भारतीय कम्पनीको ढिलासुस्तीले सिंगटी–लामोसाँघु प्रसारण लाइन अलपत्र

२०७४ चैत २४ शनिबार १६:५६:०० मा प्रकाशित

चरिकोट, २४ चैत । सिंगटी– लामोसाँघु प्रसारण लाइन अहिले अलपत्र अवस्थामा रहेको छ । 

दुई वर्षमा पूरा गर्ने गरी आठ वर्षअघि ठेक्का सम्झौता भएको उक्त आयोजना अहिलेसम्म पुरा हुन नसक्दा अलपत्र अवस्थामा रहेको हो । 

प्रसारण लाइन नबन्दा सिप्रिङ खोला लगायतको बिजुली खेरगइरहेको छ भने यसबाट लगानीकर्ताले विगत पाँच वर्षदेखि करोडौं रुपैयाँको वार्षिक घाटा व्यहोर्दै आएको पनि छ । 

सिंगटी–लामोसाँघु प्रसारण लाइन १३२ केभी क्षमताको हो । ठेकेदारको लापरबाही र सरकारको. बेवास्ताले अहिलेसम्म निर्माण अलपत्र छ । प्रसारण लाइन निर्माणको जिम्मा पाएको भारतीय कम्पनी अरावली इन्फ्रा पावरले आर्थिक संकट देखाउँदै काममा ढिलाइ गर्दै आएको छ । 

सुरुमा ठेक्का सम्झौता भएको मितिले दुई वर्ष्भित्र निर्माण पूरा गर्ने सर्त थियो, सम्झौता भएको अहिले आठ वर्ष वितिसक्यो, अझै कहिले प्रसारण लाइन बन्छ भन्ने टुंगो छैन, स्थानीयवासी बताउँछन् । 

स्थानीयवासीका अनुसार, ठेकेदारसँग प्राधिकरणले चार पटक सम्झौता नवीकरण गरिसकेको छ । चौंथो पटक थपिएको समयानुसार २०७५ जेठमा काम पूरा गरिसक्नु पर्नेछ तर, उक्त समयमा पनि प्रसारण लाइन पूरा हुने संकेत देखिएको छैन । 

विसं २०६७ बाट निर्माण थालिएको प्रसारण लाइन शुरुका दुई वर्ष तीव्र गतिमा अघि बढेको थियो । विसं २०६९ देखि २०७३ चैतसम्म आर्थिक संकट देखाउँदै ठेकेदारले पूर्णरूपमा निर्माण कार्य रोक्यो । यसबीचमा प्राधिकरणले ठेक्का सम्झौता तोडेर नयाँ ठेकेदार नियुक्त गर्ने तयारी थालेको पनि थियो तर नयाँ ठेक्कामा जाँदा लामो समय लाग्ने हुँदा थप ढिलो हुने कारण देखाउँदै त्यस क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्ने निजी प्रवद्र्धकले पूरानै ठेक्कालाई निरन्तरता दिन आग्रह गरेका थिए । 

प्राधिकरण, निजी क्षेत्र र ठेकेदारबीच भएको सझदारी अनुसार गत वैशाखबाट ठेकेदारले प्रसारण लाइन निर्माणको काम पुनः सूचारु गरेको छ । त्यो पनि अरावलीको नेपाली एजेन्ट बनेर मार्बूमा निर्माणाधिन ४० मेगावाटको खानी खोला–१ जलविद्युत् आयोजनाका प्रवद्र्धकबाटै । उनीहरु आफैंले गरेको काम पनि सुस्त देखिएको छ । 

ठेकेदारले निर्माण रोकेको समयमा जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत काम भने नरोकिएको प्राधिकरणले जनाएको छ । निर्माणको प्रगति सिंगटी–लामोसाँघु प्रसारण लाइनको ४० प्रतिशत काम पूरा भएको प्राधिकरणको दाबी छ । दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघु (४० किलोमिटर) सम्म एक सय २५ वटा टावर निर्माण गरिनेछ । टावर ठड्याउन ४० वटाको फाउण्डेसन तयार भएको आयोजनना प्रमुख राजन ढुङ्गेलले बताए। बाँकी टावरको फाउण्डेसन असारसम्म सकिने र टावर तार तान्ने काम एक वर्षमा पूरा हुने उनले बताए। 

आयोजनना प्रमुख ढुङ्गेलका अनुसार सिंगटी र लामोसाँघुमा दुई सवस्टेसन निर्माण हुनेछ । सामान आयातमा भन्सारको समस्याले पनि काममा ढिलाइ भइरहेको उनले बताए। 

भारतीय कम्पनी अरावलीले काम नगरेपछि खानी खोला १ का प्रबद्र्धक भारतमै पुगेर आफैं काम गर्ने गरी २०७१ सालमै सम्झौता गरेका हुन् । उनीहरुले फाउण्डेसनको काम शुरु गरेलगत्तै २०७२ वैशाखमा भूकम्प गयो । त्यसपछिको नाकाबन्दीले एकवर्ष काम ठप्प भयो । पुनः काम सूचारु गर्ने बेला थपिएको म्याद सकियो । लामो कसरतपछि थपिएको म्याद पनि सकिन लागेको हो । 

सिंगटीमा नयाँ सवस्टेसन निर्माण गर्ने र विद्यमान लामोसाँघु सवस्टेसनको स्तरोन्नति गर्ने योजना छ, आयोजनना प्रमुख ढुङ्गेलले भने– “प्रसारण लाइनको कूल लागत रु ४२ करोड अनुमान गरिएको छ ।” 

प्रसारण लाइन तयार भएपछि दोलखामा निर्माणाधीन ४० मेगावाटको खानीखोला–१, ३० मेगावाटको खानी खोला, २५ मेगावाटको सिंगटी, ११ मेगावाटको तल्लो खारेखोला, २४ दशमलव १ मेगावाटको खारेखोला, १० मेगावाटको सिप्रिङ खोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ । राससमा गोकर्णप्रसाद भण्डारीको रिपोर्ट ।


 

ताजा खबर