शत्रु गते’ मल्टिप्लेक्समा आक्रामक,जताततै हाउसफूल

२०७४ चैत ११ आइतबार २२:०५:०० मा प्रकाशित

काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आएको मह जोडीको कमब्याक फिल्म ‘शत्रु गते’ ले लगातार विदा पाएको छ । शुक्रवार ६० देखि ८० प्रतिशत अकुपेन्सी मिलेको फिल्मको शनिवार शतप्रतिशत रह्यो । आइतवार राम नवमीको सार्वजनिक विदा भएका कारण फिल्म हेर्ने दर्शकको चाप शनिवारकै आसपास छ ।

सिंगल हलमा बढी चल्छ भन्ने अपेक्षा गरिएको उक्त फिल्म मल्टिस्टार कलाकारका कारण मल्टिप्लेक्समा राम्रो दर्शक खनिएका छन् । काठमाडौं भ्यालीका वितरक गोपाल कायस्थका अनुसार, आइतवार फिल्मको अकुपेन्सी ८० प्रतिशतको आसपास छ ।

उनी भन्छन्, ‘सिंगल भन्दा दर्शकको चाप मल्टिप्लेक्समा भयंकर छ । आइतवार समेत मल्टिप्लेक्समा दर्शकलाई टिकट काट्न हम्मेहम्मे पर्‍यो । लगातार दुई दिनको विदाका कारण फिल्मको व्यापार आक्रामक छ ।’

सबैभन्दा बढि चर्चामा रहने तथा बिजनेसको हिसाबले महत्व दिईने राजधानीको गोपिकृष्ण हलमा आइतवार दिउँसो २ बजेको शो मा ४ वटा पर्दा हाउसफूल बनेका छन् । यस्तै, अष्टनारायणको ३ वटा र गुणको ४ वटा पर्दा हाउसफूल भएको वितरक कायस्थ बताउँछन् ।

नेपाली फिल्मको ठूलो बजार मानिने चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरी लगायतमा ठाउँमा पनि आइतवार ‘शत्रु गते’ को विजनेश राम्रो छ । शुक्रवार ७० लाख र शनिवार १ करोड ३० लाख बढी कलेक्सन गरेको यो फिल्मले आइतवार ८० लाख माथीको विजनेश गर्ने अनुमान गरिएको छ ।

यो फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ । विशेष गरि यस फिल्ममा बोलिएको संवादले दर्शकको तालि पाएको छ ।

‘शत्रु गते’ मा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक प्रदीप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।

यसमा छायांकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

प्रदीप भट्टराई निर्देशित फिल्ममा पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जन, शिवहरी पौडेललगायतका कलाकारको अभिनय छ ।

ताजा खबर