म भगवानलाई गाली गर्थें

२०७४ चैत १० शनिबार १५:१०:०० मा प्रकाशित

  म सानो छँदा बाहिरी रुपमा हेर्दा सुखको स्थितिमा थिएँ । खान–लाउन पुग्ने परिवारमा थिएँ । अरुसँग मेरो सम्बन्धदेखि, अरुको मप्रतिको व्यवहार पनि राम्रो थियो । तर, बाल्यकालमा सानो कुरा नमिले पनि म दुःखी हुन्थें । बाहिर सबै कुरा मिलेको थियो । तर, एउटा सानो कुरा नमिले पनि भित्र गहिरो दुःख दिन्थ्यो । दुई–तीन कक्षामै पढ्दा– के जीवन भनेको यही नै हो त रु यस्तै हो भने के बाँच्नु भन्ने प्रश्न पनि मनमा घरीघरी उठ्थ्यो ।
प्रायः जसो मान्छे सानैमा धेरै सुखी थिएँ भन्छन् । बाल्यकालको खुसी अहिले पाउन पाए कस्तो मजा आउँथ्यो भन्छन् । तर, मेरो आजको जीवनचाहिँ रमाइलो छ । भविष्य झन् अचम्मको छ । आजसँग हिजोलाई तुलना गर्दा सानोमा म धेरै दुःखी थिएँ । जति बुझ्दै गएँ– स्नातक पढ्न थालेपछि जीवन विज्ञानसँग जोडिएँ, त्यसपछि पनि दुःख बढ्दै गयो ।

पहिले जुन दुःख थियो, अध्यात्मसँग जोडिएपछि दुःख हुने पुराना कारण बिर्सिएर नयाँ कारण पैदा भए । यी कारणहरु झनै ठूला थिए । पहिले म एउटा समयको लागि दुःखी थिएँ भने अबचाहिँ झन् देख्न थालें– अरुले भनेको सुन्न थालें, बुझ्न थालें, त्यसपछि म मेरो भविष्यको लागि पनि चिन्तित हुन थालें, भूतको पनि चिन्ता हुन थाल्यो ।

यो जुनी मात्र नभएर अर्को जुनी पनि हुन्छ रे । लौ, कहाँ जाने होला रु के गर्ने होला रु सानैदेखि यही जीवनसँग दिक्दार हुँदै आएको, झन् अर्को–अर्को जीवन हुन्छ रे । अर्को जीवन त मेरो हातमा छैन । पुराना कर्महरुले आजको जीवन निर्धारण गर्यो रे । ल यतिसम्म त ठीक छ । तर, पुराना कर्म के–के हुन् रु पूर्वजन्ममा के–के गरें रु त्यो पनि थाहा छैन । यसपछि कहाँ जाने हो । त्यो पनि थाहा छैन ।

पहिले त दुःख हुने केही कारण थिए । झन् बुझ्दै गएपछि त मनमा डर पनि आयो । भविष्यको डर भयो । निश्चित छैन भविष्य ।

पहिले कोही गरिब घरमा आउँदा दुःख लाग्थ्यो । किन कोही यतिविघ्न दुःखी, कोहीसँग अकुत सम्पत्ति ?

प्रकृतिको नियम के हो रु घोत्लिन्थें । भगवानसँग रिस उठ्थ्यो । जति अरुको दुःख देख्यो उति भगवानसँग रिस उठ्थ्यो । भगवानसँग विरोधी नै   भएँ । अरुले भगवानको जतिपटक पूजा गर्थे, म त्यतिपटक गाली गर्थें । भगवानले बनाएको हो भने यस्तो असन्तुलित संसार किन ?

यति पीडा छ जीवनमा । कस्तो अप्ठ्यारो भइराखेको छ मान्छेलाई, कति दुःखी छन् । भोकै बसिराखेका छन् । कहाँ छ भगवान् रु मन्दिर अगाडि नै गएर भगवानलाई गाली गर्थें । अरुले त्यस्तो नभन भन्थे । भगवानमा मलाई थोरै पनि आस्था थिएन । ईश्वर छैन भन्नेमा पूरा विश्वास थियो । ईश्वर हुनै सक्दैन । नत्र जसले धेरै पूजापाठ गर्छ किन त उसैले दुःख पाइरहेको छ ?

हामीलाई जीवनमा एउटा अभिभावकत्वको खोजी हुँदो रहेछ । हामी निश्चितता चाहँदा रहेछौं । सुरक्षित हुन चाहन्छौं । ईश्वर छैन भन्ने दृढ निश्चय भएपछि जीवनमा सुरक्षित हुन पैसा कमाउने अठोट गरें । सम्भावित दुःखबाट बच्नलाई पैसा कमाउनुप¥यो । त्यसपछि पढाइ शुरु गरें । कक्षा आठदेखि अहिलेसम्म नै पढाइमा धेरै राम्रो गर्दै गएँ । डाक्टर बनेर धेरै पैसा कमाउने अठोट गरें ।

अध्यात्मसँग जोडिएपछि मनमा झन् के–के भएर आयो । मोक्ष प्राप्ति भएन भने अझ कति जुनी चौरासीमै घुम्नुपर्छ रे । कतै अरु जुनीहरुमा युद्ध भइराखेको ठाउँमा जन्मिनुपर्ने पो हो कि, महिला भएर बलात्कारको शिकार पो हुनुपर्ने हो कि । चर्को गर्मीको धुपमा सडक मजदुर बनेर जीवन बिताउनुपर्ने पो हो कि, यस्तै यस्तै । यी सबै कुराबाट के थाहा भयो भने मलाई कुनै कुराले बचाउन सक्दैन ।

जानी नजानी सबै मान्छेले खोजेको सुरक्षा हो । ढुक्क हुन चाहनु हो । हाम्रा हरेक प्रयास जीवनलाई ढुक्क बनाउन खोज्ने खालका हुँदा रहेछन् । निस्फिक्रीमा जीवन बाँच्न चाहँदा रहेछौं । परम सुन्दरतामा ढुक्क हुन चाहँदा रहेछौं ।

हामीभित्रको चेतना पूरै–पूरै खुलेर बाँच्न चाहन्छ । चेतना थोरै पनि संकुचनमा बाँच्न चाहँदैन । थोरै पनि रोक्किन चाहँदैन । फेरि बाँच्नेचाहिँ मनले  रहेछ । सुख, दुःख, राम्रो, नराम्रो, पूर्णता, अपूर्णता आदि हरेक कुरा मनले अनुभव गर्ने रहेछ । हामी अरु कुराको कमाइचाहिँ गर्दैछौं । अरुको लागि प्रयासचाहिँ गर्दै छौं– तर मनलाई भुलेर ।

जीवनमा सुखपछि दुःख, दुःखपछि सुख आउँछ । जुन दिनबाट अध्यात्मको खोजी हुन्छ, त्यसपछि जीवनमा वास्तविक सुखको शुरुवात हुन्छ । अध्यात्मले जुन बताउँछ, त्यसमा परम स्थिति पनि छ । त्यहाँ सुखदेखि सुख, शान्तिदेखि शान्ति, आनन्ददेखि आनन्द मात्रै छ ।

अब मलाई परम हुनु छ, मालिक हुनु छ, हरेक ऊर्जा पाउनु छ भने आज पनि, भोलि पनि भन्न थाल्नुपर्छ– अब मलाई परम चाहियो । यसबाट निश्चितता हुँदो रहेछ । शान्ति– जहाँ कुनै डर नहोस् । शुरुमा चेतन मनले जान्दछ, पछि आफूलाई मनन गर्दै जाँदा ईश्वर प्राप्ति नै मेरो अन्तिम खोज हो भने अब बाँकी कुराचाहिँ सेकेन्डरी लाग्न थाल्छ । त्यो प्राइमरी हो भनेर चिनिसकेपछि अरु कुराले धेरै दुःख दिँदैन । लोभ्याउँदैन पनि । लोभ छैन भने डर पनि छैन, न आलस्य, ईष्र्या नै रहन्छ, न कुनै कुराले तर्साउँछ, न पीडा नै रहन्छ । अब चेतन, अवचेतन पूरै मनलाई थाहा भइसक्यो अन्तिम खोज अब जे हो त्यसैमा मन हिँड्न थाल्छ । बिस्तारै–बिस्तारै सानो संघर्षबाट, सानै पीडाबाट ज्ञात हुन थाल्छ, पीडाले कम छुन थालेपछि आफ्नो शान्ति गहिरो हुन्छ ।

म परम सुरक्षा र परम निश्चितता खोज्न अध्यात्ममा लागेको हुँ । अध्यात्मको खोजमा पनि धेरै मान्छे भड्किँदो रहेछ । अध्यात्ममा पनि धेरैले गुरुलाई लठ्ठीको टेको जस्तो मान्दा रहेछन् । जस्तो– भगवान् किन मान्छौं भने उसले हामीप्रति कृपा गर्छ भनेर । अध्यात्ममा गुरु पनि ९० प्रतिशतले किन मान्दा रहेछन् भने गुरुले ममाथि कृपा गर्छ भनेर । अध्यात्मसँग त उसलाई लेनादेना केही छैन, बुझ्नु छैन । उसलाई गुरु थाहा छ, विश्वास पनि छ । वश् पहिले भगवान् मान्थ्यो, भगवानले केही नगरेको देखेर अब गुरु मान्न थाल्यो– जो सशरीर छ, मा झुम्मिने ९० प्रतिशत आध्यात्मिक भनाउँदाहरु त्यस्ता नै हुँदा रहेछन् ।

तर, अध्यात्ममा कसैले कसैको सुरक्षा गर्न सक्दैन । गुरुले भन्नु पनि हुन्छ– ‘आफैंले जन्माउनुपर्छ ।’ आफूले आफूलाई नै जन्माउनुपर्दो रहेछ । आफ्नो प्रयत्नमा पनि त्यो प्राप्त हुँदो रहेनछ । धेरै प्रयत्न भयो, आफ्नो अस्तित्व नै हल्लाउने गरी प्रयत्न गरेपछि त्यो समर्पण बन्दो रहेछ । समर्पण पनि बिस्तारै गर्न सिकिँदोरहेछ । त्यहाँ पनि ‘सेल्फ इन्क्वारी’ शुरु हुन्छ । अब मलाई गुरुले पनि मद्दत गर्न सक्दैन भन्ने थाहा हुन्छ ।

गुरुको ऊर्जा धेरै हुन्छ । धेरै पवित्र हुन्छ । तर, गुरुले गर्न सक्दैन भन्नुको अर्थ यो हैन कि गुरुले मद्दत नै गर्दैन । सद्गुरु नभए यो सम्भव पनि छैन । तर, गर्नुपर्ने हामी आफैंले हो । बाटो सही वा गलत कता गएका छौं, त्यो देखाउने मात्रै हो गुरुले ।

सुख–दुःख पनि एक–आपसमा सम्बन्धित हुँदो रहेछ । हिजो दुःख थियो आज सुख छ । अध्यात्म भनेको सुख–दुःखभन्दा परको सुख हो । आनन्द र दिक्कभन्दा परको अवस्था हो– अध्यात्म ।

आज म यसरी बाँचिरहेको छु कि मेरो जीवनमा ईश्वर नै छ । अब केको चिन्ता गरौं । पूर्णतामा बाँचिरहेको छु, अपूर्णतामा हैन । दिनरात मिहिनेत गरिरहेको छु । आफ्नो भविष्यलाई सुनौलो बनाउन पढाइदेखि सम्बन्धसम्म सुधार्न लागिपरेको छु, तर मेरो केन्द्रचाहिँ अरु केही छ ।

त्यसैले ईश्वर चाहिन्छ भने शुरुमा ईश्वरसँगै बाँच्न थालौं । ईश्वर अनुभूतिको शुरुमा नाटकै गरौं । त्यो नाटक नै कुनै दिन सत्य बन्ने हो । यो पनि अभ्यास हो ।

जीवन विज्ञानले बतायो– ‘हामी यति सुखी छौं, यति आनन्दित छौं, यति शान्त छौं ।’ तर, थाहा मात्रै थिएन । अध्यात्मले कुनै दिन थाहा मात्रै दिलाउने हो । अभ्यास गर्दै–गर्दै–गर्दै जाँदा हामीले ‘थाहा’ पाउने हो । त्यही भएर ध्यानलाई ‘थाहा’ भनिन्छ । अध्यात्मले मुक्ति दिलाउने हैन, मुक्त जो हामी छौं– त्यसको ‘थाहा’ मात्र दिलाउने हो ।

सन्तहरु भन्छन्– ‘याद गर्ने हो, मुक्तिको लागि प्रयास गर्ने हो । म स्वतन्त्र छु भन्ने थाहा पाउन प्रयास गर्ने हो र कुनै दिन मुक्त छु भन्ने थाहा पाउने   हो । अप्रयासमा पुग्ने प्रयास गर्ने हो । त्यसैले म अहिले अप्रयासको प्रयास गर्दैछु । जहाँ पुगेपछि प्रयास गर्नु नपरोस् । पूर्ण सक्रियताको अभ्यास गर्दैछु ता कि कुनै दिन पूर्ण शान्तिमा निवास गर्न सकूँ ।

(जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक प्रशन्न विष्टसँग सरल पत्रिकाले गरेको कुराकानीको सार,आर्काईभबाट)
 

ताजा खबर