चितवन निकुन्जमा फोहर बढ्यो 

२०७४ चैत ९ शुक्रबार १४:०८:०० मा प्रकाशित

रत्ननगर, चितवन, ९ चैत ।  विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहरको व्यवस्थापनमा चुनौती देखिएको छ । 

विश्वकै दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, विश्वकै अति संकटापन्न घडियाल गोहीलगायत चित्तल, गौरीगाई, भालु, हात्ती विभिन्न प्रजातिका चरा तथा महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको निकुञ्जमा बढ्दो फोहरले वन्यजन्तुमा समेत असर परिरहेको छ । 

यस्ता फोहर वन्यजन्तुले खाएमा तिनीहरुको स्वास्थ्यमा असर गर्ने र जाल अड्किँदा गोहीसमेत मरेको उदाहरण निकुञ्जमा छ । फोहर र प्रदूषणले वन्यजन्तुमा असर गरिरहेको निकुञ्जको गोही प्रजनन केन्द्रका प्रमुख बेदबहादुर खड्का बताउछन्। 

गत साउनमा आएको बाढीका कारण निकुञ्जको जंगल क्षेत्रमा फोहरको डंगुर नै छ । निकुञ्ज क्षेत्रमा जल्ने, नजल्ने फोहर, प्लाष्टिकका बोतल, रक्सीका बोतल, बोरा कपडाका फोहर प्रसस्तै छ । रक्सीका बोतल, चिसोका बोतल तथा औषधिका बोतल, चप्पल, विभिन्न भाँडाका टुक्रे फोहर, लत्ताकपडा, बल्व कार्टुन, टिन, हेल्मेट, ट्याङ्कीका फोहर निकुञ्जमा भेटिएका छन् । 

यस्ता फोहरले वन्यजन्तुलाई असर गरिरहेको छ । प्राकृतिक विपत्तीसँगै मानिसले समेत यहाँ फोहर गरिरहेका छन् । तर फोहर व्यवस्थापनमा भने खासै चासो दिइएको छैन । फोहर व्यवस्थापनमा निकुञ्जले छुट्टै कार्यक्रमसमेत गर्न सकेको छैन । 

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरका प्रमुख अभिनय पाठक निकुञ्जमा फोहर बस्दा घाँसे मैदानमा असर हुने र वन्यजन्तुको वासस्थान नै प्रभावित हुने बताउछन्।  

बेलाबेलामा विभिन्न दिवसमा सौराहाका वातावरण संरक्षणको काममा क्रियाशील संघसंस्थाले यहाँ सरसफाइ कार्यक्रम गर्ने गरेका छन् । फोहर टिप्न विदेशी पर्यटकसमेत पुग्छन् । तर दिगो र दीर्घकालीन कार्यक्रम नहुँदा यहाँको फोहर व्यवस्थापन चुनौतीपूर्ण छ । 

संरक्षणकर्मी एवं सौराहाका पर्यटन व्यवसायी शिरलाल परियार फोहरले वन्यजन्तुमा असर गरिरहेको भए पनि यसको व्यवस्थापनमा निकुञ्जले चासो नदिएको बताउछन्। केही महिनाअघि यहाँ चलाइएको अभियानमा ३० ट्र्याक्टरभन्दा बढी फोहर निकालिएको थियो । बिहीबार पनि ढुंग्रेखोलामा गरिएको सरसफाइ अभियानमा यसैगरी फोहर फेला परेको परियार बताउछन् । 

चरा विज्ञ तथा पर्यटन व्यवसायी टीका गिरीले नदीमा मानव अतिक्रमण बढेकाले यहाँ रहेका खोलामा आश्रित गोही, चरा र वन्यजन्तुलाई समस्या परेको बताए । “खोला दूषित भयो भने पानीमा आश्रित सबै जीवजन्तु मासिने खतरा हुन्छ”, गिरीले भने, “जीवजन्तुलाई जोगाउन पनि खोलाको सरसफाइ आवश्यक छ। रासस   
 

ताजा खबर