प्रचण्डलाई दौरा सुरुवालमा देख्ने नेपाली रहर

२०७४ चैत ४ आइतबार १३:५९:०० मा प्रकाशित

पहिचानको नारालाई मलजल राम्ररी गरी हुर्काएका माओवादीले यथार्थमा चाहिं नेपालको पहिचानलाई संकटमा पुर्याएका थिए। जब उनीहरुले बिद्रोह बिसाएर राजनीतिको मूलधारमा प्रबेश गरे। श्राद्ध गराउने पण्डितलाई पिट्ने र संस्कृत पढाउने गूरुलाई विद्यार्थीहरुकै अगाडि यतना दिएर मार्ने बानी परेका माओवादीले राजनीतिको मूलधारमा आएपनि पुराना बानी छाडेनन् र हिन्दू धर्म उनीहरुको पहिलो निशाना बन्यो, ०६३ सालमै । अन्तरिम संविधानमा ‘धर्म निरपेक्षता’ सम्बन्धि प्रावधान घुसाउनमा माओवादी र पश्चिमा संस्थाहरुको सल्लाह मान्ने अन्य पार्टीका केहि बाठाहरुले मुख्य भूमिका खेलेका थिए।

अन्तरिम संसदमा चुनावै नलडि एमाले जत्रै पार्टी बनेको माओवादी जब ०६४ को संविधानसभामा सबैभन्दा ठूलो पार्टी बन्यो, यिनीहरुको दोस्रो निशाना बन्यौ, दौरा सुरुवाल आम नेपालीले लाउने पोशाक । ०६४ मा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किन दौरा सुरुवालप्रति त्यत्रो पूर्बाग्रह राखे भन्ने कुरा अझै पनि धेरैलाई रहस्यमय नै लाग्दछ। पार्टी अध्यक्षले दौरा सुरुवाल नलाएपछि अन्य माओवादी नेताहरुले पनि चलनकै रुपमा लाउन छाडे, यो मौलिक नेपाली पोशाक। ०६४ को संविधानसभामा प्रत्यक्ष तर्फ बहुमत (१२०) सिट जितेको माओवादी ०७० मा आईपूग्दा २६ सिटमा (प्रत्यक्ष तर्फ) झर्यो र यसका पार्टी अध्यक्ष दाहालको लोकप्रियता धेरै नै खस्कियो। उनले दौरा सुरुवाल प्रति देखाएको पूर्बाग्रह पनि पार्टी स्खलनका लागि एउटा जिम्मेवार कारण देखिन्छ। जब नेपालका धेरै गरिवहरुले जोसँग ज्याकेट स्वीटर किन्ने पैसा हुँदैन,उनीहरुले लाउने प्यारो पोशाकलाई सामन्तीको पोशाक भनिदिए पछि नेपालीको मन कुँडिनु अस्वभाविक पनि होइन।

के त दौरा सुरुवाल सामन्तीकै पोशाक होत ? राजा,महाराजाहरुले र मन्त्रीहरुले लाए भन्दैमा यो सामन्ती पोशाक थिएन र होइन पनि। यो त नेपालीहरुको पहिचान थियो। जुनबेला बैदेशीक रोजगारमा जाने चलन थिएन र अधिकत्तर मानिसहरुसँग आज जस्तो ज्याकेट किन्ने नगद हुँुदैनथ्यो। गाउँघरका लोग्ने मानिसले जाडोमा लाउने एउटैमात्र पोशाक थियो दौरा सुरुवाल, कोट, वा ईष्टकोट र टोपी। के लिम्बु , के राई, के तामाङ वा कामी दमाई वा गुरुङ वा बाहुन क्षेत्री सबै जातका नेपालीले दौरा सुरुवाल लाउँथे शहर देखि गाँउसम्म नै। अझै आज दलित भनेर चिनिनेहरु हिजो बिभेदले आज भन्दा धेरै थिचिएका थिए। तर तिनै जातिका सबैजसो पुरुषले दौरा सुरुवाल नै लाउँथे र अरुलाई सिलाई दिन्थे पनि। लिम्बुहरुले धान नाचमा दौरा सुरुवालनै लाउँथे। गुरुङ र मगरहरु पनि उनीहरुको सांस्कृतिक पर्बका बेला दौरा सुरुवालमै सजिन्थे। अनि हाम्रा दलित र सबैको पोशाक कसरी सामन्ती भयो? यो बुझिनसक्नु थियो । कतै पहिचानका नारा उठाएर राष्ट्रिय पहिचान मास्ने गोटीका रुपमा माओवादीहरु संचालित थिए कि भन्ने आशंकालाई माओवादीहरुले दौरा सुरुवाल प्रति देखाएको पूर्वाग्रहलाई थप मलजल गरीरह्यो।

वास्तवमा नेपालमा फोटो खिच्ने चलन सुरुभएदेखि नै मानिसहरुले दौरा सुरुवाल लाएको देखिन्छ। त्यसो त राजाहरुको प्रतिमामा पनि उनीहरुले दौरा सुरुवाल लाएको देखिन्छ। भूपतिन्द्र मल्लले पनि उनका मूर्तीहरुमा दौरा नै लाएको देखिन्छ। सन् १६०० पछि पश्चिमाहरुले खिचेका नेपालका तस्विरहरुमा सबैजसो जनजातिहरुका पुरुष मानिसहरु दौरा धोतीमा देखिन्छन्। पछि धोतीलाई सुरुवालमा परिवर्तन गरियो। त्यसो त कतिपय मानिसहरुले दौरा सुरुवाल लाउने चलन भारतीय मुगल शासकबाट प्रभावित भएको तर्क गर्छन् र यो पोशाक गुप्तकालबाटै चलनमा थियो भन्छन् तर भारतमा मुगलहरु आउनु भन्दा अघि नै नेपालमा दौरा सुरुवालको चलन देखिन्छ, तत्कालिन राजाहरुको लाईफ साईज मूर्तीहरु हेर्दा। फेरि हालैका दशकहरुमा नेपाली शैलीको दौरा सुरुवालको प्रयोग अन्यतिर देखिँदैन, तसर्थ दौरा सुरुवाल नेपालको मौलिक पोशाक हो भन्नेमा सज्जन बिद्धानहरुबीच दुईमत नहोला !

अर्को कुरा दौरा सुरुवाल तयार गर्न विदेशी साधनहरुको प्रयोग हुँदैनथ्यो, शायद अहिले सियो बाहेक। यसलाई हातैले सिएर लाउने मानिसहरु अझै पनि छन् गाँउघरतिर। स्वदेशी कपडामा स्वदेशी सिपको प्रयोग गरी बनाईने दौरासुरुवाल कसरी माओवादी नेताहरुका नजरमा सामन्ती पोशाक बन्यो बुझिनसक्नु छ। हालैका दिनहरुमा दौराका बाहुलामा टाँक हाल्ने चलन आएको छ। यी दुईवटा टाँक बाहेक दौरा सुरुवाल सिउन कपडा बाहेक केहि चाहिन्न।

तर पनि माओवादीहरुलाई यस अर्थमा धन्यवाद दिनुपर्छ कि उनीहरुले दौरा सुरुवाल प्रति देखाएको तथ्यहीन पूर्बाग्रहले आज  नेपालीहरुबीच दौरा सुरुवाल धेरै लोकप्रिय भएको छ फेरि। काठमाडौंमा हुने वैवाहिक समारोहहरु यसको ज्वलन्त उदारहण हुन्। बूढापाकादेखि सासाना केटाहरुसम्मले वैवाहिक समारोहमा दौरा सुरुवाल लाउन थालेका छन् आजकल । पूर्बी तराईमा पनि विवाह समारोहमा बेहुला लगायत अधिकांश पाहुनाले दौरा सुरुवाल लाउने गरेको देखिन्छ अहिले। 

तर अब बिस्तारै माओवादी नेताहरुले पनि नेपालीहरुको दौरा सुरुवाल प्रतिको सम्मानलाई आदर गर्न थालेको देखिन्छ। प्रधानमन्त्री हुँदा माओवादी नेताहरु दाहाल र डा बाबुराम भट्टराईले दौरा सुरुवाल नलाए पनि उपराष्ट्रपति नन्दबहादुर पुनले आफु निर्वाचित भएदेखि नै औपचारिक समारोहमा दौरा सुरुवाल लाउन थाले। उपराष्ट्रपति पुनलाई दौरा सुरुवालमा सजिएको देख्दा धेरै मानिसहरु खुशी भएका थिए। त्यसैगरी आफु संचारमन्त्रीमा नियुक्ति भई शपथ लिँदा माओवादी नेता सुरेन्द्र कार्की(राम कार्की) ले पनि दौरा सुरुवाल लाएका थिए। उपप्रधानमन्त्री हुँदा दौरा सुरुवाल नलाएका माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझी पनि बेला बेलामा  दौरा सुरुवालमा ठाँटिएका देखिन्छन्।

भर्खरै सभामुखमा निर्वाचित भएपछि कृष्ण बहादुर महराले पनि शपथ लिँदा र संसद चलाउँदा दौरा सुरुवाल लगाउन शुरु गरेका छन्। र यसपाली धेरै माओवादी नेताहरुले दौरा सुरुवाल नलाउने परम्परा तोडेको देखियो शुक्रबारको शपथग्रहण समारोहमा। माओवादीबाट शुक्रबार नियुक्त भएका पाँंच पुरुष मन्त्री मध्ये तीनजनाले दौरा सुरुवाल लगाएर शपथ लिए। गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत र जगत विश्वकर्माले दौरा सुरुवाल लगाई पार्टीको गलत परम्परालाई तोडिदिएका छन्। यद्यपी बर्षमान पुन र चक्रपाणि खनालले भने दौरा सुरुवाल लाएनन्। पहिलो लटमा मन्त्री नियुक्त भएका रामबहादुर थापा र मात्रिका यादवले पनि दौरा सुरुवाल लाउने प्रयास गरेरनन्। शपथग्रहण समारोहमा मन्त्री खनालको पोशाक सबैभन्दा असुहाउँदिलो देखियो। अघिल्लो चोटी मन्त्री हुँदा दौरा सुरुवाल नलाएका पोखरेल र बस्नेतले दौरा सुरुवाल लाएर सकारात्मक शुरुवात गरेका छन्। मानिसहरु पक्कैपनि माओवादी नेतालाई दौरा सुरुवालमा देखिँदा खुशी भएका छन् र उनीहरुमा दौरा सुरुवाल विरोधी मत घट्दै गएको देखिन्छ।

प्रधानमन्त्री केपी ओलीले केहि हप्ता अघि नै एमाले सांसदहरुलाई दौरा सुरुवाल र साडी चोलो लाउन निर्देशन दिएका थिए। उनले आफ्नै ठट्यौली पारामा ‘झम झम ईष्टकोट’ होइन पुरुषले दौरा सुरुवाल  र महिलाले सारी चोलो लाउनुपर्ने सुझाएका थिए पार्टी केन्द्रीय कार्यालयको बैठकमा। 
अब एमाले र माओवादी मिसिएर एउटै पार्टी बनेपछि सबैजसो माओवादी मन्त्रीहरुले ओली नेतृत्वको मन्त्री परिषदमा पनि दौरा सुरुवाल लाउने अपेक्षा गरिएको छ। किन कि एकता वार्तामा दौरा सुरुवालबारे कुनै बहस भएको कुरा बाहिर आएको छैन। तर पार्टी एकीकृत भएपछि कथंकदाचित पुष्पकमल दाहाल प्रधानमन्त्री बनिहाले भने उनले के गर्दछन् अहिले भन्न सकिन्न। तर पनि धेरै नेपालीहरुले प्रचण्डलाई दौरा सुरुवालमा देख्न चाहेका छन्।

दौरा सुरुवाल एउटा अद्वितीय पोशाक हो, नेपाली भूमिमा नै परिस्किृत हुँदै आएको यो पोशाक नेपालीको पहिचान पनि हो। यसको विरोध गर्नुको कुनै तुक छैन, बिशेष गरी तिनीहरुले जसले राष्ट्रिय पहिचानका कुरालाई धेरै उचाले। सनातन हिन्दू धर्म नेपालीको अर्को पहिचान हो र यसमा पनि माओवादी नेताहरु सकारात्मक देखिँदैनन्। प्रचण्डले दशंै नमानेको र पुत्र प्रकाशको परम्परागत रुपमा काज किरिया नगरेकामा पनि धेरै नेपालीको चित्त दुखाई रहेको थाहा पाईन्छ। 

तर सत्य केहो भने संसारभरी नै कम्युनिष्ट पार्टीका नेताहरुले क्रिश्चियन धर्म मान्ने र राष्ट्रिय पहिचानका कुराहरुलाई गौण रुपमा लिएको पाईन्छ। भलै कार्लमाक्र्सले धर्मलाई अफिम भने। कम्युनिष्ट नेताहरुको क्रिश्चियन धर्म प्रतिको मोह बुझिनसक्नु छ। र नेपालका माओवादी नेताहरु पनि यसको अपवाद हुन सकेका छैनन्। र चुनाव मार्फत सत्तामा पुग्ने नेपाली कम्युनिष्ट नेताहरुले यी चलनहरुलाई सच्याउनै पर्ने देखिन्छ अब चाहि। 
 

ताजा खबर