नेपालको शिक्षा ‘भिसामुखी र पैसामुखी’

२०७४ जेठ २४ बुधबार ०७:१५:०० मा प्रकाशित

चिन्तामणि योगी गोरक्षनाथ संस्कार अर्थात् शैव दर्शनको पारिवारीक पृष्ठभूमिमा हुर्र्किए । नेपालको पश्चिममा गोरखनाथ परम्पराको निकै ठूलो महिमा छ । त्यसमा पनि दाङ जिल्लामा गोरक्ष संस्कृतिको १३ सय वर्ष पुरानो सिद्धरत्ननाथ मन्दिर छ, जसलाई बाबा गोरखनाथका शिष्य रत्ननाथले बनाएका थिए । चिन्तामणि त्यही मन्दिरकै छेउमा जन्मिएर गोरक्षनाथ संस्कारमै हुर्किए । उनले आफ्ना मातापिताबाट त्यो संस्कार पाए । दार्शनिक हिसाबले हेर्दा उनमा ज्ञानयोगको प्रभाव पिताजीबाट प¥यो भने भक्तियोगको प्रभाव माताजीबाट प¥यो । योगी हालसम्म त्यही ज्ञानयोग र भक्तियोगको समिश्रण गरेर कर्मयोगमा डटिरहेका छन् ।

गोरक्ष संस्कारमा हुर्किएकाले माता पिताको इच्छा थियो, छोराहरुले संस्कृत भाषा पढुन् । मातापिताले चिन्तामणिका दाजुलाई गोरखनाथ सम्प्रदायकै एक गुरुको सानिध्यमा अध्ययनका लागि दिल्ली पठाउने भए । चिन्तामणि त्योबेला जम्मा सात वर्षका थिए रे । उनले पनि दाजुसँगै पढ्न जाने जिद्दि गरेछन् । निकै रोएछन् । अनि त सात वर्षकै उमेरमा उनलाई पनि दाजुसँगै दिल्ली पठाइएछ । दिल्लीमा आठ वर्षसम्म गुरुकुलमा रहेर उनले संस्कृतको अध्ययन गरे, अर्थात अनुशासित, संघर्षपूर्ण र साधनापूर्ण जीवन बिताए । दिल्लीबाट फर्केपछि उनले दाङको संस्कृत विश्वविद्यालयमा पढे । त्यसपछि उनी नाम, दाम, प्रतिष्ठा कमाउने सामान्य ग्रामीण किसानको रहरले काठमाण्डौ पसे ।

भोलेनाथ बाबा पशुपतिनाथको नगरी काठमाण्डौ पसेपछि बल्ल उनलाई आफुले संस्कृत पढेको र गोरक्ष संस्कारमा हुर्किएकोमा गर्वबोध     भयो । उनको ज्ञानको तेस्रो नेत्र खुल्यो । उनले न्याय दर्शनमा आचार्य पास गरे । आचार्य पुरा हुनासाथ उनले घोषणा गरे, ‘अब म यही वैदिक सनातन हिन्दू धर्म, संस्कृति र परम्पराको रक्षाका लागि जीवन समर्पित गर्नेछु, व्यवसायिक, राजनीतिक, पेशागत र व्यक्तिगत स्वार्थका काममा लाग्नेछैन ।’

यो घोषणासँगै उनले मातृभूमि सेवक संघको माध्यमबाट क्रमशः हिन्दू विद्यापीठ नेपालको शुभारम्भ गरे । विद्यापीठको प्रधानाचार्य हुँदा चिन्तामणि भर्खर २१ वर्षका थिए । त्यो बेला उनले बाल्मिकी क्याम्पसमा अध्यापनको जागीरलाई समेत अस्वीकार गरेका थिए । आफूले पाएको ब्रम्ह विद्यालाई व्यक्तिगत लाभका लागि बेच्नुहुँदैन भनेर उनले विद्यापीठ अभियान सुरु गरेका थिए । पन्ध्रजना विद्यार्थीबाट सुरु भएको हिन्दु विद्यापीठ लगातार तीस वर्षदेखि बालकुमारीमा संचालन हुँदै आएको छ र अहिले यसमा १५ सय विद्यार्थी छन् ।

हिन्दू विद्यापीठको एउटा शाखा थलीमा २६ वर्षदेखि संचालित छ । अर्को शाखा दाङमा २५ वर्षदेखि चलिरहेको छ । हिन्दू विद्यापीठकै मातहत कोटेश्वरमा १३ वर्षदेखि शान्ति सेवा आश्रम चल्दै आएको छ । आश्रमकै अर्को शाखाका रुपमा बनेपामा निलकण्ठेश्वर धाम, गोसाइथानसँग सहकार्य गरेर अढाई सय रोपनी क्षेत्रमा नैनसारण्य गुरुकुल, आश्रम बन्दैछ । त्यो यस्तो ठाउँ हो, जहाँ भगवान शिवले गोसाइकुण्ड जाने बेलामा पाइताला टेकेको भनेर रमेश नागा बाबाले भनेका तथ्यहरु फेला परेका छन् । त्यो ठाउँमा अन्तर्राष्ट्रियस्तरको बाल आश्रम, बृद्धाश्रम, नारी आश्रम, आरोग्य आश्रमसहितको मुख्य आश्रम बनाइँदैछ । त्यसैगरी सप्तरीको मैनाकडेरीमा स्थानीय शिक्षासेवी काशीनाथ जोशीको लगानीमा एउटा गुरुकुल खुलेको छ, जहाँ दलितलाई समेत सहभागी गराइएको छ ।

त्यसैगरी चिन्तामणि योगीले आफ्नै पहलमा दाङको पर्सा गाउँमा उनको आफ्नै पुख्र्यौली जमीनमा बाल शान्ति गृहको स्थापना गरेका छन्, जहाँ हरेक जातीका ४० जना बिद्यार्थीलाई गुरुकुल पद्धतीबाट पढाइँदैछ । त्यहाँ अंग्रेजी माध्यमबाट कम्प्युटर र विज्ञानलगायतका विषय पनि पढाउने र साथसाथै योगधान, हवन, कुण्डलगायत वैदिक संस्कृित र परम्परा पनि सिकाउने काम भइरहेको छ । दाङको हिन्दू विद्यापीठ र विविध आश्रमहरुको अगुवाई चिन्तामणिकै दाजु भोलानाथ योगीले गरिरहेका छन् । अहिले चिन्तामणिले हिन्दू बिद्यापीठ नेपालले लिएको चिन्तनलाई व्यापक बनाउने अभियान चलाइरहेका छन् ।
प्रस्तुत छ, गुरुकुलीय पद्धतिलाई शिक्षाको मूलधारमा स्थापित गराउने अभियानमा लागेका चिन्तामणि योगीसँग सरलपत्रिकाले केही समय अघि गरेको कुराकानी –
आजको आधुनिक युगमा प्राचीन गुरुकुलीय पद्धतिमा आधारित शिक्षाको सान्दर्भिता छ ?
सान्दर्भिकता मात्र हैन, त्यो त अपरिहार्य भइसक्यो । नेपालको मुख्य दुई समस्या म देख्छु । एउटा अशिक्षा, अर्को कुशिक्षा । अहिले पनि नेपालमा कतिपय यस्ता पहाड छन्, जहाँका बच्चालाई स्कुल जान चार–पाँच घण्टा हिँड्नुपर्छ । स्कूलमा न्यूनतम भौतिक पुर्वाधार छैन । यो पनि समस्या हो । तर, मुख्य रुपमा हाम्रो समस्या कुशिक्षा नै हो । राष्ट्र चिनाउने, माटो चिनाउने, सत्वको बोध गराउने, स्वज्ञान गराउने र स्वानुभूति गराउने शिक्षा प्रणाली भएन । त्यसैले आजको युवा पुस्ता भड्कियो । हामीले शिक्षामा ‘फ्युजन’ गराउने तरिका अपनायौं । विद्या पनि दिने, ज्ञान पनि दिने । विद्या जिउने कलाका लागि, ज्ञान चाहीँ चेतनाका लागि । विद्याले जिविका दिन्छ, ज्ञानले जीवन दिन्छ । विद्याले प्रतिष्पर्धी बनाउँछ, ज्ञानले प्रेमी बनाउँछ । विद्याले सफल बनाउँछ, ज्ञानले असल बनाउँछ । विद्याले डाक्टर बन्ने क्षमता दिन्छ, ज्ञानले हामीलाई आध्यात्मिक बनाउँछ । त्यसैले हामीलाई गुरुकुल शिक्षा प्रणाली या मध्यममार्गी शिक्षा प्रणाली चाहिएको हो ।

अहिले भइरहेको शिक्षा प्रणालीबाट त्यो सम्भव छैन र ?
नेपालमा अहिले चार प्रकारका शिक्षा प्रणाली छन् । एक, सरकारी विद्यालय छन्, जहाँ राज्यको अत्यधिक लगानी हुँदाहुँदै पनि राजनीतिकरण र अन्य विविध कारणले त्यसको प्रतिफल करीब करीब शून्य छ । दोस्रो, निजी विद्यालय । निजी विद्यालयमा लगानी बढ्यो होला, शैक्षिक गुणस्तर र प्रतिफल पनि राम्रो आयो होला, तर नैतिक चरीत्र र आचरण, राष्ट्रभक्तिका कुरा तिनमा गौण भएर गए । आर्थिक प्रतिष्पर्धा कारण निजी विद्यालयले समाजमा बर्गीय खाडल बढाउँदै लगेका बिडम्बनाहरु हामी देख्छौं । तेस्रो, हिन्दू विद्यापीठजस्ता विद्यालयहरु, जसले मध्यमार्गी शिक्षा प्रणाली अपनाइरहेका छन् । यस्ता विद्यालयहरुमा एकातिर अनिवार्य रुपमा संस्कृतको पनि पढाई हुन्छ, अर्कोतिर अंग्रेजी, विज्ञान, गणित, कम्प्युटर साइन्सजस्ता विषय पनि अनिवार्य पढाई हुन्छ । एकातिर हामी नैतिक मूल्यमा आधारित शिक्षा, संस्कृतिमा आधारित शिक्षा र धर्म–अध्यात्ममा आधारित शिक्षालाई पनि बढावा दिइरहेका छौं भने अर्कोतिर बच्चाहरुलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन सम्पूर्ण आधुनिक शिक्षा पनि दिइरहेका छौं ।
चौथो चाहीँ गुरुकुलीय शिक्षा पद्धति हो, जहाँ साधनासहित पूर्वीय वेद र पूर्वीय वाङमयको विशेष अध्ययन अनुसन्धान र अभ्यास गराईन्छ । नेपालको शिक्षा प्रणाली गुरुकुल पद्धति अनुसार नै सुरु भएको हो । पूर्वको भोजपुर दिङ्लामा बालागुरु षडानन्दलगायत मुलुकका विभिन्न ठाउँमा अनेक गुरुहरुले यज्ञ, मुष्ठी दान गरेर चलाएका गुरुकुलीय स्कूलको हामी स्मरण गर्छौं । त्यस्ता स्कूलहरु गाउँलेहरुकै सहभागितामा संचालन हुन्थे । त्यही गुरुकूललाई अहिले फेरि संरक्षण र संवर्धन गर्ने लहर फेरि सुरु भएको छ । त्यसमा सबैभन्दा राम्रो काम नेपालका दुई ठाउँमा भएका छन् । नेपालको देवघाट धाममा डा। स्वामी रामानन्द गिरीको नेतृत्वमा गुरुकुल संचालन भइरहेको छ । त्यसैगरी झापामा मात्रै वीस पच्चीसवटा गुरुकुल छन् ।
गुरुकुलीय या मध्यमार्गी शिक्षा प्रणालीले कस्तो जनशक्ति तयार गर्ला त ?
यस्तो शिक्षाको उद्देश्य हो–विद्यार्थीलाई सफल पनि बनाउने, असल पनि बनाउने । उसमा विदेश जानसक्ने क्षमता पनि होस्, अनि उसले बिदेशमा आफ्नो देशको स्वधर्म र संस्कृतिको प्रचार गर्न पनि सकोस् । उसले विश्वमा उड्न पखेटा पनि हालोस्, तर उसले आफ्नो धरातल पनि नबिर्सोस् ।
अहिलेका निजी विद्यालयले दिने शिक्षाबाट त्यो सम्भव छैन र ?
मैले कसैको निन्दा गरेको हैन, निजी विद्यालयको शिक्षा भिसावादी, पैसावादी र व्यक्तिवादी भएको छ । शिक्षा त वास्तवमा राष्ट्रवादी, मानवतावादी र अध्यात्मवादी हुनुपथ्र्यो, तर त्यसो भएन । निजी विद्यालयको शिक्षा बुद्धी केन्द्रित त भयो, तर हृदय केन्द्रित भएन । शिक्षाले मान्छेलाई वौद्धिक त बनायो, हार्दिक बनाउन सकेन । शिक्षित बनायो, सचेत बनाउन सकेन । कम्पिटिशन सिकायो, कोअपरेशन सिकाएन । दुनियाँलाई चिन्नसक्ने क्षमता त बढायो, तर आफैंलाई चिन्नसक्ने क्षमता दिलाएन । सूचना प्रविधिका माध्यमबाट सारा संसारसँग सम्पर्क बढाउन सिकायो, तर आफ्नै माता–पिता, इष्टमित्र र छिमेकीसँग भएको सम्बन्ध भने आजको शिक्षाले टुटाइदियो ।
आजको युग अनुकुल गुरुकुलीय शिक्षा प्रणालीमा परिमार्जन भइरहेको छ त ?
अवश्य भइरहेको छ । पूर्वीय वैदिक ज्ञानलाई कम्प्युटरको माध्यमबाट पनि सिकाउने प्रयास सुरु भएको छ । पूर्वीय वैदिक गणितलाई हाम्रो आधुनिक गणितसँग जोडेर सिकाउन मिल्छ की भनेर कोशिस भइरहेको छ । पूर्वीय आयुर्वेद शिक्षालाई आधुनिक चिकित्सा विज्ञानसँग जोडेर थप उन्नत बनाउन सकिन्छ कि भन्ने कोशिस भइरहेको छ । गुरुकुलमा संस्कृत मात्र हैन, अंग्रेजी, गणित र कम्प्युटर साइन्सलाई अनिवार्य गर्ने काम भइरहेको छ ।
गुरुकुल शिक्षा पद्धतिको पुनरुत्थानको आवश्यकता किन देख्नुभयो ?

मैले माथि नै भनें, आधुनिक शिक्षा प्रणाली बुद्धिमान बनायो हार्दिक बनाएन । म पनि संस्कृत शिक्षा र गुरुकुलबाटै आएको हुँ । मलाई के लाग्यो भने अहिले ‘प्लस टु ’पढ्नासाथ कलेजका सबै विदेशतिरै जाने धुनमा लागिरहेका छन् । यो राष्ट्रमै बसेर राष्ट्रका लागि गर्ने कोही भएनन् । राष्ट्रको माटोको संस्कृतिलाई बुझ्ने को रु हाम्रो पूर्खाको संस्कृितलाई बुझ्ने को रु भन्ने प्रश्न खडा भयो । त्यसैले हामी यसलाई बचाउने अभियानमा लागेका हौं । कर्मकाण्डलगायत हाम्रो वैदिक ज्ञान–विज्ञानलाई विश्वव्यापी बनाउनुपरेको छ । किनकी, अहिले विश्व फेरि गुरुकुलीय शिक्षा पद्धतिमा फर्कँदैछ ।
तपार्इँ त विश्व भ्रमण गरिरहनुहुन्छ, कहाँ कहाँ गुरुकुलीय शिक्षा पद्धति पाउनुभयो ?
अहिले विश्वमा फेरि त्यसको चासो बढेको छ । शिक्षा भनेको त ‘होलिस्टीक’ हुनुपर्दोरहेछ भन्ने ‘रियलाइजेशन’ बढेको छ । शिक्षा भनेको सर्वांगीण मानव निर्माण गर्र्ने आधार रहेछ भन्ने चेत पलाउन थालेको छ । पश्चिमा मुलुकमा ‘डेमोक्रेटिक एजुकेशन’, ‘अल्टरनेटिभ एजुकेशन’ र ‘होम स्कूलीङ सिस्टम’ सुरु हुन थालेको छ । ‘पिस एजुकेशन’, ‘प्रोग्रेसीभ एजुकेशन’ र ‘भ्यालुजबेस्ड एजुकेशन’मा उनीहरु जान थालेका छन् । म पश्चिमी मुलुकका एकदमै महँगा स्कूलमा जाँदा के पाएँ भने त्यहाँ गुरुकुलीय पद्धति जस्तै शिक्षा दिइँदोरहेछ । रुखमुनी बसेर पढाइँदोरहेछ । त्यहाँ कस्ता मान्छे पढ्न जाँदा रहेछन् भने जसमा पढेर पैसा कमाउँछु भन्ने सोच छैन । उनीहरु पढेर पैसा कमाउन हैन, पढेर केही बुझ्न जाँदा रहेछन् र त्यस्ता विद्यार्थी निकै कम हुने भएकाले त्यो विद्यालय महँगो हुँदोरहेछ । ती खासमा गुरुकुलीय पद्धतिकै स्कूल हुन् । पश्चिमाहरुले के ‘रियलाइजेशन’ गरे भने पश्चिमा शिक्षा प्रणालीले मानिसलाई यान्त्रिक बनायो, मान्त्रिक बनाउन सकेन । पैसा कमाउने एउटा ‘एक्सपर्ट’ बनायो, तर जीवनलाई बुझेर आनन्द लिनसक्ने मानव बनाउन सकेन भन्ने उनीहरुले बुझे । सोही कारण अहिले पश्चिमा मुलुकहरुमा हाम्रो वैदिक शिक्षा प्रणालीको अध्ययन सुरु भएको छ । त्यहाँ टाई र युनिफर्म हैन, चप्पल पनि लगाउनुपर्र्दैन ।
उदाहरणका लागि न्यूजील्याण्डको पाठ्यक्रममा गितालाई अनिवार्य बनाइएको छ । रुसका कैयन स्कूलहरुमा गिताको अध्ययन भइरहेको छ । जर्मनीका कैयौं विश्वविद्यालयमा संस्कृत भाषाको अध्ययन अनुसन्धान भइरहेको छ । इंगल्याण्डमा ‘सेन्ट जेम्स इन्डिपेन्डेन्ट स्कूल’ छ । युरोपभरी त्यसका १२ वटा शाखा छन् । दुईवटा अष्टे«िलयामा र एउटा दक्षिण अफ्रिकामा छन् । सेन्ट जेम्सका सबै पन्ध्रवटै स्कूलमा ‘ए लेभल’सम्म पढाई हुन्छ र त्यसमा संस्कृत अनिवार्य छ । सेन्ट जेम्ससँग हाम्रो हिन्दू विद्यापीठले सम्बद्धता कायम गरेको छ । हाम्रो विद्यापीठमा पढ्ने विद्यार्थीले यही बसीबसी ‘ए लेभल’को ‘आइ।जी।सी।एस।इ’ परीक्षा दुईपटक दिईसकेका छन् । क्याम्बिज विश्वविद्यालयले लिने संस्कृतसहितको ‘ए लेभल’को त्यो परीक्षामा यही बसीबसी हाम्रा विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
आजको नेपाली युवा पुस्ता कस्तो पाउनुभएको छ ?
सायद अहिलेको सामाजिक वातावरणका कारण युवाहरुमा अत्यन्तै उदासिनता देखिएको छ । यो बढ्दो छ । कुनैबेला हामी दाङ बस्ने मान्छेहरुले पनि यदि दाङमै बसेर जिन्दगी आरामले चल्छ भने किन काठमाण्डौ जाने भन्ने सोच्थ्यौं । आफ्नै घर, खेत, आमाबुबाको सेवा गरेर बस्ने कुरा सोच्थ्यौं । अहिलेको पुस्तामा जसरी ‘प्लस टु’ गर्नासाथ विदेशिने होड चलिरहेको छ, त्यो राष्ट्रका लागि घातक हो । यसो भन्नुको अर्थ विदेश जानु गलत हो भन्न खोजेको चाहीँ हैन । म अमेरीकामा प्रवचन दिन जाँदा त्यहाँका नेपालीलाई भन्ने गर्छु, ‘तपाईँहरु अमेरीकामा बस्नुस्, तर अमेरिकन नबन्नुस् ।’ युरोपका नेपालीलाई भन्छु, युरोपमा बस्नुस्, तर युरोपियन नबन्नुस्, नेपाली संस्कृति नभुल्नुस् ।’ आखिर शिक्षा भनेको मान्छे बन्नका लागि हो । शिक्षा भनेको हामीलाई माटो र मुटु चिनाउने कुरा हो ।

आजको शिक्षाले हामीलाई पलायनवादी र पैसावादी बनायो । युवाहरु त्यसकै शिकार भएर स्वार्थी भइरहेका छन् । तर युवाहरुलाई आरोप लगाएर मात्र हुँदैन, हाम्रो राजनीति, अर्थनीति र शिक्षा प्रणालीका कारण युवाहरु बर्हिमुखी भएका हुन् । उनीहरुमा परावलम्वी प्रवृत्ति बढेको   छ । आत्मविश्वासको अभाव भयो । गिताले भन्छ, ज्ञानहीन, श्रद्धाहीन र शंकालु मानिसको बिनाश निश्चित छ । अहिलेको शिक्षाले अधिकांश रुपमा ज्ञानहीन, श्रद्धाहीन र शंकालु व्यक्ति मात्र तयार गरिरहेको छ, जसको प्रतिविम्ब र प्रभाव हामी मुलुको राजनीति, अर्थनीति र कुटनीतिमा समेत देख्न पाउँछौं ।

ताजा खबर