कांग्रेसमा नयाँ अवतारको खाँचो 

२०७४ चैत १८ आइतबार १२:३८:०० मा प्रकाशित

 एउटा काम गर्न एउटा अवतार ।

पौराणिक कथा, तिनका पात्र र उनले प्रतिपादन गरेका मार्ग अहिलेका मान्छेका जीवनसँग मिल्छन् भने तिनको अवलम्वन किन नगर्ने भन्ने जिज्ञासा हुन्छ नै । त्यही सन्दर्भ यहाँ उल्लेख छ महाभारतको एउटा प्रसंग । त्यो युद्धको अन्तिमतिर भगवान कृष्णको भनाइ यसरी आएको छ –‘मेरो जन्म यो संसारमा धर्मको स्थापना गर्नका लागि भएको हो र त्यो पुरा भइसक्यो । अब म आवश्यकता भन्दा बढी यो संसारमा रहेंभनें त्यसले संसारको सन्तुलनमा खलल पार्नेछ ।’ कुनै पनि धार्मिक प्रवचन वा धर्म ग्रन्थहरूमा जहाँकहीँ उल्लेख भएका पाइन्छ – एउटै भगवानले फरकफरक समस्या समाधान गर्न फरक समयमा फरक अवतारमा अवतरित हुनु । जुन कामका लागि यस्तो अवतार भएको थियो त्यो काम सम्पन्न भएपछि ती भगवानको जीवनलिला समाप्त भएको छ ।

रामायणका राम हुन कि महाभारतका कृष्ण । पछिल्लो वा भनौ नवौं अवतार बुद्धका रुपमा भयो तर उनको पनि एउटा कालखण्डमा अवसान नै भयो । एउटा निश्चित काम सम्पन्न हुनका लागि मात्र यो अवतार भएको हो, अवतरित यस्तो जीवन अमृत्यु रहँदैन भन्ने सन्देश नै प्रवाह भएको छ । हामी जसलाई भगवान भन्छौं त्यो ठाउँबाट नै सदासर्वदा एउटै व्यक्ति, संस्था वा शक्ति सधैँ र सबै काममा सफल हुन सक्दैन, त्यसका लागि अर्को अवतार हुनुपर्छ भनिरहिएको छ भने तिनै भगवानको सृष्टी मानिएको यो संसारमा हामीले पनि मान्नु पर्छ – नयाँ अवस्था र नयाँ समस्या समाधानका निम्ति नयाँ नेतृत्व र नयाँ शक्तिको खाँचो पर्दछ अर्थात नयाँ अवतार हुनु पर्छ । 

कांग्रेसमा नयाँ अवतारको खाँचो

नेपाली कांग्रेसको जीवनले वास्तवमा नै यतिखेर एउटा नयाँ अवतारको खोजी गरेको छ । गएको निर्वाचनलाई मात्र आधार मानेर होइन, एकताका दुइतिहाइ बहुमतमा थियो नेपाली कांग्रेस । अहिले उसको विपक्षी त्यस्तै दुइ तिहाइको नजीकमा आएको अवस्था हो यो । तर यो दलका लागि र यसका कार्यकर्ताका लागि एउटा दूर्भाग्य नै भन्नुपर्छ एउटा कार्यकर्ताले प्रकृतिको यो साश्वत सत्य भन्न पाइरहेका छैनन् । कांग्रेसका कुनै कार्यकर्ताले यसो भनेभनँे पहिलो प्रतिकृया हुन्छ यो कसको पक्षमा रहेछ ? पुरानाले छाडून र नयाँ आउनु पर्छ भन्ने पक्षमा रहेछ योे, त्यसकारण यसलाई नोटमा राखौं । साश्वत सत्य सत्य नै हो ।

त्यो न नयाँका पक्षमा हुन्छ न पुरानाका बिपक्षमा । नेतृत्वको हेर्ने आँखा चाहिँ अहिले पनि त्यस्तै रहेको हुनुपर्छ । त्यसकारण साधारण कार्यकर्ता कुनदिन कुन नेतृत्वको कोपभाजनमा परिने हो भन्ने भयले मुखैखोल्न सक्तैनन् । जव एउटा साश्वत सत्य पनि बोल्न पाइँदैन भने त्यो दलमा पुनर्निमाणको अभ्यास कस्तो होला, अनुमान गरौं । यहीँबाट एउटा प्रारम्भ होस् – यस्ता कुरा वास्तवमा नै कांग्रेसका पक्षमा भएको ठानियोस् । अनिमात्र कांग्रेसले नयाँ अभ्यास थालेको भन्ने बुभ्mन सकिन्छ । 

परिणामको सन्देश पहिलेनै 

निर्वाचन परिणामकै कुरा गर्ने हो भने  नेतृत्व भन्दा त्यो तहको कार्यकर्ता बढी पीडायुक्त अवस्थामा छ । उसका सामुन्ने वर्तमान त खोसियो नै भविष्यको रेखा समेत देखिएको अवस्था छैन । जव भविष्यको रेखा देखिँदैन त्यो जतिको पीडादायक अरु हुँदैन । त्यसकारण नेतृत्वमा जो हुनुहुन्छ उहाँहरुको पहिलो काम हो त्यो रेखा देखाउने । तर यहाँपनि त्यस्तै  दूर्भाग्य जस्तै हुँदै छ । निर्वाचनको यस्तो परिणाम देखिन थालेको स्थानीय सरकारको निर्वाचन समयलाई आधार मान्ने हो भने आजको मितिमा नवौं महिना वितिसकेको छ । यस्तो परिणाम आउँदै छ है भन्ने संकेत पहिलो चरणको स्थानीय निर्वाचनले नै दिइसकेको थियो । यो संकेतलाई समात्न सकिएन । त्यसपछि सबै परिणाम यसरी नै आउँदै रहे । यता कांग्रेसमा त्यसको समीक्षा हुनै पाएन । यदि समीक्षा भएको भए त्यसको निश्कर्ष के आयो त भन्ने एउटा पनि उदाहरण छैन । पछिल्लो कालखण्डमा प्रवक्ताको नियुक्ति भयो, त्यतिमात्रै हो । तर यो एउटा नियुक्तिले कांग्रेस हारको महशुस नेतृत्वमा भरपुर रुपले भएको भन्ने कार्यकर्ता तहसम्म पुगेको पाइँदैन । बरु भोको मान्छेले डाँडावारी र अघा’कोले डाँडापारी खाउँ भन्नेजस्तो मात्रै भैरहेको छ । 

आरोप प्रत्यारोप 

तीन तहका निर्वाचन जो पाँच चरणमा सम्पन्न भएका थिए तिनको वास्तवमा नै समीक्षा भएकै छैन, समीक्षाका नाममा आरोप प्रत्यारोप मात्रै भैरहेका छन  । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि एकपटक केन्द्रिय समितिको बैठक बस्यो । त्यसमा आउने चरणमा कांग्रेस पहिलो हुने दावीमात्र गरियो । त्यसपछि केन्द्रिय र प्रदेश सभाको निर्वाचनको परिणाम आएपछि एकपटक यस्तो बैठक बस्यो तर यसको विषय नै राष्ट्रिय सभाका सदस्यहरुको नामावलीका सन्दर्भमा थियो । यद्यपि यो बैठकमा परिणामका कुरा त भए तर त्यसमा आरोप र बचाउ बाहेक अन्यकुरा भएको कार्यकर्ताहरुले थाहा पाएनन् । यसको अर्थ हो दुइदिन बसेको त्यो बैठकले अवका दिनका समीक्षा कस्ता हुन्छन् भन्ने मात्र देखायो । निश्चय नै कांग्रेसले यतिखेर आरोप र प्रतिरक्षा मात्र खोजेको होइन । भविष्य कस्तो हुने छ भन्ने सन्देश चाहिएको थियो । त्यो आएको छैन ।

कांग्रेसको यो पछिल्लो बैठकलाई यसका शुभचिन्तकहरुले कुनैमहत्व दिएको पाइएन । तत्कालीन परिणाम पछिको यो तात्तातो समयको समीक्षाले गन्तव्य निर्धारण गर्दैन पनि । उनका भनाइरहे – तत्काल खेल हारेको टिम, व्यापार बिग्रेको परिवार र चुनाव हारेको पार्टीको नियति प्रायः एउटै हुन्छ- त्यहाँभित्रको बहस गलत विषयमा केन्द्रित हुन्छ । आरोप–प्रत्यारोप सुरु हुन्छ । साँच्चै भन्ने हो भने त्यो बहस नै हुँदैन । किचलो हुन्छ, झगडा हुन्छ । कसले गर्दा हारियो ? कसले गर्दा बिग्रियो ? मान्छे यति साँघुरा प्रश्नमा अल्झिन्छन् । त्यस्तो बहसले फराकिलो आयातन समात्दैन । त्यो केवल एउटा खेल वा चुनाव केन्द्रित हुन्छ । जबकि, एउटा खेल त जसले पनि हार्छ । एउटा चुनाव त जसले पनि हार्छ । कहिल्यै खेल नहारेको टिम र कहिल्यै चुनाव नहारेको पार्टी पनि हुन्छ र ? कांग्रेसको नेतृत्व ठिक छ, नीति ठिक छ, शैली ठिक छ, आचरण ठिक छ, मतदाताको आधार फैलिँदो छ, तर पनि प्राविधिक रूपले कांग्रेसले एउटा चुनाव मात्र हारेको हो भने त्यसले व्यापक बहस माँग गर्दैन । अर्को चुनाव जित्ला, त्यसकै लागि प्रयास गरे भैगयो ।

शुभचिन्तकका कामना 

कांग्रेसका लागि अहोभाग्यको कुरा हो यसका शुभचिन्तकहरु धेरै र प्रखर रहेछन् । यो निर्वाचन पछि यो कुरा सतहमा प्रकट भयो जव उनीहरुलाई कांग्रेसको यो पराजयले कार्यकर्ता भन्दा बढी दुखाए छ र वास्तवमा नै यसको भविष्यका लागि उनीहरुले रेखांकन नै प्रस्तुत गरे । आजको आवश्यकता हो, निर्णायक तहमा रहेकाहरुले त्यस्तो मार्गचित्र देखाउनु कि यस्ता शुभचिन्तकहरुले  देखाएको यस्तो चित्रलाई आत्मसात गर्नु । यहाँ नै अर्को दूर्भाग्य देखियो – यी दुवैकुरा कसैले मानेनन् । नेतृत्व छाडनु पर्छ भन्ने पक्षले त्यस्तो छाडिएको अवस्थामा अबको कांग्रेस यस्तो हुने छ भन्ने स्पष्ट ब्ल्याक एण्ड ह्वाइट प्रिण्ट प्रस्तुत गरेका छन् न नेतृत्व छाड्न हुँदैन भन्ने पक्षबाट नै अवको कांग्रेस यस्तो हुने छ भन्ने त्यस्तो प्रिण्ट आयो । यसले कांग्रेसको समस्या त जहाँको त्यहीँ रह्यो नै बरु कार्यकर्तालाई कांग्रेसको पक्षमा उभिन अप्ठ्यारो बनायो । यति ठूलो संक्रमणकालको अन्त्य गर्ने कांग्रेस यसरी आफंै भित्र चाहिँ झन् संक्रमणमा प¥यो । सही बाटोका बारेमा कार्यकर्ताले आफनोकुरा निर्धक्क राख्न पाएनन भने दल भित्र त्यो भन्दा ठूलो संक्रमण अर्को न होला ।

बलियो कांग्रेस कि कांग्रेस भित्र आफु 

यतिखेरको कांग्रेसको काम भनेको सन्देश दिने हो । स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणाम देखिनै कांग्रेसले सुधार गरेर परिस्थितिलाई आफनो अनुकूल बनाउदै छ भन्ने आधारहरुको व्यापक माँग भएको थियो । तर यथास्थितिमा नै त्यसबेला तीन चरणका निर्वाचन सम्पन भए । परिणामले सोचेजस्तोे देखाएन । यही बीचमा केन्द्र र प्रदेशको निर्वाचन भयो । विपक्षीले उठाएका कुराका तुलनामा यो निर्वाचनमा कांग्रेसले देखाउने कुरा खासै थिएनन । आफनो दल भित्र, आफैले गर्नुपर्ने कामसमेत नभएको गुनासोका बीचमा नै यी सबै भए । निर्वाचनमा परााजीत हुन कुनै रणनीतिक कौशलता चाहिँदैन । आफुले गर्नु पर्नेकाम गएिन भने यो पक्ष आफै आइपर्छ । अबको आवश्यकता भनेको सधँै यस्तै रहन नदिनु हो ।

त्यसैका लागि खोजिएको हो कांग्रेसलाई यो परिणामले दुखाएको छ भन्ने आफ्नो संगठनको आम तहमा नै पु¥याउनु । यसले तत्काल नै केही सुधारको अपेक्षा गर्दछ । यो  काम गर्न ढिलो नै भैकेको छ । आम कार्यकर्ताले खोजेका कुरा हुन बलियो कांग्रेस । सबैले यसो भन्दै नै आउनु भएको पनि छ । तर व्यवहारमा भने कांग्रेस भन्दा कांग्रेस भित्र आफु बलियो हुने होडवाजी छ । कांग्रेस भनेको मै हूँ भन्ने मान्यताले न कांग्रेसलाई बलियो बनाउछ न त्यसभित्र आफुलाई नै । केही पहिले निर्वाचनमा नील जस्तै भएको एउटा दल राप्रपाले आफुले चुनाव हार्नुको कारण भनी नेपाली कांग्रेसलाई दोष दियो । उसले कांग्रेससंग चुनावमा गठवन्धन गर्दा यस्तो परिणाम आएको भनी औपचारिक रुपमा नै निश्कर्ष सुनायो । निर्धो पनको यो एउटा उदाहरण हो, ओरालो लागेको मृगलाई बाच्छाले खेदे जस्तो । यस्तो बेला आफनो कर्तव्य निर्वाह गर्दा पनि आरोप लाग्दा रहेछन । केन्द्रिय संसद बन्नका लागि राष्ट्रिय सभा चाहिँदो नै रहेछ । यो कुरा संस्थागत रुपले नै स्थापित भयो । कथंकाल कांग्रेसले अडान नलिएको भए वा विपक्षीको आरोपमा नतमस्तक भएकोभए यो एउटा काम अधुरो नै रहने रहेछ संविधानतः ।

तर यस्तो अडान लिइँदा कांग्रेसप्रति देश भरी नै कस्तो सन्देश गयो वा फैल्याइयो भने निर्वाचन हारेर पनि कांग्रेसले सत्ता छाडन मानेन । यो निर्वाचनमा कुनै एक दलको बहुमत छैन कम्तीमा सरकार बनाउनका लागि । कुनै दुइ वा ती भन्दा बढी दल मिल्नै पर्छ । यो अवस्थितिलाई सम्झाउँदा कत्रो षडयन्त्रकारी भनेर प्रचार गरियो भन्ने जगजाहेर नै छ । यी भनेका कांग्रेस बलियो नहँुदाका अवस्था हुन । यस्तो बेला कांग्रेस भित्र आफु बलियो भएको मानिएका अवस्थामा पनि यसको छर्रा त सबै तिर प¥यो नै । यसको एउटैमात्र उदाहरण दिने हो भने नयाँ संविधानले स्थापित गरेका प्रदेश र केन्द्रका सम्वैधानिक पदहरुमा कांग्रेसले कतै चर्चासमेत नपाएको अवस्थालाई लिन सकिन्छ । केन्द्रिय तह देख सातवटा प्रदेशमा जसरी पद पूर्ति भयो ती सबै नै निविरोध भए ।

यी ठाउँमा कांग्रेससंग गठवन्धन गरेर पद प्राप्तीका लागि कांग्रेस आफैले र कांग्रेससंग अरुले कुनै पहल गरे ? यस्तो कतै सुनिएन र देखिएन पनि । पार्टी कमजोर हुँदा त्यसभित्रका हामीहरु कति निरीह हुँदारहेछौं भन्ने यतिकुरा नै पर्याप्त होलान । यी सबैले बुझाउने कुरा हो कांग्रेस बलियो भयो भने मात्र हामी कांग्रेसीहरु पनि बलिया हुने रहेछौं । अबका दिन नेतृत्वको ध्यान यता जाओस् । 
(लेखक नेपाली कांग्रेसका निवर्तमान सांसद हुन् ।)

ताजा खबर