‘जिउँदो आकाश’ अब भारतको दिल्ली र गुहाटीमा

२०७४ फाल्गुण २१ सोमबार १३:२७:०० मा प्रकाशित

‘काठमाण्डौं २१ फागुन । तेस्रोलिंगीको भावना समेटिएको नाटक ‘जिउँदो आकाश’ काठमाडौंमा पुन मञ्चन सकेर अब दिल्ली र गुहाटीमा हुने मञ्चनको तयारीमा जुटेको छ । सर्वनाम थिएटरमा केही महिना अघि मञ्चन भएको नाटकको दोस्रो मञ्चन पनि उत्साहजनक नै  थियो ।  
फागुन २८ गते भारतको गुहाटीमा नाटक मञ्चन भएपछि  दिल्ली स्थीत नेशनल स्कुल अफ ड्रामामा आयोजना हुन लागेको आठौँ अन्तर्रािष्ट्रय ओलम्पिक ड्रामा फेस्टिबलमा नाटक मञ्चन हुनेछ ।
‘जिउँदो आकाश’ गतवर्ष पहिलो पटक दोलखाको चरिकोटमा मञ्चन भएको थियो । तेस्रोलिंगीले पनि आम मान्छे जस्तै जन्म लिने हुन् । तर सामाजिक चेतना स्तर कमजोर भएका कारण उनीहरू अन्य सरह स्वतन्त्र भएर बाँच्न पाइरहेका छैनन् ।
तेस्रोलिंगीको कथा समेटिएको तथा अनिल सुव्बाको एकल अभिनय रहेको नाटकलाई चन्द्रप्रसाद पाण्डेले लेखेका हुन ।  आर के मेहता रोशनको निर्देशन तथा परिकल्पना रहेको नाटकको निर्माण भने सम्रान्त थापा र टंक टाइगर (संग्रौला) ले गरेका हुन् । 
डाँफे थिएटरको प्रस्तुति रहेको नाटकमा विनोद बञ्जारा, विश्व काफ्ले, टंक टाइगर (संग्रौला), सुशान्त चालिसेका संगीत संयोजन रहेको छ भने प्रकाश परिकल्पना मिलन नेपालीको रहेको छ ।
झन्डै एक घण्टा लामो यो नाटकमा अनिलले तेस्रोलिंगीको बालापनदेखि युवा अवस्था सम्मको उतारचढाव र अनुभूतिलाई जीवन्त रूपमा प्रस्तुत गर्ने जमर्को गरेका छन् ।
 

ताजा खबर