बहिरा विद्यार्थी  ‘बुट्टेनली’ सिक्दै 

२०७४ फाल्गुण २३ बुधबार १३:०२:०० मा प्रकाशित

बागलुङ, २३ फागुन । बहिरा विद्यार्थीलाई सीपयुक्त बनाउन यहाँ  ‘बुट्टेनली हस्तकला तालिम’ शुरु भएको छ । 

उद्योग वाणिज्य संघ बागलुङले सञ्चालन गरेको तालिममा धौलागिरि आवासीय बहिरा माविका २१ विद्यार्थी सहभागी छन् । बागलुङको पहिचानका रुपमा चिनिने बुट्टेनली बनाउने सीप विकासका लागि तालीम सञ्चालन गरिएको संघका अध्यक्ष जयराम भारीले बताए । तालिममा व्यापार तथा निकासी प्रवदर््न केन्द्र पुल्चोक, ललितपुरको समेत सहयोग रहेको छ । 

तालिमको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले लोप हुने अवस्थामा पुगेको बुट्टेनलीको संरक्षणमा सहयोग पुग्ने बताए 

“हाम्रो पहिचान र संस्कृतिसँग जोडिएको बुट्टेनली नयाँ पुस्तामा हस्तान्तरण हुन्छ” उन्ले भने । जिल्लामा बुट्टेनली पछिल्लो समय संरक्षण अभावले संकटमा छ । निगालोमा आकर्षक कला कुँदेर बुट्टेनली बनाउने गरिन्छ । तालीमका प्रशिक्षक वसन्तजंग राजभण्डारी सानो बाँसको नलीमा विभिन्न कला कँदिने र त्यसलाई विशेष प्रकारले सजावट गरेपछि बुट्टेनली तयार हुने बताए । 

बुट्टेनलीमा राष्ट्रिय विभूति, सन्त, महात्मा, कवि, कलाकार, देवी, देवता आदिका मुहार चित्र कुँद्ने चलन छ । दिनमा एउटा बुट्टेनली तयार गर्न सकिन्छ । बुट्टेनली बनाउँदा कच्चा पदार्थका रुपमा निगालो, चक्कु, रेती, विभिन्न प्रकारका रङ, तेल, बेसार, खरानी लगायत सामग्री प्रयोग गर्ने गरिन्छ । एउटा बुट्टेनलीको मूल्य रु दुई हजार ५०० सम्म पर्छ । 

बागलुङ घुम्न आउने पर्यटकले बुट्टेनली चिनोका रुपमा लैजाने गरेका छन् । बुट्टेनली बनाउने कला मर्न नदिन केही वर्षअघि जिल्ला कारागारका बन्दीलाई समेत तालीम दिइएको थियो । अहिले बन्दीले बुट्टेनली बनाएर बेच्ने गरेका छन् । 

बहिरा विद्यार्थीका लागि सञ्चालन गरिएको उक्त ताीलम तीन महिनासम्म चल्नेछ । ताीलमले बहिरा विद्यार्थीको सीपमूलक दक्षता वृद्धि गर्ने विश्वास लिइएको विद्यालयका प्रधानाध्यापक मधुसुदन न्यूरेले बताए । रासस

ताजा खबर