोजिएको छ ।

सरकार बनेको दुई महिना पुग्न लाग्यो, अहिलेसम्म सरकारले ठोस काम केही देखाएको छैन । यो दुई महिनामा के ठूलो काम गर्नुभयो भनी प्रधानमन्त्री ओलीलाई सोधियो भने उनको जवाफ के हुन्छ थाहा छैन । तर, भारत भ्रमण गर्नु र तिलस्मी योजना घोषणा गर्नु नै ओलीको उपलब्धी देखिन्छ । छिमेकी देशको भ्रमण गर्नुलाई नै उपलब्धी मान्ने यो कस्तो सरकार हो ? देशमा विकासको दिगो जग हाल्नु, जनताका दैनिक समस्या समाधान गर्नु उपलब्धी हो । तिलस्मी योजना घोषणा गर्दै हिँड्नु चाहिँ बेइमानी हो । जनताका दैनिक समस्याहरु पनि समाधान गरेर अनि ससाना उपलब्धीहरु हासिल गर्दै सरकार अगाडि बढेको भए ठूला र तिलस्मी आयोजना घोषणा गर्दा पनि पत्याउन सकिन्थ्यो । झिंगा मार्न नसक्नेले बाघ मारेको कथा भन्दा कसरी पत्याउने ?

ओली र एमालेले भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भन्ने स्थापित गर्न खोजेका थिए । आज ओली र एमालेले भारतले जे गरे पनि राम्रो मात्र देख्न थालेको छ । भारतसँग पौंठेजोरी खेल्नु नै राष्ट्रवाद हो भनेर कार्यकर्तालाई सिकाएको र जनतालाई घोकाउने प्रयास गरेको होइन र एमालेले ? भारत भ्रमणको सेरोफेरोमा कहाँ देखियो एमालेको राष्ट्रवाद ?

एमाले सरकारले ल्याएको रेल देखियो, पानीजहाज देखियो, विजुली देखियो । सबै चिज देखियो तर कागजमा मात्र । एमालेको राष्ट्रवाद हिजो नारामा देखिएको थियो आज काममा देखिएन । काममा राष्ट्रवाद कस्तो हुन्छ भन्ने जनतालाई थाहा छैन । किनभने एमाले तथा अन्य कम्युनिष्टहरु सडकमा हुँदा राष्ट्रवाद भन्छन्, सत्तामा पुगेपछि त्यो राष्ट्रवादको मलामी जान्छन् । 

भारत गएको प्रधानमन्त्रीको टोली हिजोको राष्ट्रवादको मलामी गएजस्तो देखियो । हिजो एमालेले भनेको राष्ट्रवाद आज व्यवहारमा कहाँ देखियो ? कसरी देखियो ? एमालेले भन्न सक्नुपर्यो । प्रधानमन्त्री ओलीले भन्न सक्नुपर्यो । होइन भने एमाले र ओलीले जनतालाई ठाडै झुक्याएको अनि ठगेको ठहरिने छ ।

गत चुनावसम्म भारतलाई कडा प्रहार गरिरहन्थे ओली । भारतको विरोध गरेर पनि केही भोट एमालेले बटुलेकै हो । चुनाव जित्नासाथ भारतीय नेताहरुसँग ओलीले हिमचिम बढाए । अहिले भारत भ्रमण उनले नेपालको प्रधानमन्त्रीको हैसियतले गरेका हुन् । प्रधानमन्त्री भारत जानु स्वाभाविक हो । छिमेकीसँग मित्रता बढाउनैपर्छ । तर, हिजो भारत के कारणले गलत थियो अनि आज भारत के कारणले ठीक भयो ? एमालेका कार्यकर्ताहरुले नेतृत्वलाई यो प्रश्न अहिलेसम्म सोधेको देखिँदैन । आगामी दिनमा अवश्य सोध्लान् ।

रमाइलो पार्टी हो एमाले । ओली त झन रमाईला नेता हुन् । हिजो कांग्रेसले जे गरे पनि राष्ट्रघात देख्थ्यो एमाले । कांग्रेसले खोक्यो भने पनि राष्ट्रघात, हाच्छिउँ गर्यो भने पनि राष्ट्रघात, जे गरे पनि राष्ट्रघात देख्ने पार्टी यही हो । अहिले आफू सत्तामा छन्, केहीमा पनि राष्ट्रघात देख्दैनन् । रमाइलो होइन त ? 

एमाले र ओलीले आगामी दिनमा यस्तो रमाइलो अरु धेरै देखाउने लक्षण छ ।

र, अहिले चाहिँ यो भन्न सकिन्छ, केपी ओली दिल्ली पुगेर एमालेको कथित राष्ट्रवाद विसर्जन गरे, उनी मलामी गएर फर्किएका हुन् । आफ्नै राष्ट्रवादको मलामी जाने अनि त्यो उपलक्ष्यमा सलामी खाने शैलीले ओलीको विश्वशनीयता समाप्त भएको ठहर गर्न सकिन्छ ।

ताजा खबर