कर्णाली प्रदेशको राजधानीमा खानेपानीको हाहाकार 

२०७४ चैत ४ आइतबार १५:२७:०० मा प्रकाशित

सुर्खेत, ४ चैत,। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन । 

विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था)ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । वीरेन्द्रनगरवासीले खानेपानीको अभाव हँुदा पुरानै मुहान बुलबुले र चिसापानीको ढुंगेधारामै निर्भर हुनुपरेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन । झुप्राको मुहान सुक्दै गएपछि खरीखोला र बोरी खोलाको मुहानलाई मुख्य वितरण लाममा राखेर आलोपालो प्रणालीबाट उपत्यकामा पानी वितरण गरिएको छ । 

उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने भन्दा अर्को विकल्प नभएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । सुर्खेतमा पानी अभाव हुन नदिन भेरीको पानी तानेर ल्याउनका लागि विस्तृत अध्ययनसमेत पूरा गरिसकिएको छ । पानीको समस्या समाधान गर्न खानेपानीको नयाँ स्रोत थपी नयाँ धारा जडानका लागि आवेदन मागिएकामा पाँच हजारभन्दा बढी फाराम वितरण भएको छ । 

उनका अनुसार यही चैत ७ गतेसम्म धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाउनुपर्नेछ । अहिले आवेदन लिएर आउँदो असारदेखि मात्रै उपभोक्तालाई धारा जडानको काम शुरु गरिने आयोजनाको तयारी छ । आवेदन धेरै परे पनि प्राविधिक हिसाबले दुई हजारभन्दा बढी धारा वितरण गर्नसक्ने अवस्था छैन । 

अघिल्लो वर्ष उपभोक्ताले ९६ घण्टासम्म पानीको पालो कुर्नुपरे पनियस पटक त्यस्तो अवस्था नआउने देवकोटाले बताए “यस वर्ष खडेरी नै परेमा पनि बढीमा ३६ घण्टासम्म पानीको पालो आउने छ”, उनले भने, “सबै काम गतिमा गरे अबको दुई वर्ष्भित्रमा कुनै पनि हालतमा भेरीको पानी उपत्यकामा ल्याइने छ ।” भेरीको पानी उपत्यकामा नल्याएसम्म खानेपानी संकट समाधान गर्न नसकिने उनको  तर्क छ । यस कार्यमा वीरेन्द्रनगर नगरपालिका तथा प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने देवकोटाको भनाइ छ । 

प्रदेशको राजधानी तोकिएर जनसंख्या वृद्धि तथा बसोबासमा वृद्धि हँुदा समेत पनि पुरानो जनसंख्याका लागि व्यवस्था गरिएको एक करोड दश लाख लिटर पानी उपलब्ध छ । यही अवस्थामा सुर्खेतमा अहिले २७ लाख लिटर पानी प्रतिदिन नपुग छ । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेपछि अब दैनिक ४५ लाख लिटर पानी अपुग हुने सुर्खेत उपत्यका खानेपानी संस्था सुर्खेतले जनाएको छ ।     

उपत्यका खानेपानी संस्थाले अहिले १५ हजार ६०० धारा वितरण गरिसकेको छ । दुई हजार २३ धारा वितरण गर्ने प्रक्रिया शुरु गरिएको देवकोटाले बताए । सुर्खेतमा एक सय ४५ लिटर पानी प्रतिसेकेण्ड आवश्यक छ । हाल एक सय ३२ लिटर प्रतिसेकेण्ड पानी उपलब्ध छ । दीपेन्द्र शर्मा । रासस 

ताजा खबर