निर्मलालाई यसरी ‘ढुंगा खोज्दा देउता मिल्यो’

२०७४ फाल्गुण २९ मंगलबार १६:५५:०० मा प्रकाशित

म सानैदेखि निडर स्वभावकी थिएँ । घरमा धार्मिक र आध्यात्मिक वातावरण अलि बढी नै थियो । त्यही कारणले पूजापाठ, कर्मकाण्डका मेरो धेरै विश्वास थियो । पाँच वर्षअघि एकदिन मेरो बालसखा अम्बिका श्रेष्ठले भन्नुभयो, ‘तपाईं धार्मिक, आध्यात्मिक स्वभावकी हुनुहुन्छ । तपाईंको स्वभावसँग मिल्ने जीवन विज्ञान नाम गरेको संस्था छ । त्यसमा आबद्ध हुनुस्, अध्यात्ममा धेरै प्रगति गर्न  सक्नुहुन्छ ।’

 
सखी अम्बिकाले जीवन विज्ञानको बारेमा जानकारी दिँदै यसको दैलोसम्म ल्याइदिनुभएको थियो । ‘ढुंगा खोज्दा देउता मिल्यो’ भन्ने उखान मेरो जीवनमा चरितार्थ नै भयो ।

 
जीवन विज्ञानको दैलोभित्र दुईजना ईश्वर हुनुहुँदोरहेछ, जसले मलाई असीमित ज्ञान दिनुभयो, जसको परिणतिस्वरुप आजकाल दिनमा १८ घण्टासम्म काममा खटिँदा पनि मलाई थकाइ लाग्दैन ।

 
पहिले म धार्मिक थिएँ । पूजापाठमा बढी विश्वास राख्थेँ । बाहिरी संसारमा ईश्वर खोजी हिँड्थें । कस्तूरी बिनाको खोजीमा भौतारिएर हिँडेझैं ईश्वरको खोजीमा हिँड्थेँ । जीवन विज्ञान आएपछि भने मैले आफूभित्रै ईश्वर खोज्ने र चिन्ने मौका पाएँ ।

 
जीवन विज्ञानमा हुने अत्यन्तै महत्वपूर्ण कार्यक्रममध्येको एक बोधविज्ञानमा जतिपटक बस्दा पनि म अघाउँदिनँ । जीवन विज्ञान आएको वर्ष दिनपछि नै बोधविज्ञानको साधनाले पहिलेको ‘म’–को पूरै अन्त्य भएर ‘नयाँ निर्मला’को जन्म लिएकी छु । अहिले म भागवत गीताले भनेको ‘द्विज’ बन्न पुगेकी छु, जुन मलाई बोधविज्ञानले बनाएको हो ।

 
पहिले स–साना घटनाहरुले पनि मनमा तनाव दिइरहन्थे । तर, बोधविज्ञान लिएपछि समुद्रको बीचमा उभिएको चट्टानजस्ती बनेकी छु । आँधीबेहरी, सुनामी र असंख्य ज्वारभाटाहरुले धक्का दिऊन्, समुद्री जहाजहरु नै आएर ठोक्किऊन्– बरु तिनीहरु आफैं फुटेर जान्छन्, चट्टान हल्लिँदैन । बोधविज्ञानमा बसेपछि म ठीक उस्तै समुद्री चट्टान बनेर निस्किएकी छु । मलाई जतिसुकै सुनामीले धक्का देओस्, अन्ततः ऊ नै आफैं फिक्का भएर जान्छ । म हल्लिन्नँ ।

 
यसरी बोधविज्ञानले मलाई आत्मबल, आत्मविश्वास र सहनशीलता दियो । यति भएपछि मानव जीवनलाई पुग्दो रहेछ ।
‘ज्ञान विज्ञानको हात जोड्नुपर्दछ कर्ममा’– भनेर नाट्यसम्राट् समले भनेझैं अघि बढिरहेकी छु । गुरुदेवहरुको कृपाले अध्यात्ममा अघि बढिरहेकी छु भने स्टान्डर्ड चार्टर्ड बैंकको अपरेशन म्यानेजर रहेर कर्म पनि गरिरहेकी छु । ईश्वर खोज्न देश दुनियाँ भौतारिएर हुँदैन, अध्यात्मलाई नछोडिकन कर्ममै पूजा गरे ईश्वर भेटिँदो रहेछ । आफैंभित्र ईश्वर भेटेकी छु ।

 
गृहस्थ जीवनबाटै सम्बोधिमा पुग्नुभएका एलपी भानु शर्मा र रमेश नेपाल दुवै गुरुदेवले सकारात्मक सोचभित्र ईश्वर र आन्तरिक प्रकाश खोज्न प्रेरणा दिनुभएको छ । आफूभित्र पूर्णिमाको टहटह जूनको आभास गर्ने तहसम्म पुगिनसके पनि अहिलेसम्म अनुभूत गरेको जूनकीरीको पिलपिलीबाटै मेरो जीवन धन्य भइसकेको छ । साधनाका सात समुद्रपार गर्न बाँकी नै छ– साधक नै छु र पुग्ने प्रयत्नमा निरन्तर लागिरहेकी छु ।

 
जस्तो– समुद्रभित्र असीमित खजाना छ, हामीभित्र पनि उस्तै असीमित खजाना हुँदोरहेछ । समुद्रभित्र रहेका खजाना निकाल्न जसरी औजारहरु चाहिन्छन्, हामीभित्र दबेर रहेका खजाना निकाल्न पनि साधन चाहिन्छ । जीवन विज्ञान एउटा साधन हो । गुरुकृपा बिना ती खजाना निकाल्न सकिँदैन ।

 
मभित्र रहेका असीमित खजानामध्ये हल्काफुल्का खजाना निस्किँदा मात्रै पनि मेरो जीवन सार्थक भइसकेको छ ।
साधनापछि म वाग्मती सफाइको अभियन्ता बनेकी छु, निर्धक्कसँग उद्घोषण गर्न सक्ने भएकी छु, राम्रो फोटोग्राफर बनेकी छु, भूकम्पपछिका कठिन दिनमा निकै जोखिम मोलेर पीडितहरुको उद्धार र राहतमा दिन बिताएकी थिएँ । गोडा मर्किएर बैशाखीको सहारामा हिँडिरहेका बेला जीवन विज्ञानको प्रशिक्षकको तालिम लिएर प्रशिक्षकबीचकै संयोजक बनेर दैनिक सेवा गरिरहेकी छु । भूकम्पपछि ६ महिनासम्म टुँडिखेलमा केन्द्र सञ्चालन गरेकी थिएँ भने त्यसपछि वनस्थलीमा केन्द्र सञ्चालन गरें । हाल साउथ वेस्टर्न स्टेट कलेज, वसुन्धरामा केन्द्र सञ्चालन गरेर सेवारत छु । साथै, अरु विभिन्न ठाउँमा पनि जीवन विज्ञानका केन्द्रहरु विस्तार गर्ने अभियानमा लागिपरेकी छु ।

 
मलाई सानैदेखि मदर टेरेसाजस्तै समाजसेवी बन्ने इच्छा थियो । जीवन विज्ञानले राम्रो समाजसेवी बन्न सिकायो । एक साधारण परिवारमा हुर्किएकी चेली पहिले - म घरायसी काम र कार्यालय आवतजावतमै मात्र सीमित थिए । जुनसुकै काममा समस्यै–समस्या र तनावै–तनाव मात्र लिन्थे । स - सानो समस्यालाई पनि पहाडै सम्झन्थें । तर, अहिले म जस्तोसुकै विघ्नवाधालाई पनि समस्यै  ठान्दिनँ । विपद् आइलागे होसपूर्वक त्यसलाई निवारण गर्छु । संकटका बेला संयम गुमाउन हुँदो रहेनछ । साधनाले ‘चेतना’लाई थाक्न दिँदो रहेनछ । त्यसैले अहिले जस्तोसुकै समस्यालाई पनि फूलको थुँगा जस्तै फुरुङ्ग भएर समाधान गर्छु ।

 
जीवन अनुपम सौन्दर्यले आच्छादित रहेछ । यस्तो अनुपम सौन्दर्य मैले जीवन विज्ञानबाट पाएँ । दुवै गुरुदेवको यति धेरै वात्सल्यता पाएँ, यति धेरै प्रेम पाएँ कि साधनाका हरेक कार्यक्रम गुरुदेवहरुले मेरै लागि राखेको जस्तो अनुभूति हुन थाल्यो ।

 
गुरुदेवहरुले मलाई ‘द्विज’ बनाउनुभएको छ, नयाँ निर्मलाको रुपमा जन्माउनुभएको छ । पुरानो ‘म’ पूरै नाश भएकी छु । म, मेरो र आफ्नो वरिपरिका लागि वा आफ्नो स्वार्थको लागि मात्रै काम गर्ने निर्मला मरेर सर्वकल्याणका लागि काम गर्ने निर्मलाका रुपमा पुनर्जन्म लिएकी छ । गुरुदेवहरुको यो ऋण म सात जुनीसम्ममा पनि तिर्न सक्छु जस्तो लाग्दैन । त्यसैले म दुवै गुरुदेवप्रति सदा धन्यवादभावले नत छु । त्यस्तै, जीवन विज्ञानको दैलोमा पु¥याइदिने सखी अम्बिकालाई धन्यवाद  । 

 (जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक संयोजक निर्मला केसीसँग सरल पत्रिकाले गरेको कुराकानीको सार-आर्काइभबाट) 
 

ताजा खबर