माडका लागि लडौँ कि जाँडका लागि ?

२०७४ चैत ७ बुधबार ०९:४१:०० मा प्रकाशित

राजा विक्रमादित्यले एकपल्ट कालिदाससँग भने, ‘तिमी विश्वका महान् साहित्यकार र बुद्धिजीवीमध्येमै सर्वश्रेष्ठ मानिन्छौ । तर, त्यसअनुरूप तिम्रो रूप, शरीर कालो र कुरुप छ ।’ यो सुनेर कालिदास त्यतिबेला केही बोलेनन् । एक दिन राजा विक्रमादित्यलाई ज्यादै तिर्खा लाग्यो । कालिदासले राजाका लागि माटो र सुनको दुईवटा भाँडामा पानी ल्याएर भने, ‘महाराज ! यी दुई भाँडामध्ये कुन भाँडाको पानी पिउन चाहनुहुन्छ ?’ राजाले भने, ‘माटाकै भाँडाको पानी शीतल छ । त्यसैले म त्यही पिउन चाहन्छु ।’ मौका यही हो भन्ठानेर कालिदासले पालाको पैंचो तिरे– ‘महाराज, जसरी शीतलता भाँडाको सौन्दर्यमाथि निर्भर गर्दैन, त्यसरी नै बुद्धि र हार्दिकता पनि शरीरको सौन्दर्यमाथि निर्भर गर्दैन ।’ 

भनिन्छ, मानिसका १८ किसिमका परीक्षा हुन्छन् । १७ वटा परीक्षामा सर्वोत्कृष्ट ठहरिएको मानिस १८औं परीक्षामा चिप्लिन सक्छ । त्यो हो– द्रव्यमोह । अबको पेचिलो प्रश्न उही हो– अब हामी माडका लागि लड्ने कि जाँडका लागि ? ‘निरंकुश’ भनिने पञ्चायती व्यवस्थाले बिपीलाई उपचार गर्न सरकारी खर्चमा अमेरिका पठाएको थियो । गिरिजाप्रसाद कोइरालाकी पत्नी सुष्मा कोइराला स्टोभबाट शरीरमा सल्किएको आगोले घाइते हुँदा पञ्चायतका जल्दाबल्दा प्रधानमन्त्री सूर्यबहादुर थापाले अबगाल खेपेरै भए पनि हेलिकोप्टरबाट विराटनगर ओखती पठाएका थिए । बिपीसँग राजाको मनमुटाव भएको भेउ पाएका पञ्चायती चण्डमुण्डले प्रज्ञा प्रतिष्ठानमा साहित्यकारको लहरबाट बिपीको फोटो लुकाउँदा उल्टो हुर्मत लिएका राजा महेन्द्रले बिपीको फोटो राख्न लगाएर राजनीतिक उच्चताको परिचय दिए ।

एउटै पार्टीका बिपी–सुवर्णशम्शेर बाँचुन्जेल धेरै विषयमा मतमतान्तर राख्थे तर निर्णायक घडीमा त्यागका लागि हानथाप चल्थ्यो । प्रजातन्त्रका लागि प्रवास जाने बिपीको निर्णयलाई आफ्नै धर्ती नछाडेर किसुनजीले अवज्ञा गरे । तर, जीवनको उत्तराद्र्धमा तिनै असहमत कृष्णप्रसादलाई बिपीले पार्टीको साँचो सुम्पिए । बिपीप्रति अगाध स्नेह राख्ने गणेशमानका लागि प्रधानमन्त्रीको इतिहासभन्दा कृष्णप्रसादप्रतिको विश्वास भरपर्दो भएरै त प्रधानमन्त्री पद लोभै नगरी हस्तान्तरण गरिदिए । 

लोकतन्त्र र सुशासन एकअर्काका पर्यायवाची शब्द हुन् । साँचो लोकतन्त्रमा कसैको मानमर्दन हुँदैन । सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो । हाम्रो समाजमा अब विकास त धेरै टाढा भयो, नागरिक शिक्षाको अभियान वाञ्छनीय बन्दै गएको छ । नयाँ पुस्ता समाजका लागि नभएर सूचना प्रविधि चलाउने रोबर्ट मात्र भए । मान, मर्यादा, नैतिकता मान्छेका नभएर निर्धो र लाचारका आभूषण भएका छन् ।

धनीले सम्पत्ति त ओगटेको छ तर चुलोको खर्चलाई उसकै कुकुरको दानापानी खर्चले उछिनेको छ । गरिबलाई त धनीको मिसकल आउला तर धनीलाई आउने यमराजको मिसकलबाट जोगिन उसले गरेको भगीरथ प्रयास अब विडम्बनापूर्ण बन्दै गएको छ । शरीरमा रोगले राष्ट्रिय सहमति गरेपछि मर्निङवाकका नाममा निस्कने अधिकांश धनी सुपरमार्केटबाट आपूmलाई भन्दा टमीहरूलाई महँगा खानेकुरा किन्छन् । थुक निल्दै चिल्ला, गुलिया र मीठा खानेकुरा टमीलाई ख्वाउँछन् । त्यसपछि ‘सुगर फ्री’ नामको मैदाको पाप्रो चपाएर ‘ब्रेकफास्ट’ कोर्स पूरा गर्छन् । काखमा टमीलाई लिएर परदेशमा रहेका नातिनातिनासँग भिडियो च्याट गर्नु उनीहरूको दैनिकी बन्दै छ । छोराछोरी, नातिनातिना त छन् तर खलै उठेर युरोप, अमेरिका भासिएका छन् । घरमा विपत्ति प¥यो भने परिवारका कसैको भर छैन । हजुरबालाई आईसीयूमा राखेको खबर विदेशमा रहेको नातिले पायो भने फेसबुकमा दुःख प्रकट गरेर आफ्नो कर्तव्य निभाउँछ । हो, त्यसैले त फेसबुके नातिभन्दा त्यस्ता धनीलाई आफ्नै टमीहरूको भर हुन थालेको छ । कम्तीमा यसले स्वामीभक्ति त छाड्दैन ।

गाउँको च्याँख्ला र ढिंडोबाट जोगिन सहर छिरेका यिनीहरूको दुःख सिंहदरबारजत्रो घर र सहरका खाल्डाखुल्डी थाहा नहुने खालका विलासी गाडीमा चढ्दा पनि दुःखको पहाड उन्नाइस नभएर एक्काइसमा उक्लेको छ । प्रारब्धले चुचे ढुंगो उही टुंगोमा पु¥याएको छ । पुँडे गोरुले चोक्करमा नरुचाउने पिठोले पकाएको रोटी ‘अर्गानिक’ का नाममा फुर्ती लाउँदै निल्नु धेरै सुकिलामुकिला अनाम पात्रहरूका लागि आफैंलाई चित्त बुझाउने मेलो भएको छ । अरू त अरू तीन करोड जनसंख्यामध्ये राजा हुन पाउने अभूतपूर्व संयोग बोकेका राजा ज्ञानेन्द्र त सडकमा आए भने रंग पोतेर बाघको अभिनयमा बाँचेका बिरालाहरूको घमण्ड नटिक्ने पक्का छ । उनीहरूले बुझे हुन्छ– ‘बाघ नभए ठाउँमा वनबिरालाको चुरीफुरी त हुन्छ तर त्यो क्षणिक मात्र ।’ गफमा धनीले उछिने पनि खुवाइको पासा भने गरिबको भागमा पल्टिन्छ । साँचो जिब्रोको स्वाद उसले लिन्छ । त्यसैले त ऊ सधैं भुटेको र तारेको स्वादमा रमाउँछ । यसको मूल कारण हो– उसभित्रको भोकले भोजनमा अलौकिक स्वाद उत्पन्न गरिदिन्छ । खाए मकै नखाए भोकैको अवस्था अब गरिब हैन, धनीका पुर्पुरामा लेखिन थालेको छ ।

सबैको आकर्षण बनेको सिंहदरबारले राम्रा र चिल्ला कागजमा पौडी खेल्न त सिकायो तर अभ्यासमा एक गिलास भरलाग्दो स्वस्थ पानी जनतालाई दिन सकेन । कर्म नराम्रो छ भने भाग्य पनि रुन्छ । अरू त अरू मान्छेका इन्द्रीय नै स्वार्थी छन् । अन्धकार भएपछि आँखैले धोका दिन्छ, देखिँदैन । दिन ढलेपछि छायाले छाड्छ । जीवन एउटा वाक्य हो । जवानी डिक हो भने वृद्ध कमा, अनि मृत्यु फुलस्टप । हाँसेर गरेको पापको सजाय रोएर भोग्नुपर्छ । जो कसैका कुरा सुन्दैन त्यो पनि असफल, जो सबैका कुरा सुन्छ त्यो पनि असफल । भ्रष्टाचारले देश आक्रान्त भएपछि भारत स्वतन्त्रतापछिका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू इन्जिनियरहरूको भेलामा डाँको छाडेर रोएका थिए । उनको आग्रह थियो, ‘कमसेकम ५० प्रतिशत खाएरै भए पनि राम्रो काम गरिदिनुस् ।’

अब भ्रष्टाचार ओपन सेक्रेट भएको स्विकार्ने हो भने हामीलाई पनि स्विकार्न के आपत्ति ? जनताको व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको राजनीति गर्नेले न पढ्नुपर्ने, न लोकसेवा लड्नुपर्ने, न कुनै दायित्वबोध गर्नुपर्ने † बस्, गरिदिए पुग्ने जागिर बनेको छ । यसअघिका परिवर्तनले केही औंठा छापेलाई हैसियत दिँदा त्यो राजनीतिमा खोट देखाएर गणतन्त्रको यात्रा तय गरिएको थियो । तर, अहिले त झन् गाउँका नामी कुखुरा चोर, भट्टीका दिग्विजयी ट्वाँके, हुल्याहा, बताहाहरू देश चलाउने हैसियत राखेर बसेका छन् । एक दशक यो देशमा मान्छे मार्ने खेती चल्यो । मन्दिरका गजुरदेखि पुजारीका शिरसम्म उडाइए । पानी र रगतको भेद छुट्टिएन । कुट्ने, काट्ने, रेट्ने, मार्ने, चोर्नेजस्ता कर्मलाई संस्थागत बनाउने प्रयास भए । यी सबै कुकर्मबीच पनि नेपाली समाजभित्रको आत्मीय चुरो हल्लिएन ।

छिमेकी भनेको सहयोगी हैन, शत्रु हो भन्ने तालिवानी भूत नेपाली मानसिकतामा पार्न अतिशय प्रयास भयो । तर, हजारौं वर्षदेखि जीविकासँग जोडिएको घाँस दाउरा, अन्नपानीको ऐंचोपैंचो र पर्मको अभ्यासले एकले अर्कालाई अड्याउने जेरी संस्कृतिको प्रतापले त्यस्तो कठिन परिस्थिति पछि पनि समाज रंगहीन, ढंगहीन हुनबाट बच्यो । थिचिएका आस्था र सद्भाव शान्तिको पारिलो घाम पाउनेबित्तिकै हलक्क मौलाए । जनताले थिति ठेगान छोडेनन् भने नेताको चुरीफुरी बत्तीमा घुमेको पुतलीभन्दा पर हुनै सक्दैन भन्ने तथ्यको परिणाम हो यो । 

संसारमा सर्वमान्य सिद्धान्त जन्माउने त्यस्तो सत्पात्र आजसम्म जन्मिएको छैन । न त देवता खोज्न जाने कुनै भक्तले देउता भेटेर ल्याएको उदाहरण छ । बरु देउताको अस्तित्व खोज्न जानेहरू आफैं देउतासरह पूज्य बनेका उदाहरण छन् । मृत्यु र दुःखको कारण खोज्न निस्किएका राजकुमार सिद्धार्थ गौतम बनेर फर्किए । एउटा सामान्य कार्पेन्टरको सन्तानलाई यस्तै जिज्ञासाले क्राइस्ट बनायो । संसारको हरेक शास्त्रको एउटै सूत्र हो– बहुजन हिताय, बहुजन सुखाय । मानिसलाई धर्म र वादका नाममा विभक्त त मानिसले गरेको हो । जाडोमा हरेक वाद र धर्मका मानिसलाई न्यानो लुगा र तातो घाम प्यारो हुन्छ । हो, घामको ताप र लुगाको न्यानोचाहिँ धर्म हो । हामीले कोरेको भनेको सम्प्रदायको लक्ष्मणरेखा हो । सदाचारीमाथि व्यभिचारीको शासन अन्त्यका लागि भएको यो राजनीतिक परिवर्तन पनि अन्ततः नयाँ भाँडोमा पुरानो रक्सीकै छनक दिने परिघटना हुन पुगेको छ । पहिला एउटालाई पूmलपाती चढाए हुनेमा अहिले त चढाउँदा चढाउँदा रुखको पात के जराले पनि नभ्याउने अवस्था छ । टोले, झोले, कुण्डले, मण्डलेका डन बनेर दलका मुखियाले राणाशासनकालका पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी कमाण्डिङ जर्नेलहरूको झल्को दिने काम गर्दै आएका छन् । 

अहिले हामीसँग खुला आकाश छ, खुला धर्ती छ अझ भनौं सर्वत्र खुला वातावरण छ । सार्वभौमसत्ता जनतामा निहित छ । यी सबै भएर पनि यसलाई स्थिर र प्रतिष्ठित बनाउने चेतना, दक्षता र सीपको भने कमी छ । शिक्षाको उज्यालो केही सहरी क्षेत्रमा मात्र सीमित छ । यिनै कारणले खुला आकाश कतै ट्राफिक जाममा परेजस्तो, कतै संकुचित वृत्तभित्र फन्का मारिरहेजस्तो, देशभित्र जनता भए पनि जनताभित्र कतै देश नभएजस्तो अनुभव धेरैलाई भइरहेको छ । हो, परिवर्तन धेरै भएको छ तर भित्र होइन, बाहिर बाहिर, व्यवहारमा नभएर सिद्धान्तमा मात्र । व्यभिचारीले सदाचारीको भावना बुझेको इतिहास संसारमा कतै छैन ।

फलामबाट निस्किएको खियाले फलामको अन्त्य गरेजस्तै मान्छेको मनबाट निस्किएको विचारले मान्छेलाई सिध्याउँछ । पोखरीको डिलमा उभिएर पोखरी फोहोर भयो भनेर फलाक्दैमा फोहोर पोखरी सफा नभएजस्तै देश बिग्रिएको चिन्ता चियाको कपमा पोखेर साम्य हुँदैन । त्यसैले भाग्यवादी हैन, कर्मवादी भएर बाँच्ने संकल्प गरेका दिन सबै समस्या आफैं किनारा लाग्ने पक्का छ । यसका लागि अनेकौं तन्त्रमन्त्रका औंठी भिरेर आपूmलाई भाग्यवादी बनाएका नेताहरूले ती औंठी फुकालेर जनतालाई कर्मवादी भएको विश्वास दिलाउन सक्नुपर्छ । ७ चैतको जनआस्थाबाट ।
 

ताजा खबर