चुनढुंगा खानी बन्द गर्न माग गर्दै आन्दोलन

२०७४ चैत ९ शुक्रबार १३:४१:०० मा प्रकाशित

चितवन, ९ चैत।  जिल्लाको कालिका नगरपालिका–९ कोलारमा रहेको चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीले दबाब दिएका छन् । खानेपानी, सिँचाइका स्रोत नष्ट हुने र ऐतिहासिक महत्व बोकेको उपरदाङगढी धरापमा पर्ने भन्दै उनीहरुले बन्द गर्न दबाब दिएका हुन् । 

कालिका नगरपालिका–९ का वडाध्यक्ष हिमबहादुर क्षेत्रीले चुनढुंगा खानीले समग्र क्षेत्रमा प्रभाव हुने भन्दै स्थानीयवासीले विरोध जनाएको बताए । वडा भेलामा अधिकांशले खानी बन्द गर्न दबाब दिएका थिए । वडाध्यक्ष क्षेत्रीले स्थानीयवासीको भावना बुझेर सोको जानकारी नगरपालिकामा गराएको बताए।  

वडा भेलाले खानी बन्द गर्ने निर्णय गरेको स्थानीय प्रकाश थापाले बताए । नगरपालिकाद्वारा गठित खानी अनुगमन समितिका सदस्यसमेत रहेका थापाले स्थानीयवासीको भावनाभन्दा बाहिर गएर नगरपालिका एवं अन्य निकायले निर्णय गर्न नहुने बताए। 

खानीका कारण जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी जोखिममा पर्ने, खानेपानी मुहान सुक्ने, सिँचाइको कुलो बन्द हुने, पहिरोका कारण स्थानीयवासीको जनधनको क्षति हुन सक्ने चिन्ता स्थानीयवासीको भएको थापाले बताए। 

नगरपालिकाका प्रमुख खुमनारायण (गोपी) श्रेष्ठले खानी सञ्चालनको इजाजत दिने अधिकार खानी विभागको भएकाले आफूहरुले रोक्न भने नीतिगत रुपमा नसक्ने बताए।  उनले  स्थानीयवासीको भावनालाई बुझेर अन्य स्रोत सम्पत्तिको क्षति नहुने गरी खानी सञ्चालन गर्नुपर्ने बताए। 

खानी सञ्चालन गरेको स्टारलाइन इण्डष्ट्रिज प्रालि काठमाडौँका प्रतिनिधि ईश्वरी मरासिनीले स्थानीयवासीलाई प्रभाव नपरोस् भन्नका लागि रु दुई करोड ५० लाख खर्च गरेर संरचनासमेत निर्माण गरिएको बताए। 

पहिरोको जोखिम भएका ठाउँमा तारजाली लगाएर संरक्षण गरिएको उनले बताए।  । स्थानीयवासीको अवरोधपछि दुई महिनादेखि खानी नियमित सञ्चालन हुन सकेको छैन । रासस 
 

ताजा खबर