यी हुन् मालिका केशरीकी ‘सुवर्णलता’

२०७४ चैत ९ शुक्रबार १३:३१:०० मा प्रकाशित

करिब आधीघण्टा त्रासले भरिएको पाइला चालेपछि क्षितिजमा देखियो संन्यासीको आश्रम । अनौठो ! आज उनी एक्लै थिए, ध्यानमा लीन । उनको सम्मुख सदा घेरिरहने उनका अनुयायी कोही थिएनन् । उनीहरु भिक्षाटनका लागि नजिकैको गाउँमा गएका होलान्् भन्ने अनुमान लगाएँ । 

मेरा आँखा उनै संन्यासीमा अडिएका थिए । गहन ध्यानमुद्रा, दुबै आँखा चिम्लिएका, हातलाई कमलको फूलझैं फैलाएर राखिएको, लामो लामो श्वास फेर्दै अनन्तमा विचरण गरिरहेको त्यो अवस्थालाई मैले हेरिरहेँ । धेरैपछि उनले नयनको पर्दा उघारे । हामीलाई देख्नासाथ सदाझैं मुस्कुराउँदै भने, “राजकुमारी, आसन ग्रहण गर्नुहोस् ।”

म त उनलाई हेरेर खै कहाँ हराइरहेकी थिएँ कुन्नि । उनको आग्रहलाई बुझ्न नसकेर त्यसै उभिइरहिछु । प्रियाभानुले नै मेरो नाडीमा समातेर आसनतर्फ लगिन् ।

“आज तपाईं दुईको मात्र सवारी ?”

बल्ल मेरो होस फर्कियो । हो त हामी कुनै अंगरक्षकबिना निस्किएका थियौं । मनको उद्वेग र उत्साहमा मैले राज नियमलाई पनि बेवास्ता गरिछु । महाराजलाई सम्झेर एक पल त डर पनि लाग्यो । के भन्नुहोला महाराजले ।

प्रियाभानुले नै जवाफ दिइन्, “समस्या नै यस्तो थियो जो एकान्तमा गर्नुपथ्र्यो । सायद परिस्थितिले पनि हाम्रो साथ दिएको होला । आज कोही सज्जनहरु यहाँ हुनुहुन्न ।”

“उनीहरु भिक्षाटनका लागि गएका छन् । फर्केर आउन अझै केही समय लाग्छ होला” उनले घायल बनाउने नजरले हेर्दै भने ।

मलाई सम्हालिनै गाह्रो भयो । यति असहज त मैले यसअघि कहिल्यै महसुस गरेकी थिइनँ । उनले मेरो मुहारलाई एकतमास हेरेर भन्नलागे, “अँ त समस्याको कुरा गर्दै हुनुहुन्थ्यो । यदि मैले त्यो समस्या समाधानको उपाय पत्ता लगाउन सफल भएँ भने मैले आफूलाई धन्य मान्ने छु ।” 

प्रियाभानुले मेरो मुहारमा हेरिन् । सायद उनी चाहन्थिन् मेरो समस्याको पोको, मेरो रहरको पोको म स्वयंले नै फुकाऊँ तर मेरो त मुख सुकेको  थियो । लज्जाले अनुहारको रंग नै रातो भएको थियो । शरीरमा अत्यन्त तीव्रताका साथ रक्त सञ्चालन भएर होला शरीर थरथर काँपिरहेको थियो ।
मेरो मनोदशा बुझेर होला प्रियाभानुले नै कुरा अगाडि बढाउन थालिन्, “महात्मा, हाम्री राजकुमारी कैयौं महिनादेखि अनौठो रोगको शिकार हुनुभएको छ । न दिनमा शान्ति छ न रातमा निद । मानिसको बीचमा मन बाँधिदैन । एकान्तमा मन रमाउँदैन । हरेक शून्य दिशामा एक मानव आकृति सल्बलाउँछ । एक मानव आकृति मुस्कुराउँछ । उसको समीपमा मात्र मन केही रमाउँछ । त्यसैले महात्मा हाम्री राजकुमारीलाई यो रोगबाट मुक्त तुल्याइदिनु प¥यो ।”

संन्यासीले एकपटक फेरि मलाई शिरदेखि पाउसम्म हेर्नुभयो । उहाँको नजर मेरो शरीरको जुन जुन अंगमा पुग्यो, त्यो अंग लाजले तत्काल पानी पानी भएको महसुस गरेँ । उनले मलाई केही बेर हेरेपछि मुस्कुराउँदै भने, “यो रोग त हरेक सांसारिक व्यक्तिलाई युवा अवस्थामा लाग्ने रोग हो । यो प्राकृतिक छ ।” 

“महात्मा, उहाँले यो रोगको निदानका लागि सक्दो कोसिस गर्नुभयो । कैयौं रात जाग्राम बस्नुभयो । कहिले एक्लै रुनुभयो । कहिले एक्लै हाँस्नुभयो तर रोगले बनाएको अन्तरहृदयको घाउ मेटाउन यी सबै कोसिस व्यर्थ भए । त्यो रोगले बनाएको घाउ त अझ विशाल हुँदै निराकार स्वरुपमा पो ढल्न थाल्यो । यदि यस्तै अवस्था रहने हो भने राजकुमारीले कहिल्यै फिर्ता नहुने गरी आफ्नो चेत गुमाउन सक्नुहुन्छ । महात्मा ! भनिन्छ संसारमा कहीँ कतै नभएको समाधान हजुरसँग छ रे । कसैले सुल्झाउन नसकेको गुत्थी हजुरले सुल्झाउनु हुन्छ रे । त्यसैले हामी हजुरको शरणमा आएका छौं । हजुरले हाम्रो जालन्धरको भविष्य बचाइदिनुप¥यो किनकि यो देशको समृद्धि, यो देशको उत्थान उहाँको समृद्धि र उहाँको भलोमा नै अडेको छ । यदि उहाँ नै कुशल रहनुभएन भने यी कोटि कोटि मानवको के अवस्था होला ? यो विशाल देशको भविष्य कसरी सुनिश्चित रहला ?” प्रियाभानुले संन्यासीलाई मेरो सम्पूर्ण मनोदशा बताइन् । मेरो मुटु ढक्क फुल्यो । अब संन्यासीले के भन्ने हुन् ।

अनौठो उहाँ त आज सदाभन्दा भिन्न हाँसो हाँस्नुभयो । उत्ताउलो र व्यंग्यले भरिएको हाँसो त हैन तर त्यो हाँसो आम हाँसोभन्दा पक्कै फरक थियो । म भने उहाँको हाँसोमा नै आफूलाई प्रवाहित गरिरहेकी थिएँ । कति मीठो हाँसो । यदि मिल्ने भए त्यो हाँसो जति जम्मै मेरो आँचलमा थापेर बलियो सन्दुकभित्र सदा–सदाका लागि थुनौँजस्तो ।

“भनेपछि राजकुमारी कसैको गहिरो प्रेमपाशमा पर्नुभयो ।” उहाँले यसो भन्दा फेरि त्यही हाँसो उनको मुहारमा दौडियो ।

उनका ती शब्दहरु मेरो शरीरमा स्थिर बसेको रक्तलाई चलायमान बनाउन पर्याप्त थिए । यस्तो लाग्यो, मेरो शरीरको सम्पूर्ण रक्त एकाएक मेरो मुहारमा आएर रोकियो । मेरो मुहारको ताप अचानक यति बढ्यो, यदि मेरो मुहार नजिक कुनै जलकुण्ड हुन्थ्यो भने त्यो कुण्डको सम्पूर्ण जल मेरो मुहारको तापले पलभरमै सुकेर जान्थ्यो होला ।

मनले लामो सुस्केरा हालेर भन्यो, “ए मेरा देव, यसरी हाँसेर मलाई अझ पीडित घायल नबनाउनुहोस् । तपाईं नै यसरी हाँसिदिनुभयो भने म त प्राण त्याग नहुँदै अग्निमा जलेसमान हुन्छु । मलाई यो अवस्थामा ल्याउने हजुर नै हो । यस अर्थमा मैले भोगिरहेकोे सम्पूर्ण पीडाको मुख्य जिम्मेवार हजुर नै हो ।” तर मुखबाट बिस्तारै फुस्कियो, “के कसैप्रति प्रेम दर्शाउनु पाप कर्म हो र ?”

“पाप हो म भन्दिनँ । पुण्य हो पनि म भन्दिनँ । मात्र म यति भन्छु । कसैप्रतिको आसक्ति, कसैप्रतिको मोह दुःखको कारण हो । बन्धनको परिधि   हो । जिउनुको हदबन्दी हो ।” उनले यसो भनिरहँदा उनको मुहार गम्भीर देखिएको थियो ।

मेरो सम्पूर्ण डर हटिसकेको हुनुपर्छ वा मलाई अन्तरहृदयमा उब्जेको प्रेमले शक्ति प्रदान गरेको हुनुपर्छ । म त निसंकोच बोल्न पो थालेँ, “यदि मोह र माया दुःखको कारण हो भने प्रकृतिको सञ्चालन नै अस्तव्यस्त हुनुपर्ने हो । कसैगरी फूलप्रति मौरीको मोह, पृथ्वीप्रति सूर्यको मोह, आकाशप्रति पवनको मोहभंग भयो भने के यो प्रकृतिको अस्तित्व सम्भव होला त ? त्यसकारण प्रेम दुःखको कारण हो भन्ने मान्न म तयार छैन ।”

उहाँले गम्भीर तर मृदु मुस्कानका साथ भन्नुभयो, “हरेक वस्तुको सीमा हुन्छ । संसारमा जतिसुकै वर्षा किन नहोस्, समुद्रको सतह सदा एउटै रहन्छ । त्यही नै त्यसको सीमा हो । सम्पूर्ण जीव एवं चराचरमा निश्चित सीमा र नियम लगाइएको हुन्छ । त्यही सीमा र नियम नै प्रकृति हो । सम्पूर्ण चराचर त्यस नियममा बस्नुपर्छ तर मानिसले मन र दिमागको प्रयोग गरेर त्यो सीमारेखालाई नै लत्याइदिन्छ । लोभ, मोह, इष्र्या र आसक्तिमा डुबेर आफूलाई दुःखी तुल्याइरहेको हुन्छ । यसकारण सीमाभित्र रहनु जायज हो । खुसी हो । त्यो परिधिभन्दा बाहिरको चञ्चलता दुःखको कारण हो ।” 
अब म के भनूँ । उहाँले त मेरो अनुरागको आधारलाई चञ्चलता र उच्छृंखलतामा लगेर जोडिदिनुभयो । के म वास्तवमै चञ्चल भएकी हुँ त ? के म जवानीको उन्मादमा बहेकी हुँ वा मलाई पनि प्रेमकी देवीले मायाको मीठो प्रसाद बाँडेकी हुन् ? जुन प्रसाद ग्रहण गरेपछि मैले एक व्यक्तिलाई प्रेम गरेँ, मात्र एक ।

उही व्यक्तिसँग मैले मेरो तन मन जोडेँ । जसले पहिलो नजरमै मेरो अन्तरहृदयको घण्टी बजायो । जसको एक झलकमै मेरो हरेक रक्त कोषिकामा मायाको बीजारोपण भयो । अनि मुटुले भन्यो, “हे अपरिचित संन्यासी, तिम्रो जन्म र आगमन त मेरो अन्तरहृदयमा प्रेमको फूल फूलाउनका लागि रहेछ । तिम्रो सामीप्य त मलाई सुनौलो सपनी देखाउनका लागि रहेछ । म तिम्री हुँ संन्यासी । तिमी मेरा हौ मात्र मेरा ।” 

“ए संन्यासी, मैले अनुरागको सितारा जडिएको पछ्यौरी ओढ्नुपूर्व कहिल्यै तिम्रो न जात जान्न चाहेँ, न थर, न गोत्र, न देश, न हैसियत नै बुझ्न चाहेँ । मनले भन्यो, ‘प्रेमको कुनै रंग, आकार, स्वरुप र स्तर हुँदैन । यो त शून्य हुन्छ आकाशजस्तै तर स्थूल देखिन्छ । अस्तित्वविहीन भएर पनि पूर्ण चलायमान देखिन्छ । ए संन्यासी, तिमीले भनेजस्तै प्रेम दुःखदायी हुँदै होइन । प्रेम त प्राप्ति हो । जसरी सूर्यमा प्रकाश मात्र नभएर ताप हुन्छ र त त्यसको अस्तित्व छ । त्यही तापले त जीवन सञ्चालन भएको छ । यदि सूर्यमा ताप नहुँदो हो त के जीवन सम्भव होला ? ठीक त्यसरी मानव जीवनका प्रेम र चाहना पनि सूर्यका तापजस्तै हुन् । यही प्रेमकै कारणले मानव जीवन पूर्ण हुन्छ । त्यसैले संन्यासी म गलत छैन । मेरो प्रेम गलत छैन । म चञ्चल भएकी होइन, संन्यासी म त अझ स्थिर भएकी हुँ । अझ गम्भीर भएकी हुँु । अझ साहसी भएकी हुँ । मेरो तिमीप्रतिको प्रेम कदापि मनको चञ्चलताको परिणाम हुनै सक्दैन ।” मैले एकतमास उनको मुहारमा हेर्दै मनमनै भनिरहेँ । 

“राजकुमारी, म मान्छु हरेक समस्याको समाधान गर्ने सामथ्र्य स्वयंमा हुन्छ । जसरी रातको अन्धकारलाई सानो दियोको उज्यालोले हटाउन सकिन्छ त्यसरी नै मनको ताप पनि ज्ञानको ढोका उघारेर हटाउन सकिन्छ । म विश्वस्त छु त्यो पीडाको निराकरण हजुर स्वयंले गर्न सक्नुहुन्छ । यदि यो पीडा समाधानका लागि मैले कुनै सहयोगले दिन सकेँ भने म त्यसलाई मेरो अहोभाग्य ठान्दछु । यदि हजुरलाई कुनै अप्ठेरो लाग्दैन भने मलाई त्यो भाग्यशाली व्यक्तित्वसँग परिचित तुल्याइदिनुस् जसले संसारकै विशाल र शक्तिशाली राज्य जालन्धरकी राजकुमारीको मन जित्न सफल भयो ?” 
उहाँले बडो शालीन भाषामा मेरा प्रेमीका बारेमा जान्न चाहेको बताउनुभयो । मैले बिनासोच भनिदिएँ, “मेरो अन्तरमनमा प्रेम नामको फूल फुलाउने, मलाई जीवनको सुनौलो सपना देखाउने अरु कोही नभएर हजुर नै हुनुहुन्छ ।” खै मैले कहाँबाट कुन साहस ल्याएँ कुन्नि, फटाफट मेरो अन्तरमनको व्यथा देखाइदिएँ ।

मैले सोचेकी थिएँ मेरो उत्तरले उनी उत्तेजित हुनेछन् । आश्चर्य र त्रासले भयभीत वा आक्रोशित हुनेछन् तर मेरो सोचभन्दा बिल्कुल भिन्न पो भयो । उनी त मधुर हाँसो हाँस्दै भन्नलागे, “हरेक सांसारिक व्यक्तिमा यो भावना जाग्नु कुनै नयाँ र नौलो विषय हैन । जुन परिवेशमा मानिस जीवनयापन गर्छ सोही अनुसारको अपेक्षा गर्नु वा कल्पनु कुनै पाप कर्म हैन । राजकुमारी ! जसरी पूर्वतर्फ बगेकी नदी र पश्चिमतर्फ बगेकी नदीको संगम सम्भव हुँदैन, जसरी दिन र रात एकै समयमा हुन सम्भव छैन, ठीक त्यसै गरी मेरो जीवन पनि संसारिक मानिसको जीवनभन्दा बिल्कुल फरक छ । संसारिक मानिस पश्चिमको यात्रामा निस्किएका छन् भने म पूर्वको यात्रामा ।”

खै मेरा आँखा कतिखेर रसाएछन् थाहै भएन । मैले दुबै हातले आँसु पुछेँ । म प्रथमपटक रोएकी त थिइनँ तर उनको जवाफले मेरो हात गोडा गलेर लत्रक्क भए । म सयौं योजन दौडिएर थाकेकीजस्ती भएँ तर मनमा उद्ववेगका झिल्काहरु सल्बलाएका थिए । ममा बाँकिरहेको शेष थोरै शक्ति सञ्चय गरेर बोल्न थालेँ, “हो म मान्छु म एक संसारिक हुँ । मेरा इच्छा भोगविलास उन्मुख छन् र हजुर एक संन्यासी, तपाईंका पाइलाहरु त्याग उन्मुख छन् । मैले यी सबै राम्रोसँग बुझेकी छु तर हजुरले यति बुझिदिनुस्, ‘जसरी नदी जुन भूधरातल भएर बहन्छ त्यही धरातलको आकारमा आफूलाई ढाल्छ । नदीको पानीले आफूलाई रंगहीन तुल्याएर प्रकृतिको रंगलाई नै स्वस्फूर्त ग्रहण गर्छ । म पनि त्यही जलजस्ती हुँ । त्यही नदीजस्ती हुँ । म पनि हजुरको साथ पाएर नदीजस्तै आफूलाई हजुरमा बदल्न सक्छु । मलाई सांसारिक सम्झेर नलत्याइदिनुस् ।” मैले यति भन्दा मेरा आँखाबाट अनवरत रुपमा आँसु बगेका थिए ।

“राजकुमारी कति कुरा बाहिर सतहबाट सहज र सरल देखिए पनि यथार्थमा त्यसको जटिलता अत्यन्त गहन हुन्छ । हामीलाई लाग्छ, दिनपछि रात र रातपछि दिन यो त सरल नियमित प्रक्रिया हो तर हामीले कहिल्यै यो विचार गर्दैनौं रातबाट दिनमा फर्कदा कति घटना हुने गर्छन् । कति अवस्था पार गरेर बिहानीको सूर्य उदाउँछ । मात्र हामी बिहानीको मिरमिरेमा देखिने कलिलो सूर्यलाई हेरेर आश्वस्त हुन्छौं अब दिन हुँदै छ ।” उहाँले त्यही शालीन भावमा भन्नुभयो ।

मेरो आँखाबाट भने आँसुको धारा रोकिन मान्दै मानेन । म त्यही आँसुमिश्रित आवाजमा भनिरहेँ, “ए संन्यासी, म हजुरजस्तो परमज्ञानको अनुभूति गर्न सक्ने सामथ्र्यवान छैन । न मैले यो ब्रह्माण्डको नियम र रहस्य नै बुझ्न सक्छु । तैपनि म यति बुझ्न सफल भएँ मानिसको अन्तरहृदयमा प्रेम नामको तत्व छ जुन तत्व खराब हुँदै होइन । गलत हुँदै होइन । आकाशमा उदाउने सूर्य गलत हुन सक्लान् । चाँदनी रातको चन्द्र गलत हुन सक्लिन् तर मेरो मनको प्रेम गलत होइन । म त एकै नजरमा हजुरको प्रेमपाशमा परेँ । यदि प्रेम गलत हो, भोग गलत हो भने, सम्पूर्ण ब्रह्माण्ड नै गलत हो । सम्पूर्ण चराचर नै गलत हो । प्रकृतिको सृजना गलत हो ।” म आक्रोशित हुँदै रोइरहेँ ।

उनी चुपचाप गम्भीर नजरले मलाई हेर्दै थिए । म अझ बोल्दै गएँ, “ए संन्यासी, हजुरले यो कसरी बिर्सनुभयो ? हजुर पूर्व दिशातर्फ लागे पनि म पश्चिम दिशातर्फ लागे पनि हाम्रो भेट अवश्य हुन्छ । किनकि हजुरले नै भन्नुभएको थियो पृथ्वी गोलो छ । यदि कथंकदाचित् बीच बाटोमा मिलन सम्भव भएन भने पनि उनीहरुको मिलन समुद्रमा अवश्य हुने नै छ । रह्यो दिन र रातको संगमको कुरा । हजुरले कसरी बिर्सनुभयो ? सन्ध्या र बिहानीको त्यो छोटो समय जहाँ दिनको अंश पनि छ र रातको शेष पनि । म त्यही छोटो अंशमै रमाएर जीवन बिताउन तयार छु । कृपया मलाई लत्याउने विचार त्यागिदिनुस् । मलाई शरणमा लिनुस् ।” मैले दुबै हात जोडिरहेँ ।

“राजकुमारी तर्कले मानिसलाई जित र हारको सँघारमा ल्याउँछ । जित र हारले मानिसलाई भ्रमित तुल्याउँछ । जित्ने जितको अभिमानमा चुर हुन्छ भने हार्ने हारको बदलामा । त्यसकारण म तर्क गर्न चाहन्नँ राजकुमारी । म सांसारिक मोह त्याग गरेर हिँडेको संन्यासी, कुनै पनि मोहमा अल्झिन सक्दिनँ । आशा छ, तपाईंले मलाई बुझ्नुहुन्छ । म चाहन्नँ, मेरा कारणले कसैलाई खुसी तुल्याउन नसके पनि पीडा पुगोस् ।” उहाँ अझ गम्भीर देखिनुभयो ।

केही बेर रोकिएर फेरि बोल्न थाल्नुभयो, “खै राजकुमारी, हजुरले मलाई किन यस्तो परीक्षा लिन खोज्नुभयो, मैले बुझिनँ । जसरी रातमा सूर्य झल्मलाउन सक्दैन, जसरी औंसीमा चन्द्र गुप्तवास बस्नैपर्छ, त्यसैगरी म जुन बाटोमा हिँडेको छु त्यो बाटोमा हिँड्दा मैले यस्ता माया, प्रेम, मोह लगायत सम्पूर्ण बन्धन धेरै पर छाडेर आएको छु जहाँ म फर्कनै सक्दिनँ, जहाँ म पुग्नै सक्दिनँ । राजकुमारी, मलाई माफ गर्नु होला ।”

(मालिका केशरीको यसअघि पुनरुत्थान उपन्यास प्रकाशित छ । पुनरुत्थानमा दशवर्षे द्वन्द्वमा सरकार र विद्रोही दुवैबाट थिलथिलो बनाइएको जनताको वास्तविक चित्र देख्न सकिन्छ । उनको दोस्रो उपन्यास नायिका प्रधान उपन्यास हो । यसमा नेपाली नारीको हालको अवस्था र बौद्धकालीन समयमा नारीको अवस्थाको वारेमा तुलनात्मक विश्लेषण गरिएको छ । यसको अलावा बौद्ध दर्शन र भोगवादी सोचको अन्तरद्वन्द्वलाई लेखकले सरल भाषामा ब्यक्त गरेका छन् । उनको दुवै उपन्यास सांग्रिला बुक्सले प्रकाशन गरेको हो । यो यही उपन्यासको एक अंश हो।)


 

ताजा खबर