ओलीले भत्काइरहेको नेपाली जनताका सपना

२०७४ चैत २१ बुधबार ११:३०:०० मा प्रकाशित

दुई वर्षभित्र केपी ओलीको दुईचारवटा अवतार देख्न पाइयो । पहिलो पटक प्रधानमन्त्री पदमा रहँदा उनले अडान देखाए । त्यो अडान उनको व्यक्तिगत थिएन । भारतले जसरी नाकावन्दी लगाएको थियो, जे सर्त तेर्साएको थियो, त्यसमा नेपाल झुक्न सम्भव थिएन । ओलीले चाहेर पनि भारतसँग झुक्ने निर्णय गर्न सम्भव थिएन । त्यसैले त्यसबेला ओली राष्ट्रवादी कहलिए । त्यसको व्याज चुनावमा पनि खाए । 

चुनावपछि ओलीको अर्काे अवतार सुरु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पटकपटक फोनवार्ता गरे । सुष्मा स्वराजलाई नेपाल बोलाए । भारतीय विदेशमन्त्री स्वराज नेपाल आइन् ओलीले बोलाएकै कारणले । कुनै अर्काे देशको विदेशमन्त्रीलाई देशको कोही एकजना नेताले बोलाउँदा आउने कस्तो सम्बन्ध हो ? 

सुष्मा स्वराज भारतीय विदेशमन्त्री हुन्, ओली अहिले प्रधानमन्त्री छन्, स्वराज नेपाल आउँदा ओली कुनै पदमा थिएनन् । सांसद पदको सपथ पनि लिएका थिएनन् । आफू प्रधानमन्त्री पदमा भएको जसरी उनले स्वराजलाई बोलाए, प्रधानमन्त्री पदमा बसे जसरी भेटवार्ता गरे । नेपाल सरकारको पूरै उपेक्षा गरे । नेपालको सरकारलाई पूरै वाईपास गरेर भारतको मन्त्रीलाई बोलाउनु कुन राष्ट्रवाद हो ?

ओलीको सट्टा अरु कोही नेताले यसो गरेका थिए भने ओलीको राष्ट्रवाद जाग्थ्यो र आरोपको वर्षा गर्थे । एमालेले कोकोहोलो मच्चाउँथ्यो । 

प्रधानमन्त्री बनेपछि ओलीको राष्ट्रवाद स्यालको सीङ गायब भए जसरी गायब भएको छ । कसरी गायब भएको छ भन्नेबारे पूरानो सन्दर्भको उदाहरण दिउँ । ओली पहिलो पटक प्रधानमन्त्री पदबाट हट्दा प्रश्न उठाएका थिए– अब चीनका राष्ट्रपति नेपाल आउँछन् ? चीनका राष्ट्रपति आउनबाट रोक्नलाई आफूलाई हटाइएको ओलीको तर्क थियो । अहिले प्रश्न गर्नुपर्ने भएको छ– ‘ओलीजी, चीनका राष्ट्रपति कहिले आउँछन् ?’ ओलीले चीनबाट रेल र तेल ल्याउने सपना देखाए । अहिले पनि पाँच वर्षभित्र रेल कुदाउँछु भनिरहेका छन् । तर अब नेपालमा चीन कि भारतको रेल कुद्ने हो ? ओली मुख खोल्दैनन् । 

नेपाली जनतालाई नेपालमा चीन र भारत दुवैतिरबाट रेल आओस् भन्ने छ । यो भावना ओलीले बुझे अनि त्यही अनुसार नारा दिए । अहिले उनी रेलको नारा धेरै बोल्दैनन् । उत्तरी चीनतिर नाका खोल्छु भन्थे, प्रधानमन्त्री बनेको पूरै डेढ महिना भइसक्यो, नाकाको न पनि उच्चारण गर्दैनन् । 

संविधान संशोधन रोक्ने ओली नै हुन् । प्रधानमन्त्री बनेपछि संविधान संशोधन गर्छु भनिसके । हिजो किन संशोधन गर्न नमानेको ? अनि, अब संशोधन किन गर्नुपर्ने हो ? ओली बताउँदैनन् । 

ओलीले भारतसँग पूरै सम्बन्ध बिगारे । यो नेपाली जनताको चाहना होइन । नेपालको वस्तुगत आवश्यकता भनेको भारत र चीन दुवैसँग सुमधुर सम्बन्ध राख्ने हो, दुवैबाट विकासमा सहयोग लिने हो । तर, ओलीले भारतसँग सहकार्य गर्दा चीन रिसाउने र चीनसँग सहकार्य गर्दा भारत शशंकित हुने वातावरण बनाए । ओली भारत जाँदैछन्, भारत जाँदा चीन शशंकित हुने बातावरण किन बन्यो ? भोली उनी चीन जालान्, त्यसबेला भारत शशंकित बन्ने अवस्था अहिले नै देखिन्छ । विगतका प्रधानमन्त्रीहरु पनि भारत र चीन दुवैतिर जान्थे, एकातिर जाँदा अर्काे देश शशंकित हुँदैनथ्यो । तर, ओलीले नेपालको परराष्ट्र सम्बन्ध यसरी भत्काए कि सबै देश नेपालसँग शशंकित हुने अवस्था सिर्जना भयो । 

ओली तथा एमालेले राष्ट्रवादको भ्रम छरेर सत्ता प्राप्त गरेका छन् । उग्र नारा दिएर सत्ता प्राप्त गरेका छन् । उग्रताको घोडा चढ्न सजिलो हुन्छ, ओर्लन गाह्रो हुन्छ । उग्रताको घोडाबाट ओर्लंदा कि घोडालाई क्षति हुन्छ, कि चढ्नेको घुँडालाई क्षति हुन्छ । देश र जनतालाई घोडा बनाउने काम एमालेले गर्यो । अहिले देशलाई क्षति पुराएर आफूलाई सुरक्षित बनाउने बाटोमा ओली र एमाले छन् । 

यहाँनेर भन्नैपर्ने हुन्छ– ओली र एमालेको नक्कली राष्ट्रवादको खोल उत्रिएको छ । एमालेले आगामी दिनमा आफ्नो असली अनुहार खोल्दै जानेछ । आगामी दिनमा ओलीको नयाँनयाँ अवतार देख्न पाइनेछ ।

ताजा खबर