एसइई परीक्षाःदुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

२०७४ चैत ८ बिहीबार १४:५१:०० मा प्रकाशित

लहान, ८ चैत ।  आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्या्दित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ । 

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्या्दित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरिएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए। 

यस्तै परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्रह्माण गोर्छारी परीक्षा केन्द्रमा खटिएको परीक्षा निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरिएको जिशिअ महतोले बताए।  निष्कासन गरिएको स्थानमा भोलिदेखि अर्काे केन्द्राध्यक्ष र निरीक्षकले परीक्षा सञ्चालन गर्ने जिशिअ महतोको कथन छ । 

त्यस्तै सिरहाको तीन वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा आजको परीक्षा सम्पन्न भएको उनले बताए । यस वर्षको एसइई परीक्षामा जिल्लाका ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयसहित १३३ विद्यालयका परीक्षामा सिरहाबाट नियमिततर्फ नौ हजार २८४ र एक्जाम्टेडतर्फ ५९३ गरी नौ हजार ८७७ परीक्षार्थी सहभागी भएको जिशिअ महतोले बताए। रासस 
 

ताजा खबर