समृद्ध नेपाल बनाउने संकल्पसाथ इञ्जिनियरको सम्मेलन हुँदै

२०७४ चैत ५ सोमबार १६:२०:०० मा प्रकाशित

काठमाडौं, ५ चैत। नेपाल इञ्जिनियर्स एशोसिएसनले यही चैत्र ७ देखि ९ गतेसम्म ‘समृद्ध संघीय नेपालको लागि इञ्जिनियरिड. ‘भन्ने बिषयमा केन्द्रीत रही ‘१५ औं राष्ट्रिय इञ्जिनियर सम्मेलन’ आयोजना गर्ने भएको छ ।

एशोसिएसनले आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी दिएको हो ।

एशोसिएसनले हरेक दुई बर्षमा यस्तो सम्मेलनको आयोजना गर्दै आएको छ । १५ औं राष्ट्रिय इञ्जिनियर सम्मेलन राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्गमा आयोजना हुनेछ ।

नेपाल इञ्जिनियर्स एशोसिएनका अध्यक्ष ई हरेराम श्रेष्ठले राष्ट्रको पूर्वाधार विकास र जनताको जीवनस्तरको सुधारमा सदा समर्पित रहने सिर्जना र नवनिर्माणका प्रतीक इञ्जिनियरहरुको लागि यो निकै सम्मेलन महत्वपूर्ण अवसर भएको बताए ।

उनका अनुसार यस सम्मेलनमा नेपालका झण्डै २० हजार इञ्जिनियरहरुले अध्ययन, अनुसन्धान, स्थलगत अवलोकन, मूल्यांकन, परीक्षण, अभ्यास र अनुभवका आधारमा पत्ता लगाएका विविध क्षेत्रका महत्वपूर्ण प्रमाणिक र वैज्ञानिक तथ्यहरु समेटेर तयार पारेका कार्यपत्रमाथि छलफल गरी निष्कर्ष निकालिने छ ।

सम्मेलनमा नेपाली जनताको चाहना, राष्ट्रिय आवश्यकता, संसारमा इञ्जिनियरिङ्ग क्षेत्रमा आएका नौला प्रविधिको विकास र विस्तारका साथै नेपालको विकासका जल्दा वल्दा समस्याहरु र तिनका समाधानका सम्बन्धमा विभिन्न विषयगत कार्यपत्रहरु प्रस्तुत गरिनेछ ।

कार्यक्रममा सम्मेलन आयोजक समितिका प्राविधिक समितिका अध्यक्ष ई. चन्द्रिकाप्रसाद भट्टले सम्मेलनमा जलवायु परिवर्तन र वातावरण, प्राकृतिक प्रकोप जोखिम व्यवस्थापन, ऊर्जा (जलविद्युत,सौर्य र वायु), शहरी र ग्रामीण विकास, यातायात र परिवहन, पानी (उपयोग गरी खेर गएको पानी समेत), खनिज—उद्योग र व्यापार, प्राविधिक जनशक्ति व्यवस्थापन, अनुसन्धान र विकास, सूचना—सञ्चार—प्रविधि, सुशासन, पुनर्निर्माण, सिंचाई र जलस्रोत व्यवस्थापन, सार्वजनिक—निजी साझेदारी, सामुदायिक व्यवस्थापन र इञ्जिनियरिड. शिक्षाका सम्बन्धमा कार्यपत्रहरु प्राप्त भएको बताए ।

उनले सम्मेलनमा ती कार्यपत्रहरुको प्रस्तुत गरी विषद् छलफल गरिनेछ र सुझावसहित परिमार्जन गरेर पारित गरिने जानकारी दिए ।

कार्यक्रमलाई थाईलैण्डका पूर्वमन्त्री तथा एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी बैंककका बोर्ड अफ ट्रस्टीजका अध्यक्ष इञ्जिनियर डा. सुविन पियानकले प्रमुख वक्ताको रुपमा संबोधन गर्ने बताइएको छ ।

नेपाल लामो राजनीतिक संक्रमणकालको अन्त्य गरी राजनीतिक स्थायीत्व कायम गर्दै संघीय,प्रादेशिक र स्थानीय तहका जनप्रतिनिधिहरुको नेतृत्वमा जनताको सक्रिय सहभागिता जुटाएर पूर्वाधार निर्माण गर्दै र आर्थिक समृद्धि हासिल गर्ने नयाँ चरणमा प्रवेश गरेको छ ।

समृद्ध नेपालको नाराले इञ्जिनियरहरु उत्साहित

यसै बर्ष सम्पन्न स्थानीय, प्रादेशिक र संघीय संसदको निर्वाचनमा सहभागी सबै राजनीतिक दलहरुले आर्थिक समृद्धि र विकासलाई प्रमुख एजेण्डा बनाएको र निर्वाचन पछि केन्द्र र प्रदेश तहमा गठित सरकारले पनि आर्थिक समृद्धि र विकास मूल लक्ष्य मानेकोले विकासको क्षेत्रमा काम गर्ने इञ्जिनियरहरु अत्यन्त उत्साहित भएको एशोसियसनका अध्यक्ष श्रेष्ठले बताए ।

‘देशले विकासमा काँचुली फेर्न र आर्थिक विकासमा फड्को हान्न लागेको बेला पूर्वाधार विकास तथा नवीनतम्,जनउपयोगी र सही प्रविधिको अनुसन्धान, विकास र विस्तारमा समर्पित इञ्जिनियरहरुको भूमिका सर्वोपरी रहने स्पष्ट छ’ अध्यक्षे श्रेष्ठले भने ।

पत्रकार सम्मेलनमा उपस्थित भएका पूर्व अध्यक्ष ईं किशोर शाक्यले कर्मचारी समायोजनका क्रममा सरकारी सेवामा कार्यरत इञ्जिनियरहरु अपमानित हुुनुपर्ने, आफूभन्दा कनिष्ट प्रशासनिक पदाधिकारीको मातहतमा रहनुपर्ने जस्ता विसंगति सिर्जना भएको बताउदै सम्मेलनका अवसरमा कर्मचारी समायोजनमा देखिएका समस्याको संरचनागत समाधानको बारेमा पनि छलफल गरिने बताए ।

पूर्वाधार विकासको लागि मैदानमा खटिने इञ्जिनियरहरले नेपालका अधिकांश कानून र नियमहरु परिणाममुखी नभएर प्रक्रियामुखी भएको र छिटो छरितो ढंगले विकास गर्न सघाउने प्रकृतिको नभएको बताएका छन् । उनीहरुले सार्वजनिक खरीद ऐन लगायत विकास निर्माणसंग सम्बन्धित ऐन र नियमलाई अझ सामयिक र परिणाममुखी बनाउन पनि माग गरेका छन् ।उनीहरुले विकासलाई गति दिन विकासको काममा मैदानमा खटिएका प्राविधिक इञ्जिनियरहरुलाई सार्वजनिक लेखा समिति, सतर्कता केन्द्र, अख्तियार लगायतका निकायले अनावश्यक दुःख दिने र निर्माणको कार्यलाई अवरुद्ध पार्ने दीर्घरोगबाट मुक्त पार्न उपायका बारेमा सोच्न पनि सरकारलाई आग्रह गरेका छन् ।

‘विकासको निमित्त व्यग्र नेपाली जनताको ताजा जनादेशले बनेको सरकारले इञ्जिनियरहरुलाई प्रोत्साहित गरी अब आरम्भ हुने विकास अभियानको पहिलो पङ्तिमा सक्रिय भएर समर्पित हुने उपयुक्त वातावरण सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौ ‘, एशोसिएसनका अध्यक्ष श्रेष्ठले भनेका छन् ।

यस सम्मेलनका अवसरमा स्वदेशमा नै इञ्जिनियरिड. शिक्षा र इञ्जिनियरिड.का विभिन्न विधामा भएका अनुसन्धान,विकास र विस्तारका उपयोगी प्रविधिहरुको प्रदर्शन पनि हुनेछ ।

सम्मेलनको अवसरमा दक्षिण र मध्य एशियाली राष्ट्रहरुका इञ्जियरि¨ संस्थाहरुको महासंघ, फियस्काको सार्क स्तरीय फियस्का राउण्ड टेबल मिटिड पनि आयोजना हुनेछ ।

पुनर्निर्माणमा खटिन तयार

नयाँ प्रविधिको अनुसन्धान, आविश्कार,विकास र विस्तार सहित पूर्वाधार तथा भौतिक विकासका विषय इञ्जिनियरहरुसंग संबन्धित भएको बताउदै एशोसिएसनले प्राकृतिक प्रकोप तथा विपत्तिको व्यवस्थापनको जिम्मेवारी पनि नेपालका इञ्जिनियरहरुले निर्वाह गर्दै आएको बताएको छ ।

२०७२ सालमा आएको महाभूकम्पले भयानक विनाश निम्त्याएको बेला नेपाल इञ्जिनियर्स एशोसिएसनले “जनतासंग इञ्जिनियर” कार्यक्रम अन्तरगत देशभर ३ हजार ५ सय इञ्जिनियर खटाएर भूकम्पबाट क्षतिग्रस्त निजी, सार्वजनिक र सामुदायिक संरचनाहरुको स्थलगत अवलोकन, सर्वेक्षण, अध्ययन गरी सुरक्षाको वर्गीकरणको संकेत प्रदान गरेर पीडित नेपालीलाई ठूलो राहत पुर्याएको थियो ।

प्राविधिक जनशक्तिको अभावमा सरकार किंकर्तव्यविमूढ बनेको अवस्थामा ६० हजार भन्दाबढी भवनहरुको निरीक्षण प्रतिवेदन प्रस्तुत गरी संकटको बेलामा देश र जनताको सेवा गरेको घटनालाई सगौरव स्मरण गर्दै एशोसिएसनले भूकम्प पछिको पुनर्निर्माणलाई गति दिन पनि आवश्यक सहयोग गर्न नेपाल इञ्जिनियर्स एशोसिएसन तत्पर रहेको जानकारी गराएको छ ।

कार्यक्रममा नेपाल एञ्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकूलपति प्रा.डा. जीवराज पोखरेलले सम्मेलनका अवसरमा नेपालका प्राचीन इञ्जिनियरिड.लाई समेटेर तयार पारिएको स्मारिका विमोचन हुने जानकारी गराएका थिए । ।

सम्मेलनमा स्वदेश तथा विदेशका आमन्त्रित गरी करिब १ हजार जना इञ्जिनियरहरुको सहभागिता रहने बताएको छ ।

ताजा खबर