चीन र भारतका पर्यटक भित्र्याउन प्रचारात्मक अभियान

२०७४ चैत १६ शुक्रबार ०७:५१:०० मा प्रकाशित

काठमाडौँ, १६ चैत । सरकारले छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रचारात्मक अभियानलाई तीव्रता दिने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पछिल्लो समय दुई छिमेकी मुलुकबाट ठूलो संख्यामा पर्यटक आउन थालेकाले उनीहरुबीचको सञ्चार सहजताका लागि आफ्नै भाषामा वेबसाइट बनाउन लागिएको जानकारी दिए । 

उनले पर्यटकलाई आकर्षण गर्न दुई छिमेकी मुलुकको वेबसाइट बनाइने तयारी गरिएको बताए । मन्त्री अधिकारीले सरकारले आगामी सन् २०२० भित्र नेपालमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा छिमेकी मुलुकका पर्यटकलाई सहयोगी वेबसाइटले थप पर्यटक आकर्षण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
मन्त्री अधिकारीले पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने योजनाका साथ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका निर्माण कार्यलाई प्रभावकारी बनाइनुका साथै निजगढ विमानस्थल निर्माण प्रक्रियालाई चाँडो अघि बढाइने बताए । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१७ मा हवाई मार्गबाट मात्रै चीनबाट एक लाख १५ हजार र भारतबाट एक लाख ६० हजार पर्यटक नेपाल आएका थिए । 

नेपाल र भारतबीच खुला सिमाना रहेकाले सडकमार्गबाट नेपाल भित्रने पर्यटकको भने तथ्याङ्क छैन । सन् २०१७ मा करिब १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१६ मा साँढे सात लाख पर्यटक भित्रिएका थिए । यसअघि सबैभन्दा बढी सन् २०१२ मा आठ लाख पर्यटक नेपाल आएका थिए । 

ताजा खबर