भारतसँग केपी ओली फेरिए, नरम देखिए

२०७४ चैत २३ शुक्रबार १५:०४:०० मा प्रकाशित

निश्चयसाथ भन्न सकिन्छ– भारतबाट फर्किएपछि केपी ओली पहिले जस्तो रहने छैनन् । उनमा व्यापक परिवर्तन आउने छ । दिल्ली जानु अघि नै ओलीमा केही ठोस परिवर्तन आइसकेको छ । 

दिल्लीमा ओलीलाई भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरे । नाकावन्दीका बेला भारत सरकारको तर्फबाट नेपालप्रति सर्वाधिक आक्रामक बनेका थिए राजनाथ । संविधान जारी भए लगत्तै राजनाथले नेपालमा एक करोड भारतीय बस्छन् र उनीहरुको हितलाई बेवास्ता गर्न सकिँदैन भनेका थिए । 

ओली आइतबार फर्कनेछन् । उता त्यो दिन चीनमा बोआओ सम्मेलनको उद्घाटन हुनेछ । चीनले प्रमुख अन्तर्राष्ट्रिय मञ्चका रुपमा बोआओ फोरमलाई विकास गरिरहेछ । विगतमा यो फोरमको सम्मेलनमा नेपालको तर्फबाट सरकार प्रमुख उपस्थित हुन्थे । तर, सबै सम्मेलनमा भने नेपालका सरकार प्रमुखको उपस्थिति थिएन । यसपटक नेपालका सरकार प्रमुख केपी ओली बोआओ सम्मेलनको बेला भारतमा हुनेछन् । सम्मेलनमा ओलीको अनुपस्थिति अर्थपूर्ण हुने नै भयो । अनुपस्थिति भन्दा अर्थपूर्ण चाहिँ सम्मेलनको उद्घाटनका बेला ओली भारतमा हुनेछन् । 

यतिले मात्र नेपालको भावी वैदेशिक नीतिको आकलन गर्न चाहिँ सकिँदैन । 

के हो भूराजनीति ?

ओलीको भारत भ्रमणका बेला उनको एउटा अभिव्यक्ति स्मरण गर्नु सान्दर्भिक होला । 

पहिलो पटक प्रधानमन्त्री पदबाट विदा लिँदै थिए ओली । उनी कामचलाउ प्रधानमन्त्रीमा परिणत भइसकेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी संलग्न मदन भण्डारी फाउण्डेसनले नेपाल चीन सम्बन्धबारे काठमाडौंको मल्ल होटलमा कार्यक्रम गरेको थियो । 

कार्यक्रममा ओलीले चीनसँगको सम्बन्ध चर्चा गर्दै भूराजनीतिक जोखिमबारे आफूलाई अरुले धेरै बुझाउन आवश्यक नभएको, आफूले बुझेको भूराजनीतिमा उत्तरमा चीन र दक्षिणमा भारत छ, त्यसबाहेक विश्व समुदाय छ, सबैसँग सुमधुर राख्ने हो, आफूले बुझेको भूराजनीति यही हो भनेका थिए ।

प्रधानमन्त्री पदबाट हटेपछि पनि ओलीले भारत र चीन दुवैसँग समान सम्बन्ध राख्ने भनिरहे । भारतप्रति नाकावन्दीको बेला जसरी आक्रामक हुन त्यसपछि आवश्यक भएन तर ओलीको भारत लक्षित टिप्पणीहरुलाई नाकावन्दीको बेला जसरी नै अतिरंजनासाथ अथ्र्याइयो । ओली भारतप्रति निरन्तर आक्रामक छन् भन्ने मनोविज्ञान सिर्जना भयो । 

तर, वास्तवमै ओलीले ‘भूराजनीति’ बुझेका रहेछन् । उनी भारतप्रति नरम बन्दै गए । नरम, नरम अनि नरम बन्दै ओली यति नरम बने कि बोआओ सम्मेलनको समय पारेर भारत गए । 

बोआओ सम्मेलनकै समय पारेर प्रधानमन्त्री ओलीको भारत भ्रमण किन तय गरियो ? अर्थ प्रष्ट छ, उनी चीन नजाउन् भन्ने भारत चाहन्छ । बोआओ फोरमका बेला भारत भ्रमण गर्नु ओलीका लागि सहज विषय थिएन होला । अनि, यही बेला पारेर भारत भ्रमण गर्नुपर्ने परिवन्दमा पनि ओली परे भनी सहजै अनुमान गर्न सकिन्छ ।

भूराजनीतिक दाउपेच कस्तो हुन्छ भन्ने ओलीले अहिले बुझ्दै होलान् । 

तर, यतिले मात्रै नेपालको भारत र चीनसँगको सम्बन्धको भावी बाटोको आकलन गर्न चाहिँ मिल्दैन ।

चीन कहिले ?

भारतबाट फर्किएर ओली चीन जान्छन् ? कहिले जान्छन् ? गएर के गर्छन् ? यी प्रश्नको जवाफ हामी अब खोज्न थाल्नेछौं तर दिल्लीले भने यसको जवाफ धेरै पहिले खोजिसकेको प्रतित हुन्छ । र, जवाफको डिजाइन पनि तयार गरिसकेको द्रष्टिन्छ ।

फेरी पूरानो कुरा स्मरण गरौं– प्रधानमन्त्री पदबाट हट्दा ओलीले संसदमा बोल्दै अब चिनियाँ राष्ट्रपति कहिले आउँछन् भन्ने प्रश्न उठाएका थिए । 

ओली दिल्लीबाट फर्किएपछि प्रश्न उठ्नेछ– चीन कहिले जाने ?

नाकावन्दीपछि मात्र नेपाल भारत सम्बन्धमा ‘चीन तत्व’ यति सघन रुपमा उपस्थित भएको हो । चीन जानबाट भारतले यसरी रोक्ने अवस्था विगतमा यस्तो खुलेआम थिएन । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएर ओलम्पिक उद्घाटन समारोहमा भाग लिन चीन जाँदा भारतले ‘आपत्ति जनाएछ’ ।

भारतले ‘आपत्ति’ जनाएको पनि बाहिर थाहा भएन । चीनबाट फर्किएर पहिलो औपचारिक भ्रमण त चीनकै गर्छु भन्ने अभिव्यक्ति दिएपछि भारतले ‘आपत्ति जनाएको’ प्रष्टसँग थाहा पाइयो । नेपालका प्रधानमन्त्री भारत जाँदा चीनले कहिल्यै आपत्ति जनाएको संकेत मिलेन । अहिले पनि आपत्ति जनाएको लक्षण र संकेत केही छैन । नेपालको भारतसँगको सम्बन्ध विकासमा चीनलाई कहिल्यै आपत्ति भएन, नेपाल–चीन सम्बन्धमा चाहिँ भारतलाई आपत्ति देखिन्छ ।

नेपालले भारतसँग सम्बन्ध बढाउँदा चीनले आपत्ति जनाउँदैन, चीनसँग सम्बन्ध बढाउँदा चाहिँ भारतले आपत्ति जनाउँछ ! यही हो ओलीको समस्या, याने कि नेपालको समस्या । ओलीले भारत भ्रमण क्रममा यो समस्या समाधान गर्लान् ? 

ओली भारतबाट फर्किएपछि उठ्ने प्रश्न यही हो र यो प्रश्नको स्वरुप अनेक हुनसक्छन् । माथि नै भनियो, प्रश्न हुनेछ– ओली चीन कहिले जान्छन् ? अथवा, चिनियाँ राष्ट्रपति कहिले नेपाल आउँछन् ?

नेपालका प्रधानमन्त्री कहिले चीन जान्छन् भनेर आशावादी कोणबाट जनताले प्रश्न सोध्ने वातावरण नेपालप्रतिको गलत भारतीय नीतिका कारण सिर्जना भएको तथ्य भारतले बुझ्नुपर्छ ।

चीनलाई रोक्ने ‘उपाय’

ओलीलाई भारतले यति ठूलो भाउ दिनुका पछाडि उनको सटिक भाषण होइन । अडान लिने शैलीका कारण पनि ओलीलाई भारतले माया देखाउन थालेको होइन । यसको कारण भूराजनीति हो । भूराजनीतिलाई संक्षेपमा ‘चीन तत्व’ भन्न सकिन्छ । कुरा जति घुमाए पनि, जताबाट जसरी ब्याख्या गरे पनि भारतले नेपालमा चीनको बलियो उपस्थिति हुँदै जाने खतरा देखेको छ । त्यो खतरा न्यून गर्न नेपाललाई आफ्नो पक्षमा राखिरहनुपर्छ । यही प्रयोजनका लागि उसले ओलीलाई माया देखाएको हो, नेपाललाई सद्भाव देखाएको हो । 

फेरी पनि लेखौं– अन्तर्राष्ट्रिय राजनीतिमा देखाइने ‘दिल’ नक्कली हो, कूटनीतिमा ‘दिल तत्व’ हुँदैन, स्वार्थ तत्व मात्र हुन्छ । अन्तराष्ट्रिय राजनीतिमा देखिने र देखाइने दिल र भावना भनेको स्वार्थमा हालिएको खोल मात्र हो ।

नाकावन्दीको बेलादेखि नेपाल चीनसँग लहसिन थालेको हो । यसलाई रोक्ने उपाय भारतसँग छ । ओलीलाई दवाब दिएर र छेकवार लगाएर, नेपालभित्र समस्या सिर्जना गराएर नेपालको चीनसँगको सम्बन्धमा रोकावट ल्याउन खोज्नु अनुचित हो । यस्तो उपाय भारतका लागि प्रत्यूत्पादक हुन्छ । 

अर्काे उपाय छ । त्यो उपायबारे नेपालमा खासै चर्चा भइरहेको छैन ।

नेपाल चीनसँग लहसिन खोज्नुका अनेक कारणमध्ये मुख्य कारण तीनवटा छन् । पहिलो कारण हो– पारवहनको विकल्प । दोस्रो कारण हो– चीनको बजार । तेस्रो कारण हो– भारतबाट नेपालले असुरक्षित महशुस गर्नु ।

बजार भारतमा पनि छ, भारतबाट असुरक्षा महशुस गर्ने दिन भोली नरहन पनि सक्ला । तर, पारवहन स्थायी चिज हो । भारतको बाटोबाट तेस्रो मुलुकसम्म नेपालको पहुँच जटिल र महंगो छ, महंगो बनाइएको छ ।

कोशी उच्च बाँध बनाएर जलमार्गबाट समुद्रसम्म पहुँचको सपनालाई विपनामा रुपान्तरण गर्न समय लाग्छ । तत्काल नै भारतले केही काम थाल्न सक्छ । नेपाललाई लक्षित गरेर समुद्रदेखि सीमासम्म भारतले रेल र सडक विस्तार किन गर्दैन ? समुद्रबाट नेपाललाई लक्षित गरेर भारतले रेल र सडक बनाइदिने हो भने नेपालले पारवहनका लागि चीनको मुख ताक्न पर्दैन । तेस्रो मुलुकबाट हुने नेपालको आयात र निर्यात निक्कै सस्तो पर्न जान्छ । 

अरु त कुरै छाडौं, मुख्य भन्सार नाकाको रुपमा रहेको जोगवनी, काकडभिट्टा, सुनौली लगायतलाई हेर्यो भने पनि भारतले नेपाललाई गरिरहेको असहयोग बुझ्न सकिन्छ । यी नाकाहरुबाट मालवाहक सवारी साधन नेपाल भित्रिन कहिलेकाहिँ त कैयन दिन पर्खनुपर्ने हुन्छ । यसले गर्दा नेपालको आयात तथा निर्यातको लागत उच्च हुन्छ ।

वन्दरगाहमा नेपाली मालवस्तु छुटाउन लाग्ने समय बेग्लै छ, नेपालको सीमा लक्षित सडक र रेल सेवा प्रभावकारी छैन । पारवहनमा नेपाललाई भारतले सहयोग गर्ने हो भने नेपालले विकल्पमा चीनतिर मुख ताकिरहँदैन । भारतले पारवहन सरलीकरण गरिदिने हो भने चीनतर्फको नेपालको पारवहन प्रयास स्वत सुस्त हुन्छ । नेपालमा चीनको उपस्थिति भारतले चिन्ता गरे जसरी नबढ्न सक्छ ।

यो एजेण्डामा भारत प्रवेश नै गर्न चाहँदैन, नेपालले पनि यो विषयलाई मुख्य एजेण्डा बनाइरहेको छैन । दुई देशको सम्बन्ध सुधार्ने हो भने यो विषयमा प्रवेश गर्नुपर्छ । 

फेरिएका ओली

दिल्लीमा छन् अहिले ओली । उनले भारतलाई चिढाउन नचाहेको बरु विश्वाशमा लिन खोजेको प्रष्ट छ । उनले नेपालको हित विपरित कुनै सन्धी सम्झौता नगर्ने भनिसकेका छन्, अवश्य त्यसो गर्ने छैनन् । तर, यतिले मात्र पुग्दैन । नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा उठाउन उनले प्रष्टसँग नेपालको स्वार्थको कुरा राख्नुपर्छ । भारतसँग हार्डवेयर होइन सफ्टवेयर लिनुपर्छ ।


हार्डवेयर भनेको भौतिक वस्तु हो, सफ्टवेयर भनेको नेपाललाई सहज हुने गरी व्यापार र पारवहन लगायतका सुविधा लिनु हो । दुईचार वटा मोटर दिने, दुईचारवटा स्कूल भवन बनाइदिने अनि त्यसमा ‘भारतको सहयोग’ लेखाउने तुच्छ रुची भारतले देखाउन हुँदैन । नेपालमा भारतीय लगानीमा जलविद्युत आयोजना बन्नु ठूलो कुरा होइन, यो हार्डवेयर हो । आयोजनाको विद्युत भारतले कसरी र के सर्तमा किन्छ भन्ने चाहिँ सफ्टवेयर हो । वल्छी नदिने तर माछा दिने शैलीले अब हुँदैन । 

अब पनि भारतले हार्डवेयर सहयोगमा उदार देखिने, सफ्टवेयर सहयोगमा घाँटी निमोठ्ने व्यवहार गर्छ भने नेपालप्रतिको उसको रणनीति मात्र फेरिएको हो, नीति फेरिएको होइन भनेर बुझ्नुपर्ने हुन्छ ।


प्रधानमन्त्री बनेपछि भारतप्रति ओली फेरिएको, नरम बनेको प्रष्टै देखिन्छ । भ्रमणको मिति जसरी तय गरिएको छ त्यसबाट भारतीय चासो सम्बोधन गर्न ओली उद्दार छन् भन्ने झन प्रष्ट हुन्छ । नेपालको आवश्यकता र औचित्यकै आधारमा ओली फेरिँदै गएको पनि बुझ्न सकिन्छ । ओली फेरिए, नेपाल फेरियो, भारत चाहिँ फेरियो कि फेरिएन ? यसको जवाफ ओलीको भ्रमणका क्रममा भारतले गर्न सक्ने सम्भावित सफ्टवेयर सहयोगमा निहित छ ।


 

ताजा खबर