चीसो राँके तताए कविहरुले

२०७४ चैत २५ आइतबार १४:०५:०० मा प्रकाशित

पाँचथर,२५ चैत । बाह्रैमास चिसो हुने पाँचथर – इलामको सिमावर्ती राँके बजारमा शुक्रबार र शनिबार कवि–लेखकहरु खुब रमाए । त्यहाँ आयोजित मेची अञ्चल स्तरीय साहित्यिक संगोष्ठिमा सहभागि हुन आएका कवि–लेखकहरुले राँकेको चिसोलाई दुई दिनसम्म सिर्जनाले तताउने प्रयास गरे । 
पाँचथरको फाल्गुनन्द गाउँपालिका र इलामको देउमाइ नगरपालिकाको सहयोगमा नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरले आयोजना गरेको संगोष्ठिमा ताप्लेजुङ, पाँचथर, इलाम र झापाका एक सय स्रष्टाहरुको सहभागिता रहेको थियो ।

संगोष्ठिको पहिलो दिन शुक्रबार मेची अञ्चलको साहित्यिक इतिहास र बर्तमान अनि पर्यावरणीय लेखनबारे बिमर्श भयो । शनिबार भने पाँचथरका पर्यटकीय स्थल सिलौटी, लब्रेकुटि र साधुटारको भ्रमणपछि बहूभाषिक कवि गोष्ठि भयो । 

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले कार्यक्रमले मेची अञ्चलका स्रष्टाहरुलाई एकै ठाउँ उभ्याएर यहाँको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।

कार्यक्रममा साहित्यकारहरु राजन मुकारुङ, अमर नेम्बाङ, रबिमान लमजेल, बिमल बैद्य, डा.देवी क्षेत्रि दुलाल, मुनाराज शेर्मा, देबेन्द्र सक्तेन, प्रकाश थाम्सुहाङ, भवानी तावा, राजेन्द्र जबेगु, अभागि थेगुावा, मलिसा याक्थुङबा, सगुन सुसारा, जीतेन मुस्कान, लोकेन्द्र बञ्जरा, विवश बलिभद्र कोइराला, राज कुमार अनिश्चित, मदन मुच्र्छना लगायतले बिचार ब्यक्त गर्नुका साथै रचना वाचन गरे ।

सोही अवसरमा आयोजित बहूभाषिक कबिता प्रतियोगिता अन्तर्गत नेपाली भाषातर्फ ताप्जेलुङका लेकाली कान्छा मुकुम प्रथम, इलामकी बालिका थपलिया द्धितिय र पाँचथरका प्रकाश ढुंगाना प्रथम भए । लिम्बू भाषातर्फ मचिन्द्र सेमी लोवा प्रथम, पोनाहाङमा लोवा द्धितिय र एल.बी.नेम्बाङ त्रितिय भए । राई वान्तावा भाषातर्फ भने पाँचथरका राज कुमार इशारा प्रथम, इलामका असिम वान्तवा द्वितिय र पाँचथरका थामथुमे काइँला त्रितिय भएका थिए ।
 
 

ताजा खबर