भारतीय अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

२०७४ फाल्गुण १७ बिहीबार १४:५३:०० मा प्रकाशित

मुम्बई, १६ फागुन । गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । 

भारतीय शहर मुम्बइमा उनलाई  हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए । 

विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उनको  शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो । शवयात्राका कारण लामो समय मुम्बईको सडकमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो भने अन्त्यष्टीस्थलसम्म पुग्न झण्डै दुई घण्टा लागेको थियो । 

दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको  पार्थिव शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो । 

सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘बाथ टब’मा डुबेर भएको जानकारी गराएको छ । 

आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन ५४ वर्षीया श्रीदेवी संयुक्त अरब इमिरेट्स गएकी थिईन्।  

सन् २०१३ मा भारत सरकारले उनलाई  देशकै चौँथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरेको थियो । श्रीदेवीले करिब तीन सय चलचित्रमा अभिनय गरेकी छन्। 
 

ताजा खबर