कांग्रेसबारे एउटा स्वैरकल्पना 

२०७४ चैत १२ सोमबार १७:१०:०० मा प्रकाशित

कार्यालय खचाखच 

नेपाली कांग्रेसको कार्यालय प्राय सुनसान नै रहने गरेको थियो । आक्कल झुक्कल बाहेक पदाधिकारी, केन्द्रिय नेता कोही कार्यालयमा हुँदैन थिए । कार्यकर्ताले भेट्न परे उनका घर नै धाउनु पथ्र्याे । तर अहिले त्यसको ठीक उल्टो हुने गरेको देखियो । कार्यालयका सहयोगी अनुसार पनि विहान सखारै सभापतिको प्रवेश हुन्छ र बेलुका निकै रातीसम्मनै त्यहीँ समय वित्छ । भेट्न कोही उहाँका घर जानु पर्दैन । पदाधिकारीहरुको पनि अवस्था त्यस्तै हुने गरेको छ । केन्द्रिय सदस्यहरुको उपस्थिति त यस्तो देखियो जस्तो दिनहूँ नै केन्द्रिय समितिको बैठक बसिरहेको छ । जव आफ्नो पार्टी कार्यालयमा नेताहरुको यस्तो उपस्थिति हुनथाल्यो यसले नै कार्यकर्तामा नयाँ उत्साह भर्दो रहेछ । 

उपस्थिति त छँदैछ काम झनै रोचक देखियो । कोही पनि खाली छैनन् । कसैलाई सुझाव संकलनको चटारो छ भने कसैलाई प्राप्त सुझावको मूल्यांकन गर्ने र कसैलाई त्यसलाई आफ्नो नीतिमा परिणत गर्ने हतारो । दिनभरी यी सबै भैसकेपछि बेलुका केन्द्रिय समितिको जस्तै बैठक वस्दो रहेछ र फेरी तिनमाथि पुरावलोकन हुँदोरहेछ । ‘वादेवादे जायते तत्ववोधः’ वास्तवमा नै कार्यान्वयन भएको अवस्था हो यो । कांग्रेसको नेतृत्वमा यस्तो सकृयता देखिएला भन्ने कमैले सोचेका होलान् । अहिले त्यही भैरहेको पाउनु वास्तवमा नै धेरै नै सकारात्मक हो ।

समीक्षाका दृश्य 

कांग्रेसले गर्ने चुनावको समीक्षाकाबारे धेरथोर बाहिर आउने नै गरेका थिए । एकले अर्कोलाई आरोप लगाए, कसैले कसैलाई होच्याए वा फुलाए, कसैले कसैलाई छोड भने कसैले कसैलाई किन छोड्ने भने आदि । तर अहिले जस्तो समीक्षा चलिरहेको छ त्यसलाई हेर्न केन्द्रिय कार्यालय पुगियो भने दृश्य अर्कै देखिँदो रहेछ । सबैले आफ्ना कमजोरी केलाइरहेका छन् । यो ठाउँमा आफूले सहीकाम गरेको र यो ठाउँमा आफ्नो गल्ती भएको भनिरहेका छन् । गल्ती भएको ठाउँमा के गर्दा सच्चिइन्छ, यो भन्दा राम्रो गर्ने कोही अर्को छ कि भन्दै आफंैले राम्रो खोज्ने प्रस्ताव गरिरहेका छन् । बैठक बाहिर जिल्ला सभापतिहरुको कुरा पनि त्यस्तै देखियो ।

कारण जे होस सत्य आफ्नो नेतृत्वमा सञ्चालित निर्वाचन हारेकै हो र यो भन्दा राम्रो गर्नेलाई नेतृत्व दिइयोस भन्ने आफैंले प्रस्ताव गर्ने एकप्रकारले होडवाजीनै चलिरहेका यी दृश्य वास्तवमा नै उल्लेख्य मान्नु पर्छ । यसअघिसम्म कुनै एउटा कारण देखाएर नेतृत्वले आफ्नो पदलाई जोगाउनेमात्र काम हुने गर्दथ्योभने यो पटक मनसा वाचाले नै आफुभन्दा राम्रो गर्नेलाई जिम्मेवारी दिइयोस भन्ने माँग भैरहेको छ । कांग्रेसीमा देखिएको यो परिवर्तन वास्तवमा नै उल्ललेख्य हो र पत्रकार नोट गरिरहेका छन् कांग्रेसमा यस्तो पहिलो पटक देखियो भन्दै । कांग्रेसले निर्वाचन हारेको महसुस गरेको अवस्था हुनुपर्छ  यो । जव महसुस हुन्छ अनि नयाँ मार्ग खुल्छ । 

सूचना संकलन 

यो कार्यालयको अर्को तलामा गइयोभने त्यहाँ अर्को रोचक दृश्य देखिन्छ । त्यहाँ विज्ञहरुको एउटा ठूलो जमात छ । त्यसले त्यस दिन कांग्रेसकाबारे कसले के भने, कसले के लेखे, कसले कस्ता आरोप लगाए, कसले कस्ता सुझाव दिए भन्ने सबैकुरा रेकर्ड गरिरहेएका छन् । पहिले सूचना संकलन भएपछिमात्र त्यसमाथि विश्लेषण हुन्छ भन्ने मन्त्रकासाथ यो सेलले काम गरिरहेको प्रष्टै बुझ्न सकिन्छ । त्यसैमा हुँदो रहेछ सरकारका कामकुराको पनि अभिलेखन । सरकारका सदस्यले कहाँ के भने, के गरे, गर्नु पर्नेकाम गरे कि नगर्नु पर्ने गरे, सरकार बाहिर तर सत्तारुढ दलका सदस्यले केगर्दैछन्, त्यसमा कांग्रेसकाबारे नोट गर्नु पर्ने कुरा  छन् कि अरुनै भन्ने यसमा टिपोेट भैरहेका हुँदा रहेछन । कांग्रेसले यतिबेला छाँया सरकार चलाइरहेको अवस्था छ ।

त्यसकाबारे कुन विभाग कसले हेर्नेभन्ने पनि टुंगो लागिनै सकेको छ । सूचनाको यस्तो विश्लेषणले ती सदस्यलाई कति सजिलो बनाइदियोभने बिहान केन्द्रियकार्यालय पुगेर यो विभागसँग सम्वन्ध राख्यो, ती सूचना लियो अनि दिउँसो संसदमा त्यसको आवश्यकता अनुसार प्रतिवाद ग¥यो । भोलिपल्टका सञ्चारमाध्यममा एकातिर कांग्रेसको प्रस्तुतीकाबारे व्यापक प्रशंसाका बाढी नै आउने र अर्कातिर कांग्रेसले गरेका कामले नै माध्यम भरिने । बाम गठवन्धनको सरकारले पनि कांग्रेसबाट यस्तो हुन्छ भन्ने नसोचेको रुपले सरकार छटपटिनु पर्ने अवस्था आउने । त्यसकारण पनि कांग्रेसको नेतृत्वले यो धेरै बुद्धिमानीपूर्ण काम थालेको भनी कार्यालय परिसरमानै प्रतिकृया आइरहेको अवस्था पाइयोे  ।    
बीपीको नाम सार्थक 

एकपटक सानेपातर्फ लागांै जहाँ नेपाली कांग्रेसकोे पार्टी कार्यालय छ । त्यो भवनको नाम बिपी स्मृति भवन हो । बिपीका सबै कुराले देखाउँछन उहाँ आफ्नो जीवनकालभर सधैं जागरुक रहनु भयो । समाजका जल्दाबल्दा विषय अध्ययन गर्ने, चिन्तन गर्ने, छलफल र बहस गर्ने, लेख्ने ऊर्जा उहाँमा भरपुर थियो । घन्टौं उहाँका कुरा सुनेर कांग्रेस कार्यकर्ता दीक्षित हुन्थे । यस्तो अनुभव अहिलेपनि त्यो पुस्ताबाट सुनाइ रहिएकै छ । बिपी स्मृति भवनमा आज त्यस्तै बहस सुरु भएको पाउन थालिएको छ । त्यसरी नै चिन्तन हुन थालेका छन् हरेक विषयमा । धेरैवर्ष देखि वन्द भएको पुस्तकालय अहिले खचाखच छ । बीपी र कांग्रेसकाबारे अध्ययन गर्नेहरु सबै यहीं केन्द्रित हुने गरेका छन् । सबैमा एक प्रकारको जागरुकता आएको छ । त्यसैपनि त्यो भवनको नाम बिपी स्मृति भवन हो । बिपी स्मृति भवन नै नाम राखे पनि पहिले उहाँसँगै बिलाएको चिन्तन र बहसको संस्कृति पुराका पुरा रुपमा विउँझिएको देखियो अहिले  । 

मुद्धामा केद्रित 

खासगरी यो निर्वाचन र त्यसको परिणाम पछि कांग्रेसमा आफ्नो कार्यालय परिसरमा नै नेपाली समाजमा रहेका मुद्दाहरूमा अध्ययन गर्ने, बहस गर्ने क्रम यति तिव्रता साथ बढेको पाइयो यसले वास्तवमानै यतिखेर कांग्रेसभित्र एउटा ठूलो जागरुक जमात बढेछ भन्ने वोध नै गराउँछ । महत्वपूर्ण विषयमा यहाँ निरन्तर छलफल चल्नु त्यस्को उदाहरण हो । यो भवनभित्र र बाहिर कांग्रेसका अवका नीतिकाबारे गर्मागरम बहस चलिरहेका छन्, चलाइरहिएको छ नेतृत्वले तोकेको एउटा समूहवाट जसले बास्तवमानै कांग्रेस सुध्रन लागेको देखायो । यतिखेर खासगरी नेपाली कांग्रेसका शुभ चिन्तकहरुलाई भ्याइनभ्याइ छ । बैष्णो देवीको दर्शन गर्न जाँदा बाटैभरी ‘बुलावा आया है’ भन्ने संगीत गुञ्जिए जस्तो यो पक्षका बुद्धिजीवीहरु दौडादौडमा छन् आफ्ना सुझाव प्रस्तुत गर्न । उनीहरु गर्व गरिरहेका पनि पाइए । यो नेपाली कांग्रेस पार्टीले बोलाएको, सम्झिएको र आफुलाई लागेको कुरा पार्टीमा राख्न दिएको भन्नेमा ।

त्यसैपनि यो चुनावको पराजयमा दलका कार्यकर्ताभन्दा बढी उनीहरु चिन्तित थिए । उनका ठाउँ ठाउँमा प्रकट भएका विचारले पनि त्यस्तै भन्दै आएका थिए । त्यस्ता विचारहरु वा सुझावहरु कांग्रेस पार्टीका अभिलेखमा रहन्छन् रहँदैनन भन्नेमा चिन्तित त्यस्ता व्यक्तित्वलाई पार्टीले नै बोलाएपछि उनीहरु आफैं पनि झन सकृय हुनै नै भए । त्यहाँ प्रस्तुत भएका सुझावहरु संकलित भएर त्यसैदिन पार्टीको नेतृत्वले त्यसमाथि अध्ययन गरेर नीति र कार्यक्रम बनाइने भन्ने उहाँहरुलाई थाहा छ वा गराइएको छ । बीपीले जस्तो गर्नु हुन्थ्यो यो एकप्रकारको त्यस्तै हुनथालेको भन्नुपर्छ । यस्ता विषयमा छलफल गर्न पार्टीले नै बोलाएपछि त्यसैपनि सुझाव दिइरहेका बुद्धिजीवी को पछि पर्लान् ? स्वाभाविक छ यो छलफलमा पार्टीको विचार, नीति, कतिपय जल्दाबल्दा मुद्दामा पार्टीको धारणा र संगठनका प्रश्न उठिरहकै छन नै । पहिले यस्ता कुरा केन्द्रिय समितिमा छलफल हुन्थ्यो अव यसको आकार बढेर बृहत्तर भएको छ । यो कार्यक्रम यसरी तर्जुमा भयो जसमा दिग्गजहरु पनि सुझाव दिन तयार भए । कांग्रेसले कहिल्यै नसम्झिएकाहरु र कुनै पद नमाग्नेहरुपनि यस्तो सुझावका लागि लाइन लागेकाले अव चाहिँ केही हुन्छ है भन्ने पर्ने नै भयो । 

सबैका हातमा काम 

कांग्रेसले नीति निर्माणमा चासो भएका सबै केन्द्रिय र शुभचिन्तक नेतालाई यस्ता फरक–फरक छलफल संयोजन गर्ने जिम्मा दिइएको छ । तिनकै  व्यवस्थापनमा यी काम भैरहेका छन् । जसले आफ्नो रुची अनुसारको काम पाउँछ त्यसपछि अनुमान गर्न सकन्छि त्यो कामले जीवन्तता पाउँछ र उनका क्षमताको पनि परख हुन्छ । यतिखेर कोही पनि सडकमा कांग्रेस यस्तो भए हुन्थ्यो, उस्तो भए हुन्थ्यो भनिरहेका छैनन् । न नेतृत्वमाथि नै दोषारोपण गरिरहेका छन् । उनीहरुलाई एउटा जिम्मेवारी दिइएको छ प्रारम्भिकचरणमा सुझाव संकलनै भएपनि यो कामका लागि उनीहरुपनि भ्याइनभ्याइमै छन् । कांग्रेस  सरकारमा नभएपनि संसदमा त छनै ।

त्यसैपनि यो दलले हालै छाँया सरकार गठन गरेकै छ । त्यहाँ उसले गरेको प्रस्तुतीनै कांग्रेसको भविष्यको आकार हुने छ भन्ने मान्यताले नै नेतृत्वले यस्तो अभियान चलाएको हुनुपर्छ । यसले नीति निर्माणका विषयमा पार्टीको प्रभावकारिता बढ्ने स्वाभाविक छ र त्योभन्दा पनि  समाजका महत्वपूर्ण मुद्दामा बहस तथा चिन्तन गर्ने परम्पराको थालनी भएको छ । यसले समाजका मूल मुद्दाहरूमा कांग्रेसको विचार र नीति तिखार्दै लैजान्छ । पार्टीका व्यक्ति पदाधिकारीको विचार र नीति तिखारियो भने त्यसले परिणाम पनि त्यस्तै दिन्छ । कांग्रेसमा सबैभन्दा आलोच्य विषय नै यही थियो – यो दल भावी नीतिकाबारे छलफलनै गर्दैन भन्ने । यो पटक त्यस्तो मान्यता आफंै खण्डित हुँदै छ । 

सबै निकाय पूर्ण 

कांग्रेसमा सबैभन्दा ठूलो चुनौतीको विषय थियो यसका अवयवको परिचालन सम्वन्धी । विगतमा पनि त्यस्तै हुन्थ्यो भने पछिल्लो महाधिवेशन सम्पन्न भएको दुइवर्ष बढी हुँदा पनि यसका निकायहरु गठन भएका थिएनन् । कतिसम्म भने आफैंले घोषणा गरेका दुइवटा आम निर्वाचन सम्पन्न हुनलाग्दा पनि संगठन त्यस्तै थियो । यसले नेतृत्वको चौतर्फी आलोचना गराएको थियो । तर अव त्यस्तो रहेन । पछिल्ला दुइदिनमा नै यसका सबै निकाय गठन भए । केन्द्रिय समिति पुरा भयो ।  पदाधिकारी पनि पूर्ण भए । करिव साढे तीन दर्जन जति यसका विभागहरु एकैदिन गठन भए र तिनले पनि त्यसै दिन पूर्णता पाए जसले दुइ तीन हजारको संख्यामा यस्ता सदस्यहरु बने र उनले काम पनि थालिनै हाले । चुनावमा भएको पराजयले कांग्रेसलाई एकक्षण पनि सुस्ताउन नदिएको अवस्था हो यो । यसले नेतृत्व यो पराजयप्रति कति सजग रहेछ भन्ने देखाउँछ ।  यसको सबैभन्दा राम्रो पक्ष रह्यो एकैपटक यति ठूला तहमा संगठन विस्तार हुँदा त्यसभित्रको कुनै एउटा पात्रप्रति पनि कसैले आपत्ति जनाएनन् । जुन विषयमा जो दक्ष छ उसैलाई त्यो विषयको विभाग दिइयो । यो आफंैमा यो बेलासम्मको नयाँ अभ्यास मान्नु पर्छ र नयाँ सिराबाट काम सुरुभएको भन्ने पनि  ।

प्रशिक्षणको लहर 

कांग्रेसको विधानमा यसका उपसभापति नीति निर्माण र प्रशिक्षणका प्रमुख हुन्छन् । यो पदमा नियुक्ति नहँुदा देशभरी नै प्रशिक्षणको काम रोकिएको थियो । निर्वाचनका बेला यस्ता प्रशिक्षण कति आवश्यक पर्छन् भन्ने उल्लेख भैरहनु पर्दैन । तर निकाय र त्यसको नेतृत्वका अभावमा यो काम हुन पाएको थिएन । यसले गठन हुनासाथ आफ्नो काम पनि थालेको पाइयो । जानकारीमा आए अनुसार यसको पहिलो काम स्थानीयतहका निर्वाचित र निकटतम प्रतिद्वन्दीलाई प्रशिक्षण दिनु रहेकोछ । स्थानीय तहमा कांग्रेसबाट ११ हजार ४५६ जना निर्वाचित भएका थिए  । यिनलाई कसरी काम गर्ने ? के काम गर्ने ? पार्टीको नीति कसरी कार्यान्वयन गर्ने ? भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी नै गराइएको थिएन । यो संख्याको निर्वाचित भनेको केन्द्र र प्रदेशको अवस्था हेर्दा निकै ठूलो हो । त्यसैपनि आफ्नो बहुमत भएको स्थानीय निकायमा उदाहरणीय काम गराउन सक्नुपथ्र्यो भन्ने सुझाव आइरहेका थिए  ।

अरू दलको हातमा भएका भन्दा कांग्रेसले यी तहमा आफुलाई भिन्न देखाउन सक्नुपथ्र्यो भन्ने सुझावलाई यसरी तुरुन्तै ग्रहण गरेको पाइयो । यसले कांग्रेसभित्र अहिलेसम्म स्थानीय तह पनि छ भन्ने नै हेक्का नभएजस्तो देखिएको अवस्थाको अन्त्य गर्ने अपेक्षा गर्न सकिन्छ  । जनतालाई सेवा र सुविधा दिनमात्रै पनि कांग्रेसका प्रतिनिधि अरूभन्दा जनमुखी देखिए कांग्रेसप्रति समर्थन बढ्दै जाने नै हुन्छ । अर्को तर्फ करिव २५ हजारको हाराहारीमा यो तहमा निकटतम प्रतिश्पर्धी छन् कांग्रेसबाट । तिनको प्रतिपक्षी भूमिका कस्तो हुनेभन्ने पनि अन्योलमै थियो । अव त्यसको अन्त्य भएको छ यस्तो निकाय गठन गरेपछि । अव महानगर, नगर र गाउँ तथा तिनका वडासम्म कांग्रेसले सत्तापक्षको निगरानी गर्ने छ । प्रशिक्षणले दिने महत्वपूर्ण कुरा भनेको पनि यही हो ।
(लेखक महर्जन नेपाली कांग्रेसका निवर्तमान सांसद तथा जिल्ला पूर्व सभापति हुन्)

ताजा खबर