खुमबहादुरको गुन बिर्से देउवालाई हानी

२०७४ चैत २० मंगलबार १३:५४:०० मा प्रकाशित

चुनाव हारेर सत्ताबाट पाँच वर्षका लागि पूर्णरुपमा बाहिरिएका कांग्रेसजन,उनीहरुका नेताहरु र कार्यकर्ता तथा कांग्रेसका मतदाताहरु खुमबहादुर खड्काको निधनबाट थप शोकमा डुबेका छन् । नेपाली कांग्रेसका कार्यकर्तावीच सबैभन्दा प्रिय रहेका भनिएका खड्काको उपचारका क्रममा नयाँदिल्लीमा शुक्रबार निधन भएको खबर सुनेका कांग्रेसजनमा चिन्ता थपिएको छ,जुन अस्वाभाविक पनि होईन । 

नेपाली कांग्रेसको संगठन निर्माणमा गिरिजाप्रसाद कोइरालापछि खड्काको सबैभन्दा ठूलो योगदान रहेको कुरामा कसैको पनि दुइमत नहोला। जानकारहरु भन्छन् –आफ्ना कार्यकर्तालाई माया गर्ने र सकेको सहयोग गर्ने गुण खड्कामा थियो। पार्टीमा लागेका विद्यार्थीहरु देखि नेता,कार्यकर्ता र अन्यका दुख दर्दमा मल्हमपट्टी गर्ने,कसैसँग झर्को नगर्ने हक्की नेताका रुपमा चिनिन्थे खड्का । तर खड्काका यिनै गुणहरु कांग्रेसका कतिपय नेताका लागि चुनौति भएर रहे उनी जीवित छउञ्जेल र उनको राजनीतिक जीवन षड्यन्त्रपूर्वक समाप्त पारियो भ्रष्टाचारको मुद्दा लाएर । 

सबैलाई थाहा छ शाही शासनकालमा प्रतिशोधपूर्ण तरिकाले खड्का, जयप्रकाश गुप्ता र चिरन्जीवी वाग्लेलाई भ्रष्टाचारको मुद्दा लगाईयो । उनीहरुको एकमात्र दोष थियो तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न नसक्ने भनेको २०५९ को संसदीय चुनाव चरणवध्द रुपमा गर्नुपर्ने   जिकिर । अन्तत दरबारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दुरुपयोग गरी उनीहरुमाथि मुद्दा चलायो। जुन प्रकारान्तरले उनीहरुलाई राजनीतिबाट सदाका लागि अलग गर्ने हतियार बन्यो ।

२०६२ – ०६३ को आन्दोलनले राजतन्त्रको अन्त्य गर्यो । राजाले तत्काल गरेका सम्पूर्ण निर्णयहरुलाई उल्टाएको गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले राजाबाट खड्का र अरु दुई भाईमाथि लाईएका मुद्दा भने फिर्ता गरेन । मुख्यता दुइवटा कारणले–आफूसँग रहेका नेताहरु शेरबहादुर देउवातिर लागेर पार्टी फुटाएको रिस कोइरालामा थियो । अर्को कुरा खुमबहादुर खड्कालाई छाडेर सुजातालाई अगाडि बढाउने अवस्था थिएन कोइरालासँग । अनि त्यो मुद्दा नै त्यो तगारो हटाउने एउटै अचूक उपाय थियो । त्यसो त मुद्दा खेपेर जेल बसेर सजाय व्यतित गरीसकेका मानिसहरुलाई सामान्य नागरिक मानिनुपर्ने र नागिरकहरुले उपभोग गर्न पाउने अधिकार दिइनुपर्ने हो,अन्य देशमा दिइन्छ पनि । तर नेपालमा यी तीन जनालाई त्यो अधिकार दिईएन र दिन हुँदैन भनेर कोकोहोलो समेत गरियो । पार्टीभित्र र बाहिरैबाट मानौं नेपालमा यी तीनमात्र भ्रष्ट नेताहरु हुन्। यिनै मानमर्दन खपिरहेका बेला खड्कालाई रोगले च्याप्यो थला परे अन्तत उपचारको क्रममा स्वास्थ्यमा सुधार हुननसकी उनको निधन भयो। अब उनी भौतिक रुपमा यो संसारमा रहेनन् पनि ।

एक जमाना थियो २०४८ को चुनावपछि । कांग्रेसले बहुमत ल्याएर गठन भएको प्रजातन्त्र पुनस्थापनापछिको पहिलो सरकारमा ‘आरएसएस’ र ‘केजिबी’लाई शक्तिशाली समूह मानिन्थ्यो। आरएसएसमा रामचन्द्र पौडेल,शैलजा आचार्य र शेरबहादुर देउवा थिए भने केजिबीमा थिए खुमबहादुर खड्का,गोबिन्दराज जोशी र बिजय गच्छदार । तर आज २५ वर्षपछि शैलजा र खुमबहादुर संसारबाट विदा भैसकेका छन् भने रामचन्द्र पनि पार्टीमा लगभग निरीह अवस्थामा छन् । त्यसैगरी तनहँुकै अर्का नेता गोबिन्दराज जोशी माथि पनि भ्रष्टाचारको मुद्दा लागेको छ । कांग्रेस छाडेर फोरम पसी छुट्टै पार्टी गठन गरेका बिजय गच्छदार १० वर्षपछि माउ पार्टी फर्केका छन् आफ्नो सिंगै पार्टीलाई कांग्रेसमा विलय गराएर । उनको भविष्य कांग्रेसमा के हुने हो भन्नेमा उनी नै ढुक्क छैनन् होला । यसमानेमा आरएसएस र केजिबी अब इतिहास भैसकेका छन् ।

सामाजिक सञ्जालमाहरुमा खड्कालाई श्रध्दाञ्जली दिनेहरुको ठूलो समूह देखिएको छ। कांग्रेसका हरेक कार्यकर्ताले उनलाई श्रध्दाञ्जली दिएका छन् र जिउँदो हुन्जेल खुईल्याउन नछोडेका अवसरवादीहरुले पनि गोहीको आँसु बगाएका छन् । पार्टीमा लागेर सबैभन्दा दुख पाएका खड्कालाई नजिकबाट चिन्ने र हल्लाका पछाडि लाग्नेहरुले पनि खड्कालाई सम्झेका छन् । पार्टीले एउटा जुझारु नेता गुमाउँदा कार्यकर्ताहरु दुखी हुनु अस्वाभाविक पनि होईन,अझ खड्का अन्यायको शीकार बने । उनलाई प्रयोग गरेर पार्टी कब्जा गर्नेहरुलाई पनि उनको निधनले बेग्लै चिन्ता थपिदिएको होला । तर पनि कांग्रेसी नेताहरुमा रहेको अहमले गर्दा खड्काले पार्टीमा गरेको योगदानको अवमूल्यन हुने ठूलो डर छ । यद्यपि आफ्नो केन्द्रीय सदस्य गुमाएको बेला जारी केन्द्रीय समिति बैठक अहिले स्थगित गरिएको छ । खड्काको निधनभन्दा अघिसम्म आफ्ना भनाई राख्ने नेताहरुले पनि त्यो अहमलाई त्याग्न नसकेको देखिएको थियो,विशेष गरेर सभापति शेरबहादुर देउवा निकट सदस्यहरुमा ।

यो वर्ष सम्पन्न स्थानीय,प्रदेश र केन्द्रीय चुनावहरुमा कांग्रेस नराम्ररी पराजित भएको हो। तर सभापति देउवा निकट केही नेताहरुले यसलाई हार भन्न सकिरहेका छैनन् । स्वयं सभापतिले पनि यसलाई हार होईन अर्थोक नै देखिरहेका छन् । अझै देउवा निकट केही नेताहरुले पार्टीभित्र चुनाव गरे देउवाले नै ठूलो मतान्तरले जित्ने जिद्दी गरेको कुरा बाहिर आएको छ । यथार्थ चाहिं के छ भने ७ वटै प्रदेश सभामा र प्रतिनिधि सभामा वैकल्पिक सरकार दिनसक्ने अवस्थामा कांग्रेस छैन । केन्द्रीय संसदमा कांग्रेसले वाम गठबन्धनको एउटा समूह एमालेले जितेको सिट संख्याको आधा पनि जितेको छैन। अझै पनि यी अहमवादी नेताहरु आफूले नहारेको तर वाम गठबन्धनको कारणले प्राविधिक रुपमा हारेको भन्न लाज मानिरहेका छैनन् । यो अहम् कांग्रेसीमा देखिएको सबैभन्दा ठूलो कमजोरी हो। 

अब खुमबहादुरको निधनपछि अहिलेको पार्टीमा त्यस्तो सन्तुलन कायम रहने सुनिश्चितता छैन। वास्तवमा शेरबहादुर देउवाले पार्टी सभापतिमा खुमबहादुरकै सहयोग र बलमा जितेका थिए अघिल्लो महाधिवेशनमा । तर देउवाले २ वर्षसम्म खड्काको गुण तिरेनन् र सायद उनको निधनले पार्टीमा पदाधिकारी नियुक्त गर्ने बाटो खुलेको ठान्दै होलान् उनी । किनभने अहिलेसम्म खुमबहादुरलाई उपसभापति वा उनको मान्छेलाई महामन्त्री दिनुपर्ने भनेर महाधिवेशनपछि २-२ वर्षसम्म पदाधिकारीहरु नियुक्त गर्ने काम भएको थिएन ।

सायद अहिले स्थगित भएको केन्द्रीय समितिको बैठक कथंकदाचित फेरी जारी भएमा खड्कालाई श्रध्दाञ्जली दिएर औपचारिकतामात्र निभाउने   छ । तर उनले देखाएको कार्यदिशालाई पुरै वेवास्ता गरिने छ ।  

२०४८ को आम निर्वाचन,२०५१ को मध्यावधि र २०५६ को आमनिर्वाचनमा राप्ती अञ्चल लगायत पश्चिम नेपालमा कांग्रेसले राम्रो प्रदर्शन गर्नमा खड्काको योगदान रहेको थियो । २०६४ मा माओवादीले आफूलाई मार्ने षड्यन्त्र गरिरहेको सूचना पाएका खड्का दाङ्गमा बस्ने अवस्थामा थिएन तर ०७० को संविधानसभा चुनावमा दाङ्गका सबै सिटमा कांग्रेस बिजयी भएको थियो । कांग्रेसमा रणनीतिक हिसाबले काम गर्ने खड्काको अभाव अवश्य नै खड्किने छ अब केही वर्षसम्म । र सायद उनको अभावमा उनको ठाउँ अब कसले लिने भन्ने भन्दा पनि उनका नजिक रहेका नेताहरुले अब देउवालाई साथ दिन्छन् कि दिँदैनन् भन्ने कुराले अबको राजनीतिमा निकै महत्व राख्दछ ।

वास्तवमा जनभावना अनुसार निर्णय लिने काम कांग्रेस नेतृत्वले हत्तपत्त गर्दैन । खुमबहादुर खड्का मात्र अपवाद थिए यस मानेमा उनी जनता र कांग्रेस मतदाताहरुलाई खुशी कसरी राख्ने भन्ने कुरालाई केन्द्रमा राखेर साही अनुसारको काम र व्यवहार गर्दथे । यसै सन्दर्भमा देउवा निकट रहेका रामकृष्ण यादव लगायतले केन्द्रीय समिति बैठकमा व्यक्त बिचारहरु र जनता तथा आम मतदाताको भावना प्रतिनिधित्व गर्दैनन्। जस्तो कि देउवा संसदीय दलको नेतामा विजयी भएको कुरालाई उनीहरुले देउवाको लोकप्रियता भनेर अपव्याख्या गरेका छन् । त्यसैगरी ‘अर्ली महाधिवेशन’ भए देउवा नै भारी मत ल्याएर जित्ने ध्वाँस दिएका छन् । यी कुरा गर्दा मतदाताले के चाहेका छन् भन्ने बिर्सेको देखिन्छ । प्रधानमन्त्री हुनुभन्दा अगाडि देखि नै देउवाले चालेका कदमहरुले कांग्रेसका परम्परागत मतदाताहरुलाई भड्काएको कुरा उनीहरु स्वीकार्दैनन् ।

प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण, प्रधानन्यायाधीश विरुध्दको महाअभियोग प्रस्ताव र भरतपुर महानगरमा कार्यकर्ताको आवाज दवाएर माओवादी केन्द्रलाई सुम्पिएका जस्ता चर्चित घटनाले शहरिया मतदाता देउवाले नै भड्काएका थिए । त्यसमाथि कतिपय आधार नै नभएका मानिसलाई धनबलको भरमा टिकट दिएर थप क्षति पुर्याएका थिए ।

कांग्रेस नेता बलबहादुर केसीले पक्कै पनि ‘भाउजु’ले को को बाट पैसा लिनुभएको थियो भनेर त्यसै भनेका थिएनन् होला देउवा पत्नी आरजुतिर संकेत गर्दै । ठेकेदार,शैक्षिक व्यापारी,नवधनाड्य तथा मेडिकल कलेज संचालकले संसदको टिकट पाएकाले पनि केसीको प्रश्न नाजायज लाग्दैन । नाकाबन्दी र भारतीय प्रधानमन्त्री मोदीलाई संविधान संशोधन गर्छु भनेर दिएको वचनले पनि मतदाता भड्किएका थिए। तर अहमवादी कांग्रेस नेताहरु यो यथार्थलाई स्वीकार्न चाहँदैनन् र हामीले जे गरेपनि हुन्छ भन्ने मानसिकतालाई त्याग्न पनि तयार देखिँदैनन् । यही अहम र जनतासँगको तादात्म्यतालाई नमिलाउँदा नराम्ररी चुनाव हारेको कांग्रेसलाई खुमबहादुर जस्ता नेताको निधनले अझै कमजोर पार्ने नै देखिन्छ । अन्य पार्टीका मानिसले र कांग्रेसभित्र आफ्नो भाग खोसिने देखेका बाहेकले सायद नै खड्कालाई लोकले र कतिपय प्रेसले देखेजस्तो ‘भ्रष्टाचारी’ ठानेनन् र ठान्दैनन् पनि । उनले अरुले जस्तो पैसा कमाएर थुपारेनन् । राजनीतिमा रहुन्जेल कार्यकर्तालाई माया गरे र पैसा नभएकालाई पैसा दिए पनि । तर नियतिले र कृतघ्न शासक अनि नेतृत्वले उनलाई ‘भ्रष्ट’मा दर्ज गरे । खड्कालाई हार्दिक श्रध्दाञ्जली !

ताजा खबर