नव वर्षमा दोस्रो चौंरी महोत्सव  

२०७४ चैत ६ मंगलबार १०:५४:०० मा प्रकाशित

पाँचथर,६ चैत । जिल्लाको फालेलुङ गाउँपालिका–४, चाररातेमा १ र २ वैशाखमा दोस्रो चौरी महोत्सव हुने भएको छ । हिमालको शोभाको रुपमा रहेको चौरी पालन ब्यवसायलाई प्रबद्र्धन गर्न दोस्रोपल्ट महोत्सव गर्न लागिएको सोमबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
उत्तरपूर्वी पाँचथरको फालोट क्षेत्रमा गर्न लागिएको महोत्सवमा एकैपल्ट पाँच सय चौरी प्रदर्शन गर्ने तयारी रहेको आयोजक फालेलुङ–कञ्चनजंघा पर्या–पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष डिल्ली केरुङले बताए ।  याक राइड, हर्स रेस, चौरीको दुग्धजन्य पदार्थको प्रदर्शनी तथा बेचबिखन, चौरी गोठालेहरुको प्रतिश्पर्धात्मक गोठाले खेल र साँस्कृतिक कार्यक्रम महोत्सवका मूख्य आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ ।

नेपालका विभिन्न जिल्ला सँगै भारतको सिक्किम–दार्जिलिङ सम्मका दश हजार मानिसले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । भारतको सिंहलीला नेशनल पार्क सँगै जोडिएर रहेको करीब ३२ मिटर उचाईको चारातेमा महोत्सव हुन लागेको हो । फालोट क्षेत्रमा पाइने बहुमूल्य जडिबुटि र जैबिक विविधताको संरक्षणको सन्देश समेत महोत्सवले दिने अध्यक्ष केरुङले बताए ।

उत्तरपूर्वी पाँचथरका कृषहरुले पुस्तौंदेखि गर्दै आएको चौरी पालन व्यवसाय पछिल्लो समय जनशक्तिको अभाव, जंगली जनावरको आतंक जस्ता कारणले संकटमा पर्दै गएको छ । महोत्सवमा चौरी पालन व्यवसायमा देखिएका समस्या र त्यसको व्यवस्थापनका लागि समेत गम्भिर छलफल हुने बताइएको  छ ।
 

ताजा खबर