मध्यमस्र्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

२०७४ फाल्गुण १७ बिहीबार २०:०६:०० मा प्रकाशित

काठमाडौँ, १७ फागुन । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ । 

आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई विहिबार साँझ १८ः३० बजेबाट विद्युत् उत्पादन पुनःशुरु गरिएको छ । प्राधिकरणले मर्मत कार्य सम्पन्न गर्न १० दिन लाग्ने बताएको थियो । मर्मत यही फागुन ११ गतेदेखि शुरु भएको हो । 

आयोजनाको बाँधको देब्रेतर्फको क्षेत्रमा भू–क्षयलाई रोक्न राखिएको संरचनाको मर्मत गत शुक्रबारदेखि शुरु गरिएको थियो । 

वर्षाको पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न पर्खाल लगाइएको प्रमुख गौतमले जानकारी दिनुभयो । मर्मतका क्रममा दैनिक ४०० मजदुर परिचालन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रले विहिबार साँझसम्म मात्रै आयोजना बन्द गर्न स्वीकृति दिएको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले गत शनिबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिएका थिए । 

आयोजना प्रमुख गौतमका अनुसार विहिबार आयोजनाले २८ मेगावाट विद्युत् उत्पादन गरेको छ । आयोजनाको एउटा मात्रै मेशिन चलाइएको छ । अर्को मेशिन यही फागुन २३ गतेदेखि मात्रै सञ्चालनमा आउनेछ । 

विद्युत्को माग बढी हुने साँझ र बिहानको समयमा ७० मेगावाट विद्युत् उत्पादन हुने मध्यमस्र्याङ्दी बन्द हुँदा प्राधिकरणले कुलेखानीका दुवै आयोजना सञ्चालन गर्नुपरेको थियो । 

मध्यमस्र्याङ्दी बन्द हुँदा प्रणालीमा कुनै समस्या नआएको र विद्युत् आपूर्ति अवरुद्ध नभएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । आयोजना बन्द हुँदा कुलेखानीको दुवै आयोजनाबाट ९२ मेगावाट विद्युत् उत्पादन गरेर भार व्यवस्थापन गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

आयोजनाको बाँधमा थुप्रिएको बालुवा निकाल्दासमेत आयोजनालाई रु १८ लाख आम्दानी भएको छ । 

जिल्ला प्रशासन कार्यालय लमजुङ, जिल्ला समन्वय समिति र बँेसीशहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत बालुवा निकाल्ने ठेक्का दिएको थियो । 

नदीमा पानीको प्रवाह कम भएका कारण साँझ र बिहान मात्रै आयोजनाले ७० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख गौतमको भनाइ छ । रासस

ताजा खबर