राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरी हार्दा पनि तपार्इंले जित्नु भयो, यसका लागि के विलक्षण प्रतिभाको प्रयोग गर्नुभयो ? 

हाम्रो पार्टी राप्रपाले देशभरि हार्यो। मैले जहाँं जिते त्यहाँ गठबन्धन पनि अलग प्रकृतिको थियो।  झापामा राष्ट्रवादी वामपन्थी गठबन्धन बनाएका थियौं। चार निर्वाचन क्षेत्रमा राप्रपाले बामपन्थीहरुलाई सघाएको थियो। म चुनाव लडेको क्षेत्रमा आधार पनि बलियो थियो। तीन गाउँपालिका र एक नगरपालिका रहेको सो क्षेत्रमा दुईवटा गाउँपालिका राप्रपाले जितेको थियो। अन्य गाउँपालिका र नगरपालिकामा पनि हाम्रो उपस्थिति राम्रो छ। आधार पनि राम्रो भएको क्षेत्र हो। अनि गठबन्धनलाई पनि ईमान्दार ब्यवहारमा सबैले उतार्यौ। अरु क्षेत्रमा पनि जितायांै। 

चुनावमा एन्टी कांग्रेस सेन्टीमेन्टलाई समात्नु भएको हो? 

मेरो क्षेत्रका जनताको मनमा एक पटक नेतृत्व परिवर्तन गर्नुपर्छ । यसको जिम्मा राजेन्द्र लिङदेनलाई दिनुपर्छ भन्ने थियो। त्यसमा गठबन्धन लगायतका कुराले पनि काम गर्यो। तर एकपटक राजेन्द्रलाई संसदमा पठाउन जनता नै चाहन्थे।

सरकारलाई विश्वासको मत दिनुभयो, राष्ट्रपतिलाई मतदान गर्नुभयो, तपाईंले त्यहाँंको गठबन्धनलाई हेरेर त्यसो गर्नुभएको हो? 

मुख्य कुरा त मेरो पार्टीको निर्णय नै हो। पार्टीले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्देशन दिएकोले त्यसलाई पालना गरेको हुँ। अर्को हिजो सँगै गठबन्धन गरेका थियौं। त्यो नैतिक कुरा पनि थियो। जनताको मतलाई सम्मान गरेको हो। गएको स्थानीय चुनाव तथा प्रदेश र संघको चुनाव केपी ओलीको पक्षमा हो। जनताको मत ओली प्रधानमन्त्री हुनुपर्छ भन्नेमा हो। हाम्रो एक मतले केहि फरक पर्दैनथ्यो। तर जनताको मतको सम्मानका लागि हामीले ओलीलाई मत दिएका हांै।  ओली प्रति शुभेच्छा सद्भावका लागि त्यो मत दिएका हौं। 

पार्टीले निर्णय गरेपछि त्यसलाई पालना गर्नु एउटा कुरा हो, तर चुनावमा देशभरी कांग्रेससँग गठबन्धन गर्ने अनि संसदमा वामपन्थीलाई भोट हाल्ने? 

अहिलेको जनमत नै केपी ओलीको नेतृत्वमा सरकार बनोस भन्ने हो। प्रजातन्त्रमा विश्वास गर्ने पार्टीले जनताको अभिमतको सम्मान गर्नका लागि उनी नेतृत्वको सरकारलाई  मतदान गरेको हो। ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिन जरुरी थियो। सरकारले राम्रो काम गर्दै गयो भने समर्थन निरन्तर रहन्छ। ठीक बेठीकको आधारमा हामी निर्णय गर्छाें। 

तपाईंको पार्टीको यसभन्दा अघि संसदमा ठूलै उपस्थिति थियो, यो पटक तपार्इं एकजना मात्र संसदमा आउनु भयो, पूर्ब पंचहरुलाई जनताले अस्वीकार गरेका हुन्? 

मलाई त्यस्तो लाग्दैन। म आफंै पूर्ब पञ्च होइन। हाम्रो बिचार सिद्धान्तलाई जनताले अस्विकार गरेको होईन। तर हामीले ठीक ढंगले जनतामा लान सकेनौं । संगठन संरचनालाई बलियो ढंगले तलसम्म पुर्याउन सकेनौं। जनतालाई हामीले बुझाउन नसकेपछि र जनताले नबुझेपनि हामीले यस्तो परिणाम भोग्नु पर्यो। आगामी दिनमा सच्याएर अगाडि बढ्छौं।

राजसंस्था, संघीयता र हिन्दू राष्ट्रका बिषयमा पहिले तपाईंहरु प्रष्ट हुनुहुन्थ्यो, अहिले लक्पकिएर पो यस्तो परिणाम  आएको हो कि ? 

तपार्इंले भनेको कुरा ठीकै हो। यसबारेमा जनतालाई भ्रम भयो। बिपक्षीहरुले राप्रपाले ती मुद्धा छोड्यो भनेर आरोप लगाउँदा हामीले जनताले बुझ्ने गरी खण्डन गर्न सकेनौं। अब हामी त्यो बुझ्नेगरी लैजान्छौ । तपार्इंलाई थाहा छ भारतमा बिजेपीले कुनै बेला २६ सिटबाट घटेर २ सिटमा चित्त बुझाउनु परेको  थियो। अहिले ठूलो पार्टी हुँदै सरकारमा छ। हामी पनि निराश छैनांै, पार्टीलाई बलियो बनाउँछौ। 

एउटा चुनावमा सम्झने अर्कोमा विर्सने पनि हुन्छ? 

हुन्छ। हामीलाई २०७० सालमा जनताले जे आशा गरेर मतदान गरे त्यो पुरा भएन। हाम्रो सरकारमा जाने र आउने कार्यशैलीलाई जनताले मन पराएनन्। तत्कालीन रणनीतिका रुपमा मात्र हामी आउने जाने गरेको भनेर जनतालाई बुझाउन सकेनौं। राप्रपाले हामीलाई पहिला झुक्याएर मत लिएछ भन्ने जनतामा पर्यो। हामीले सरकारमा ओहोर दोहोर गरेको जनताले रुचाएनन्। 

तपाईं त बाहुनवादी लिम्बु हो रे नि? 

०७० सालको चुनावसम्म त्यो कुराले काम गरेको थियो। अब त्यो भ्रम टुटीसक्यो। अहिले राजेन्द्र लिङ्देन सबैलाई लिएर हिंड्न सक्ने मान्छे हो भनेर बुझिसके। 

जातीय राज्यको बिपक्षमा हो तपाईं? 

म पहिला देखिनै जातीय राज्यको बिपक्षमा हो। अहिले र भोलि पनि म त्यसको बिपक्षमानै हुने छु। तर नेपाल बहुभाषिक, बहुधार्मिक बहसांस्कृति देश भएकोले कुनै एउटा जाती बिशेषको कुरा हुन सक्दैन। यो संविधानले स्वीकार गरेको छ। यी सबैको सरंक्षण र सम्बर्धन कुनै जाती बिशेषले होईन राज्यले गर्नुपर्छ।

धर्म निरपेक्षता स्वीकार गर्नुभएको हो? 

होइन। पूर्ण स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको मुद्धालाई छोडेका छैनौं। यो छोड्नका लागि लिएको मुद्धा होईन। राष्ट्रिय पहिचानका रुपमा रहेको हिन्दू राष्ट्र हाम्रो राष्ट्रिय आवश्यकता हो। 

प्रधानमन्त्री ओलीसँग तपाईंको निकै उठबस चलेको  छ रे? एमालेतिर आकर्षित हुनु भएको हो कि? 

चुनावभरी मलाई उहाँंको आवश्यकता थियो। उहाँंलाई पनि मेरो आवश्यकता थियो। अहिले सदनमा एकै ठाउँमा छांै। म मेरो पार्टीको जिम्मेवार पदाधिकारी पनि हुँं। त्यसैले विभिन्न सन्दर्भहरुमा उठबस भईरहन्छ। राष्ट्रिय राजनीतिमा पनि सल्लाह सुझाव र आवश्यकता अनुसार पनि परामर्श भईरन्छन्। म अर्को पार्टीमा जाने चर्चा मात्रै पनि त्यो अत्यन्तै भ्रमपूर्ण कुरा हो।

ओलीको नेतृत्व प्रति कति आशावादी हुनुहुन्छ? 

म सधैं सकारात्मक सोच्ने मानिस हूँ। पछिल्ला दिनमा केपी ओलीले जुन समर्थन बटुल्ने प्रयत्न गर्नुभयो त्यसलाई नकारात्मक रुपमा लिनु हँुदैन। मान्छेले अनेक नकारात्मक टिप्पणी गर्छन् केपी ओली तानाशाह बन्ने कल्पना गरिरहेको छन् कि भनेर। म त्यस्तो हिसाबले सोच्दिन। मैले उहाँंसँग ब्यक्तिगत भेटघाटका क्रममा देशमा केहि गरांै भन्ने सोच भएको नेताका रुपमा लिएको छु। 
 

ताजा खबर