इन्टरनेट हेरेर ‘भगवान्’ बनाउँछन् दिनेश

२०७४ फाल्गुण २० आइतबार १५:०६:०० मा प्रकाशित

भीमदत्तनगर, २० फागुन ।  कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–७ सिमलफाटाका ३१ वर्षीय दिनेश विक परिवारको कमजोर आर्थिक हैसियतका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित भए । 

एसएलसी पढ्दै गर्दा अध्यापन प्रभावित भएपछि इन्टरनेटको सहारामा विभिन्न कलात्मक मूर्तीहरु बनाउन थालेका उनी पछिल्ला वर्षहरुमा विभिन्न देवीदेवताका मूर्ती बनाएर मासिक रु ४० हजार भन्दा बढी आम्दानी गरीरहेका छन् । ‘अन्य खर्च कटाएर मासिक रु ४० हजारभन्दा बढी नै बचत हुन्छ,’ उनले भने – ‘परिश्रम गरे विदेशिनु पर्दैन ।’ 

उनका परिवार शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका हुन् । आफूसहित तीन भाइ÷बहिनी अध्ययनमा रहेका बेला पारिवारिक समस्याका कारण आफू विद्यालय छाड्न वाध्य भएको उनले बताए । ‘परिवारको अवस्था सुध्रोस् भनेर बुबाआमा टहरामा भगवान् पुकारेर बस्थे,’ विकले विगत सम्झिँदै भने – ‘तिनै भगवानका मूर्ति बनाउने सीपले म आज परिवारको खर्च धान्न सक्ने भएको छु ।’ 

शुक्लाफाटाको झलारी बजारमा मूर्ति र कलाको पसल थापेको पाँच वर्षमै आफूले राम्रो आम्दानी लिन सकेको उनले बताए । ‘धेरै नपढेको भएपनि इन्टरनेटमा मूर्ति बनाउने भिडियोहरु हेरेरै मूर्तिको व्यापार बढाएको छु,’ विकले भने – ‘इच्छाशक्ति भए अध्ययन नै चाहिन्छ भन्ने होइन रहेछ ।’ मूर्ति बनाउने भिडियोहरुबाट आफूले बनाउन सिकेको उनकोे भनाइ छ । 

‘कलात्मक मूर्ति बनाउन सिकाउने गुरु भनेकै इन्टरनेट हो,’ उनले भने – ‘एउटा मूर्ति महिना दिनमा तयार हुन्छ ।’ नयाँ वर्ष र दशैं लगायतका चाडपर्वका बेला मूर्तिहरु धेरै बिक्री हुने गरेको उनले बताए।  ‘चाडपर्वका बेला त खर्च कटाएर मासिक रु ७०÷७५ हजार सम्म बचत हुन्छ,’ उनले भने – ‘एउटै मूर्ति रु १ लाख २० हजारसम्ममा बिक्री गरेको छु ।’ आफूले सिमेन्टका तीन फिटभन्दा अग्ला मूर्तिहरु बनाउने गरेको र धेरैजसो रु ३० हजारदेखि माथिको मूल्यमा बिक्री हुने गरेको उनले बताए । ‘शुरुमा घरकै अभिभावकहरु मूर्ति बनाएर के गुजारा होला भन्थे,’ उनले भने – ‘यही व्यापारबाट घर चलेको छ ।’ 

उनल  भगवान् शिव–पावर्ती, गणेश, कालिका लगायतका देवताका धेरै मूर्तिहरु बनाएर बिक्री गरीसकेका छन् । अब निकट भविष्यमै कृष्णसारको मूर्ति बनाउने उनको योजना छ । झलारी बजारमा सन्देश आर्ट नामक पसल सञ्चालन गरेका विकले दुई जनालाई रोजगारी समेत दिएका छन् । ‘दुई जनालाई पेन्टिङ्गको काम दिएको छु,’ उनले भने – ‘मैले बनाएका मूर्तिले ग्राहक सन्तुष्ट छन् जस्तो लाग्छ । अहिलेसम्म असन्तुष्टिका शब्द सुन्नुपरेको छैन ।’ 
सिमलफाटामा अढाई कट्ठा जग्गा लिज लिएर बस्दैआएको विक परिवारले निकुञ्जबाट विस्थापित हुँदा कुनै सहयोग पाएका थिएनन् । ‘विस्थापित भएपछि परिचय पत्र त पायौं, अरु सहयोग केही पाएको छैन,’ उनले भने –‘आश्वासनमै दशक बित्यो । राहत पाएनौं ।’ 

सानै उमेरदेखि कलात्मक चित्रहरु बनाउन सौखिन विकले मूर्ति बनाउन थालेकोे पनि एक दशक भयो । 
उनले भने – ‘अहिले आधुनिक मूर्ति बनाउने यहाँ अरु कोही भेटेको छैन ।’ 

कञ्चनपुरका विभिन्न ठाउँका साथसाथै बैतडी, डडेल्धुरा र कैलालीबाट समेत आफ्नो मूर्तिको माग हुने गरेको उनी कताउछन् । 
शेरबहादुर सिंह । रासस

ताजा खबर