सलमानको ‘दबंग द टूर’ वैशाखमा 

२०७४ फाल्गुण २० आइतबार १४:१९:०० मा प्रकाशित

काठमाडौं, २० फागुन । बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ। फागुन २६ गते टुँडिखेलमा आयोजना गर्न लागिएको ‘दबंग द टूर नेपाल’ मा सहभागी हुन आउन लागेका सलमानको भ्रमण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विरोधका कारण स्थगित भएको बताइएको छ। सलमान अब वैशाख पहिलो साता नेपाल आउनेछन्।

आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङका अनुसार सलमानलाई वैशाख पहिलो साता काठमाडौँ ल्याउने कुरामा सहमति भइसकेको जानकारी दिए । फागुन २६ गते हुन लागेको दबं‌ग द टूर नेपाल विशेष कारणले स्थगित भएको जनाउँदै गुरुङले अब वैशाखमा सलमान काठमाडौँ आउने बताए । 

करिब १५ करोड रुपैयाँ बजेट लाग्ने यो कार्यक्रममा करिब १० करोड रुपैयाँ खर्च भइसकेको छु, गुरुङले भने, वैशाखमा हुने कार्यक्रमको मिति टुंगिएपछि आधिकारिक जानकारी गराउँछौँ ।  अहिले टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्ने उनले जानकारी दिए ।  आयोजक संस्था ओडिसीले वैशाखको कार्यक्रमका लागि टिकट विक्री जारी राख्ने जनाएको छ। 

कन्सर्टमा सलमान सहित नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर र मनीष पावल सहभागी हुने कार्यक्रम छ । 


 

ताजा खबर