सडक स्तरोन्नती थालियो

२०७४ फाल्गुण २३ बुधबार १४:१९:०० मा प्रकाशित

बाबियाचौर, २३ फागुन । सदरमुकाम बेनी बजारसँगै जोडिए पनि यातायात सेवाबाट वञ्चित बेनी नगरपालिका–२ ज्यामरुककोटका विभिन्न सडक स्तरोन्नती गर्ने काम थालिएको छ । 

ज्यामरुककोटका विभिन्न वस्तीलाई जोड्ने सडकमा यातायातका साधन सञ्चालन गर्न वडा र नगरपालिका कार्यालयले स्तरोन्नतीको काम शुरु गरेका हुन् । चालु आवमा रु ४३ लाखको लागतमा सातवटा सडकको स्तरोन्नती शुरु गरेको वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए । 

सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली बनाउने, ग्राभेल गर्ने लगायत काम गरिने उहाँले बताए । रु २० लाख विनियोजन गरिएको खबरा–भीरकुना–कन्थारथान–भकुण्डे सडकको काम उपभोक्ता समिति गठन गरेर भइरहेको छ । 

यस्तै, रु पाँच लाखमा बाङगेरा–पिपलडाँडा–भकुण्डे सडक फराकिलो बनाउने काम अन्तिमचरणमा पुगेको छ । उक्त सडकमा सोलिङ र नाली बनाउने काम बाँकी छ । कोटखोला–उपल्लोफाँट–बालथारा हुँदै मरुवा सडक फराकिलो बनाउने काम सकिएको छ । 

यसैगरी, रु पाँच लाख विनियोजन भएको दारीम्बोट क्षेत्रमा सडक विस्तारसँगै सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा कार्यालय रहेको भकुण्डे–काउनाखर्क–गौश्वारा सडक अन्तर्गत ४०० मिटर ट्र्याक खोल्ने र स्तरोन्नती गर्न रु पाँच लाख विनियोजन गरिएको वडाध्यक्ष थापाले बताए । बिमीराबोट–मालीका सडक फराकिलो बनाउन तथा ठूलोगैरा–बिरायचौर सडकलाई रु डेढ÷डेढ लाख विनियोजन गरिएको छ । रासस

ताजा खबर