नेपाली मौलिक खानालाई विश्व व्यापीकरण गरिने 

२०७४ चैत १७ शनिबार ११:१०:०० मा प्रकाशित


  काठमाडौं । मौलिक खानालाई विश्वव्यापी गर्दै यसका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन गर्न २३ ओटा मौलिक नेपाली खाना छनोट गरिएको छ । यी २३ खानाको खाद्य प्रयोगशालामा परिक्षण समेत सम्पन्न भएको छ । नेपाली मौलिक खानामा पर्याप्त क्यालोरी भएपनि यसलाई विश्वव्यापी बनाउने क्रममा यसको परिक्षण पनि जरुरी भएकोले ती खानाको क्यालोरी सहित आवश्यक परिक्षण गरिएको यस अभियानका सूत्रधार पर्यटन व्यवसायी कर्ण शाक्यले बताए ।

नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न शुरू भएको राष्ट्रिय अभियानले गत कात्तिक महीनामा वरिष्ठ पर्यटन व्यवसायी शाक्यको संयोजकत्वमा समिति गठन गरी खानाको खोज तथा अनुसन्धान थालेको थियो । कार्यदलमा प्रतिष्ठित सेफ, व्यावसायिक खाद्य प्राविधिज्ञ, डाइटिसियनलगायत होटल सङ्घ नेपाल, रेष्टुराँ एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) र सेफ एशोसिएशन अफ नेपालका पदाधिकारीको सहभागिता थियो । कार्यदलले १ महीनाभन्दा बढीको समय लगाएर हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक दुई दर्जनभन्दा बढी खानाको अध्ययन गरी प्रारम्भिक मेनु तयार गरेर सोहीअनुरूप खाना बनाई परीक्षणका लागि प्रयोगशाला पठाएको थियो । 

प्रयोगशालाबाट खानाको परिक्षण भएर आएकोले यसलाई व्यापक रुपमा प्रचार प्रसार गर्न २०७५ वैशाख १ गते काठमाडौं सहित विश्वभरी रहेका गैर आवासीय नेपाली च्याप्टरहरुबाट ‘फूड फेष्टिवल’ गरी नेपाली मौलिक खानाको विश्व व्यापीकरण गरिने होटल एशोसिएसन नेपाल (हान)का महासचिव विनायक शाहले जानकारी दिए । काठमाडौमा आयोजना गरिने ‘फूड फेष्टिवल’मा प्रधानमन्त्री सहित विभिन्न देशका राजदूतहरुलाई समेत आमन्त्रण गरिने तयारी भइरहको उनले बताए । 

विश्व व्यापीकरण गरिने  नेपाली मौलिक खाना

मुख्य खाना    दाल, भात,ढुङ्ग्रे रोटी,सेकुवा,छोइला,कुखुरा साँधेको,बँदेल उसिनेको, बारा,चटामरी,पकुवा, फुरौला

सुप    आलु,तामा बोडीको झोल (पञ्चक्वा),ज्वाजनोको झोल ४

एपेटाइजर    चुकौनी,करेसावारी (सलाद),चुक सखरखण्ड,टिमुरे आलु  ४

स्वीट    योमरी, दही फल, सीकर्नी ४

विश्वव्यापी रूपमा सामान्यतः २ सयदेखि ३ सय क्यालोरीसम्मको खानालाई सन्तुलित खानाका रूपमा लिइन्छ । त्यसकारण कार्यदलले सोहीअनुसारको रेसिपी तयार पारी क्यालोरी टेष्टका लागि नेपाल सरकारको खाद्य प्रयोगशालामा पठाएको उनले बताए । प्रयोगशालाबाट छनोट गरिएका खाना सन्तुलित भएको रिपोट आएको जानकारी दिँदै शाक्यले छनोट गरिएका मौलिक खानालाई आवश्यकताअनुसार परिष्कृत गरेर विस्तृत विवरण (आवश्यक सामग्री, पकाउने विधिसमेत) तयार पारिएको र यसलाई केही समयमै विश्वव्यापीकरण गरिने उनले बताए । कार्यदलले खासगरी चुक, हिङ, जिम्बु, टिमुर, ज्वानो, मेथी, छ्यापीलाई राष्ट्रिय स्वादको रूपमा ग्रहण गर्दै नेपाली खाना थाली, सेकुवा, छोइला, गुन्द्रुक, अचार, सुकुटी, चुकौनी, विभिन्न खालका सुप तथा अचारलगायत छनोट गरेको छ ।

यो अभियानलाई आफ्नो अभियानका रूपमा लिँदै नेपाल पर्यटन बोर्डले ‘एक्सपेरियन्स नेपाल अभियान’ घोषणा गरी विदेशमा समेत यसको प्रचार प्रसार शुरु गरिएको नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशीले जानकारी दिए ।

 

ताजा खबर