काबेली करिडोरको म्याद अब नथपिने

२०७४ फाल्गुण २५ शुक्रबार १५:३३:०० मा प्रकाशित

पाँचथर, २५ फागुन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १ सय ३२ केबिए विद्युत प्रशारण लाईन काबेली करिडोर निर्माणको म्याद अब नथपिने बताएका छन् । 

करिडोरको काममा आएका समस्याबारे बुझ्न फिल्डमा निस्किएका घिसिङले शुक्रबार फिदिममा पत्रकारहरुसँग कुराकानी गर्दै आयोजनालाई दोस्रोपटक थपिएको समयभित्रै काम सिध्याउन भनेको बताए । निर्माण कम्पनिले समयमै काम नगरेकाले धेरै समस्या आएको घिसिङको भनाई   छ । उनले भने– ‘यसपल्ट पनि समयमा काम सम्पन्न नभए त्यसको जिम्मा आयोजनाले लिनुपर्छ ।’ 

कार्यकारी निर्देशक घिसिङ सहितको टोलि करिडोरका खास समस्या बुझ्न फिल्डमा निस्केको बताईएको छ । सो क्रममा घिसिङले पाँचथरका बिषयगत कार्यालयका प्रमुख, जनप्रतिनिधि र सरोकारवालासँग करिडोरका समस्याबारे कुराकानी गरेका छन् । अब खास ठूला समस्या नदेखिएको र करिडोरको निर्माण कार्य चाँडै सक्नुपर्छ भन्नेमा सबै सकारात्मक रहेको पाइएको घिसिङले बताए ।

सोही अवसरमा पत्रकारहरुसँग कुराकानी गर्दै घिसिङले इलाम, पाँचथर र ताप्लेजुङका ३७ साबिकका गाविसलाई बिद्युतको पहुँचमा जोड्न ग्रामीण विद्युतीकरणका लागि एक अर्ब २० करोड रकम बिनियोजन गरिएको बताए । त्यस्तै राष्ट्रिय गौरवको तमोर जलाशयुक्त जलबिद्युत आयोजनाको लागि आफूले गर्नुपर्ने काम सबै गरिरहेको बताए । 

घिसिङले करिडोरको फिदिम–४, थापाटार स्थित सवस्टेशन र निर्माणको अन्तिम चरणमा रहेको तल्ले हेंवा जलविद्युत आयोजनाको अवलोकन गरेका छन् ।

काम सकिने अवस्था नाजुक 

  दोस्रोपल्ट थपिएको समयसिमाभित्रै करिडोरको काम सम्पन्न हुने अवस्था भने नाजुक रहेको छ । दोस्रोपल्ट थपिएको म्याद १० बैशाख २०७५ मा सकिंदैछ । तर आयोजनाको काममा ८० प्रतिशत मात्र प्रगति देखिएको छ । प्रशारण लाइन अन्तर्गत इलामको सिद्धिथुम्का र चमैतामा स्थानीयले अवरोध गरेका छन् । फिदिमको जोरसालमा उत्पन्न बिवाद लामो समय पछि सुल्झिएको छ ।

मेची पहाडमा उत्पादित विद्युतलाई केन्द्रीय प्रशारण लाइनमा जोड्न आर्थिक बर्ष २०६६-६७ देखि करिडोरको निर्माण कार्य थालिएको थियो । जसको ठेक्का एक अर्ब ३० करोडमा जस्वार एण्ड एस्टर नामक भारतीय कम्पनिले लिएको हो । करिडोरको काम आर्थिक बर्ष २०७१-७२ भित्र सम्पन्न गर्ने गरी सुरु गरिएको थियो । प्रशारण लाइनको विभिन्न स्थानमा भएका अवरोधका कारण आयोजनाको काम समयमै सम्पन्न गर्न नसकिएको आयोजनाले जनाउँदै आएको छ । 

प्रशारण लाइनको इलामको सोयाकदेखि पाँचथरको अमरपुर सम्म एक सय ३४ वटा टावर जडान गर्नुपर्नेछ । जसमध्ये टावर राख्ने फाउन्डेशनको काम भए पनि धेरै ठाउँमा टावर जडान नभएको पाइएको छ । निर्माण कम्पनिले पर्याप्त जनशक्ति खटाउँन नसकेको र काममा सुस्तता देखाएको सरोकारवालाको आरोप छ ।

करिडोरको निर्माण कार्य ढिलाईले सम्पन्न हुन लागेका मेची पहाडका जलबिद्युत आयोजनाहरुले घाटा सहनुपर्ने भएको छ । करिडोरको काम समयमै सम्पन्न नहुँदा हेंवा ‘ए’ बाट उत्पादित बिद्युत ३३ केबिए प्रशारण लाइन मार्फत केन्द्रीय प्रशारणमा जोडिएको छ । १५ मेगावाट क्षमताको उक्त आयोजनाको ६ मेगावाट अहिले केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो ।

२५ मेगावाट क्षमताको काबेली ‘बी’ वान र १० मेगावाट क्षमताको इवाखोला जलबिद्युत आयोजना बिद्युत उत्पादनको चरणमा पुग्न लागेका छन् । तर करिडोरको काम भने दोस्रोपल्ट थपिएको म्याद सकिन डेढ महिना बाँकी छँदा पनि कहिले सकिने भन्ने नै यकिन छैन ।

ताजा खबर