श्वेतपत्रका काला कुरा 

२०७४ चैत २७ मंगलबार ११:२७:०० मा प्रकाशित

 ‘शून्यमा आधारित बजेट तयार गर्न अर्थमन्त्रीको निर्देशन’  अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयता कार्यान्वयनका लागि चालू आथिक वर्षको बजेटमा आधारित नभइ शून्यमा आधारित रहेर तयारी गर्न निर्देशन दिएका हुन् । फागुन मसान्तसम्मको बजेट कार्यान्वयन समीक्षा एवं आगामी आर्थिक वर्षको बजेट तर्जुमाको तयारीसम्बन्धी बैठकमा मन्त्री खतिवडाले आगामी बजेट तर्जुमा गर्दा चालू आर्थिक वर्षको मोडल अवलम्बन नगर्न निर्देशन दिएका हुन् ’ (कारोवार दैनिक चैत्र २५) । 

माथिको यो समाचार अंशले चैत्र १६ मा सार्वजनिक भएको श्वेत पत्रको उद्धेश्य के रहेछ भन्ने अनुमान गर्ने ठाउँ दिएको छ ।  बजेट भनेको जहिले पनि चालुवर्षलाई आधार बनाइन्छ । आयव्ययको अनुमान गर्ने आधार पनि त्यही हो तर यहाँ अव शून्यमा आधारित भएर बजेट बनाउन भनियो र अनुमान गरौं काम पनि त्यसै अनुसार हुनेछन । भनेजस्तै भयोभने सबैकुरा शून्यबाट थालिने छ अर्थात चालु वर्ष आम्दानी र खर्चको अनुमान गर्न समेत योग्य भएन । 

यो भनेको अघिल्लो सरकारमाथि सुनियोजित आक्रमण हो, त्यसले जारी गरेको बजेट अर्को वर्षकालागि तुलना गर्न समेत योग्य नभएको देखाएर । हालै सार्वजनिक गरिएको श्वेतपत्रले नै यस्तो संकेत दिएको थियो  । त्यसमा वास्तवमा नै देशको ढुकुटी रित्याइएको देखाइको थियो । बजेट बनाइँदा  यो कुरा झन कठोर रुपले उठ्ने संकेत यसरी आयो ।  यसमा अहिले सम्मका उपलव्धीहरु कतै उल्लेख भएनन् । स्वाभाविक छ यसको दोष निवर्तमान सरकारमा जानेछ जुन बेला कांग्रेसको नेतृत्व थियोे । कतिसम्म भने विज्ञहरुले यसलाई मानेनन् । एकजना विज्ञले त यो शवेतपत्र जारी गर्ने अर्थमन्त्रीको विगतबारे नै प्रश्न उठाए ।

‘ढुकुटी रित्तो बनाउन अहलेका अर्थमन्त्री खतिवडा पनि जिम्मेवार छन्’ अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्ष र नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर समेत रहेका दीपेन्द्रबहादुर क्षेत्रीको प्रतिकृया हो यो । उनका अनुसार ‘सरकार परिवर्तन भएपछि अर्थात एकले छाड्ने  र अर्कोले लिएपछि सामान्यतयाः कस्तोे परिस्थितिमा सत्ता सम्हालिएको थियो भन्ने कुराको विवरण श्वेतपत्र मार्फत दिइन्छ । विवरण दिँदा राम्रो पक्ष र नराम्रो पक्षले पार्ने प्रभावलाई लिएर दिइन्छ । यसबाट आफूले अगाडि गरेका कामहरूको मूल्याङ्कन गर्न सहज हुन्छ । अहिलेको श्वेतपत्रमा अर्थतन्त्र गएगुज्रेको अवस्थामा हामीलाई छाडिएको छ भनियो । व्यापारघाटा अहिले मात्र भएको विषय होइन । यो क्रमिक रूपले बढ्दै गएको मात्र हो । व्यापार घाटा बढ्नुमा सरकारले राजस्वमुखी नीति नै हो । राजस्व उठाउन पर्छ त भनियो राजस्व उठाउने बेला के सामान आयात गरिन्छ के गरिँदैन भन्ने कुराको हेक्का राखेनन् । बजेटको आधारभूत कुरा थाहा नभई बजेट ल्याइयो भनिएको छ । यसमा अघिल्ला अर्थमन्त्रीको मात्र दोष छैन । विगतलाई एकोहोरो लाञ्छना लाइरहेर मात्र हुँदैन ।

उनीहरू सक्रिय हुने हो भने  ढुकुटी रित्तो भयो भनिरहनु नै पर्दैन ।  चिजमा ध्यान नदिने हाम्रो ढुकुटी रित्तियो भनेर मात्र हुँदैन । जागर चलाउँने हो भने स्रोत र साधनको पर्याप्त मात्रामा उपभोग गर्न सकिन्छ । ढुकुटी रित्तो भयो भनेर दोष थोपरेर हुँदैन । झण्डै २ दशकदेखिको आर्थिक गतिविधि सबै फेल भयो भनियो, अवस्था त्यस्तै हो ? अर्थमन्त्रीले यस्तो अभिव्यक्ति कसरी दिए मलाई पनि अचम्म लागेको छ । गएको वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भयो भन्ने अर्थमन्त्री, अर्थसचिव जस्तै राजनीतिज्ञले होइनन् ?  त्यो आर्थिक वृद्धिलाई दुई दशकदेखि भीख मगुवा भएर बसेको भन्न त पाइँदैन  नि ।

सम्पूर्ण दोष अघिल्ला सरकारलाई दिइरहँदा अहिलेसम्मको आर्थिक गतिविधि फेल भयो भन्ने अर्थमन्त्री नै  कुनै न कुनै रूपमा जिम्मेवार तहमा रहेर जोडिनु भएको थियो, कहीँ न कहीँ भन्दा पनि उहाँले दुई पटक योजना आयोगको उपाध्यक्षमा काम गरिसकेका छन् ।  पाँच वर्षसम्म गर्भनर भएर आएका हुन्। कहिले पनि उनी खाली बसेका छैनन् । यस्तो अवस्था हो नै भने आंशिक रूपमा त्यसको जिम्मेवार उनी पनि हुन्।’ 

के लुकाइयो ?

श्वेतपत्रले देशलाई टाट पल्टाइएको आरोप लगाइ रहँदा यता तथ्यांकले भने अर्कै कुरा वताइरहेका थिए जसले नेपाली कांग्रेसले प्रारम्भ गरेको समृद्धियात्राको एउटा सुखद पाटो देखाउछ । त्यसको आधार वर्ष हो २०४८ । यो वर्ष नेपाली कांग्रेसले पुनस्थापित संसदबाट पहिलो सरकार बनाएको थियो । त्योे बेला देश कस्तो थियो र यो श्वेतपत्र जारी भएको वर्षमा के भयो भन्ने  चित्र आफै देखिन्छ, जसलाइ यो श्वेतपत्रले उल्लेख गरेन र यो पुरै कालखण्डमा देश वर्वादमात्र भएको भन्ने सन्देश दिन खोजियो । यो विवरण राष्ट्रिय योजना आयोग लगायत नेपाल सरकारका अन्य दस्तावेजबाट लिइएको हो जुनवेला अहिलेका अर्थमन्त्री आफैले विभिन्न भूमिकामा रहँदा तयार भएका हुनु पर्छ ।  कांग्रेस नेतृत्वमा भएका केही नीतिगत सुधारको यो प्रतिफल अहिले पनि उपभोगमा छ नै ।

वि.सं. २०४८    र अहिलेको अवस्थाको केही तुलनात्मक चित्रको एउटा अंश - 

एक - गरिबीको रेखामुनी रहेका जनसंख्याको प्रतिशत    ४९    बाट २१ मा । दु - साक्षरता (प्रतिशत), १५ बाट २४ मा,  तीन - प्राथमिक विद्यालयमा खुद भर्नादर (प्रतिशत)    ६४ बाट    ९७ । चार - माध्यमिक विद्यालयको संख्या    १,९५९    बाट ३,५९६ । पाँच- उच्च शिक्षामा महिला र पुरुषको अनुपात    १ः३ बाट     १ः१ । - औसत आयु     ५४    वर्ष बाट ७१ वर्षमा । सात - चिकित्सा र इन्जिनीयरिङ्ग विद्यार्थी संख्या (स्नातक तह)    ५७९     बाट ३७,१३० । आठ - स्वास्थ्य चौकीको संख्या    १,०९८    बाट ४,११६ । नौं - शिशु मृत्यु दर (प्रति १,००० जीवित जन्म) १०८ बाट    ३३ । दश - मातृ मृत्यु दर (प्रति १ लाख जीवित जन्म) ८५० बाट २५८ । एघार - खानेपानीको सुविधा पुगेको जनसंख्याको प्रतिशत    ३६ बाट     ८४ । बाह्र - शौचालय र सरसफाई पुगेको जनसंख्याको प्रतिशत    ६ बाट ८१ ।    तेह्र - ऊर्जा शक्ति    २२७ मे.वा. बाट ८५१ मे.वा.  (अर्को २ वर्षमा २३००)। चौध - बिद्युतमा पहुँच पुगेको जनसंख्याको प्रतिशत ९ बाट ७४। पन्द्र - सडक (कालोपत्रे र ग्रावल)    ४,६१६ कि.मी. बाट ३२,६३९ कि.मी.। सोह्र - सडक (सबै खालका) ७,३३० कि.मी.बाट ८१,३७१ कि.मी. । सत्र - सिंचाइ (हेक्टर) ५.४ लाख बाट १४ लाख । अठार - टेलिफोन     ७१,५६० बाट २७,८५०,००० (मोबाइल) । उन्नाइस - बैकिंग तथा वित्तीय संस्थाहरुको संख्या ५ बाट ११७ । वीस - कुल ग्राहस्थ उत्पादनमा राजस्वको अनुपात (प्रतिशत)    ९ बाट २३ । एक्काइस - बजेटमा विदेशी अनुदान र ऋणको अनुपात (प्रतिशत)    ३६ बाट  १४ । 

यी भनेका जे कुरा बढदा राम्रो हुन्छ त्यो बढेको र जे कुरा घटदा राम्रो हृन्छ तयो घटेको अवस्था हो । यो बेला पनि जग फेरिएको छैन । वास्तविकता हो जगमाथिको सजावट पनि त्यही हो । यस्तोमा टाट पल्टाएको भनेर कसरी मान्ने ? 

श्वेतपत्रमा यो विवरण उल्लेख भएको भए विगतमा गरिएको यो काम यो सरकारका लागि पनि अनुकरणीय भएर यसमा अरु थपिने प्रयास हुने थियो जसले देश र दुनियालाई नै फाइदा पुग्ने थियो । तर भयो उल्टो । सबैकुरा शून्यमा देखाइँदा आउँदा दिनमा पनि यिनै उपलव्धीमा रहनु पर्ने भयो । यो एकप्रकारकोे खासगरी समृद्धि तर्फको यात्राक्रममा चाहिँ गतिरोध नै भनिए हुन्छ । 

के देखाइएन ? 

सर्वसाधारणले बुझेको कुरा हो श्वेतपत्र भनेको यो सार्वजनिक भएको दिनको वास्तविक अवस्थाको चित्रण हुनु । यहीँबाट भविष्यको गन्तव्य निर्धारण हुन्छ । तर एउटा कुनै दलको कामलाई शून्यमा देखाउन खोजिँदा अन्त्यतः वास्तविकता नै प्रकट भएन । त्यसकारण यो कसैमाथि प्रहार गर्न यस्तो हतियारको प्रयोग भयो जसमा कुनै धार छैन भन्ने सबैले बुझे । पूर्व अर्थमन्त्री डा.रामशरण महत र काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डा.विश्व पौडेलले श्वेत पत्रमा लुकाउन खोजिएका तर अहिले जस्तो अवस्था छ त्यसको तस्वीर नै प्रसतुत गर्नु भउको छ ।  तिनलाइ  बुँदागत रुपमा हेरियो भने यस्तो चित्र आउँदो रहेछ ।  

एक - गएको २५ वर्षमा व्यापार घाटा ४१ गुणा बढेको उल्लेख छ । तर गएको २५ वर्षमा राजस्व ६२ गुणा बढेको उल्लेख छैन । कुनै समय १२ अर्ब रुपैयाँ राजस्व उठ्ने गरेकोमा यो बेला ७३० अर्ब रुपैयाँ राजस्व उठिरहेको छ ।

दुइ - व्यापार घाटा बढेको देखाइएको छ । तर, ९० को दशकमा उद्योगहरु खुलेर आयात निर्यात अनुपात ५० प्रतिशत पुगेको थियो । अर्काे भाषामा भन्दा देशको  इम्पोर्ट बिललाई एक्स्पोर्ट अर्निङ्सले ५० प्रतिशत धान्न सक्थ्यो । त्यो कुराको चर्चा छैन । त्यही अवधिमा उत्पादनमूलक क्षेत्रको योगदान बढी थियो ।

तीन - गएको १० वर्षमा मूल्यवृद्धि बढेको देखाइएको छ । तर गएको २ वर्षमा मुद्रास्फिति नियन्त्रणमा आएको देखाइएन ।

चार - राष्ट्रको ढुकुटी रित्तो रहेको भनिएको छ । तर, राष्ट्र बैंकसँग आजको मितिसम्म सरकारको ढुकुटीमा २७१ अर्ब रुपैयाँ छ । त्यसमध्ये ९२ अर्ब मात्र स्थानीय तहको हो ।

पाँच- २५ वर्ष पहिले कूल ग्राहस्थ उत्पादनको १० प्रतिशत कर उठ्ने गरेकोमा अहिले २३–२४ प्रतिशत पुगेको छ । यो अन्य एसियाली राष्ट्रमा विरलै देख्न सकिन्छ । दक्षिण एसियामा त नेपाल शीर्षस्थानमा छ । कर–सार्वजनिक खर्चको अनुपात ११० प्रतिशत छ । यो पनि सकारात्मक हो । वर्षमा १७ प्रतिशत सार्वजनिक खर्च बढेको उल्लेख छ । तर, राजश्व १९ प्रतिशतले बढेको कतै उल्लेख छैन ।

- बजेट घाटा कम गर्न गरिएका सुधारका पक्षबारे चर्चा गरिएको छैन । सार्वजनिक ऋण विकासशील राष्ट्रमध्ये सबैभन्दा कम नेपालको छ । त्यो उल्लेख छैन ।

सात - आयातमा आधारित राजश्वको हिस्सा ४७ प्रतिशत भएको देखाउन खोजिएको छ । यो तथ्यांक सही भएपनि आयकरको १० प्रतिशत योगदान राजश्वमा रहेकोमा अहिले बढेर २३ प्रतिशत पुगेको उल्लेख गरिएको छैन । आयकर तिर्नेको संख्या बढेको उल्लेख छैन ।

आठ -  ५ प्रतिशत क्षेत्रमा पनि नपुगेको बैंकिङ क्षेत्र अहिले ५० प्रतिशत क्षेत्रमा पुगिसक्यो । यो उल्लेख छैन ।

नौ  - सामाजिक क्षेत्रमा देखिएको विकास र सुचकांक लुकाउनु खोजिएको छ । 

आयु बढेको, भौतिक पूर्वाधारको सञ्जाल यद्यपि पर्याप्त नहोला तर देशभरी फैलिएको, शिक्षा र स्वास्थ्य सेवामा भएको व्यापक विस्तार आदि पनि त यो देशका सम्पत्ति हुन । त्यसको उल्लेख गरियो भने कुनै अर्को दलले श्रेय लिने संकुचित मानसिकता राखिदा भविष्यमा गर्ने काम र व्यक्त हुने बोलीमा शुरुमै शंका जन्मायो । त्यसकारण यो कांग्रेसमाथि योजनावद्धरुपले प्रहार हुन थालेको विषयमा परिणत भएको हो । कांग्रेसले शसक्तरुपमा यसको प्रतिवाद गर्नु पर्छ । उल्लेख भएका तथ्यांकहरु व्यापक रुपले प्रस्तुत गर्न सकियो भने मात्रै पनि यसले आफैं अवस्था बुझाउने छ ।

जगको कुरा 

देश यतिमबेला जस्तो राजनीतिक पद्धतिमा छ, बहुलवादमा आधारित, यो सर्वमान्य भएको छ । आफनो दल स्थापना हुँदा नै एक दलीय र नीर्दलीय मान्यताहरु आफै खण्डित भएका छन । देशमा नेपाली कांग्रेसले अवलम्वन गरेको आर्थिक नीति पनि सर्वमान्य भएको एउटा पक्ष हो । यही नीतिले माथि उल्ल्ेख भएका उपलव्धी हासिल भएको कुरा वताइ रहन नपर्ला । बाम गठवन्धनका शीर्षनेताले दुई वर्ष अघि भएको एउटा लगानी सम्मेलनमा कांग्रेसको यो नीतिनै आफ्ना लागि मान्य भएको र यसबाट यताउता हुनेछैन भनी संसार सामू प्रतिवद्धता जनाइ सकेको आवस्था हो यो । यस अघिका सबै वाम सरकारले पनि यही नीति अवलम्वन गर्दै आएका जगजाहेर छ । अहिलेको खाँचो भनेको यसलाई झन बलियो बनाउनु हो । त्यसमा अलिकति शंका भयोभने स्थिति के हुन्छ भन्ने वितेका दुइ महिनादेखि पुँजी बजारमा आएको विचलन आफै एउटा उदाहरण हुनुपर्छ । प्रादेशिक संरचनामा देश गइनै सकेकोछ ।

यो व्यवस्तथा खर्चिलो मानिन्छ । त्यसकालागि व्यापक साधनस्रोतको अभाव हृुन्छ र त्यसलाइ पूर्तिगर्ने ठाउँ भनेको कांग्रेसले अवलम्वन गरेको उदारवादी नीति नै हो जुन नेपाली कांग्रेसले प्रस्ताव गरेको हो । त्यस्तो कांग्रेसमाथि यस्तो आरोप लाग्छ भने वास्तवमानै यसको प्रतिवाद हुनै पर्छ ।   
 (लेखक नेपाली कांग्रेसका निवर्तमान सांसद हुन्)
 
 

ताजा खबर