होलीमा मुग्लिन सडक दुई दिन खुला रहने

२०७४ फाल्गुण १७ बिहीबार ०७:३६:०० मा प्रकाशित

रत्ननगर, चितवन, १७ फागुन । होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । 

आज फागुन १७ र १८ गते उक्त सडकमा गाडी नरोकिने आयोजनाले एक सूचना जारी गरी जनाएको छ । यसअघि उक्त सडक बिहान १० देखि अपराह्न ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम चल्दै आएको थियो । 

नेपालीले मनाउँदै आएको रंगैरंगको पर्व होलीलाई ध्यानमा राखेर यात्रुको सहजताका लागि सडक खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । यहाँको सडकमा गाडी रोकिँदा ट्राफिक व्यवस्थापनमा प्रहरी परिचालन हँुदै आएका छन् । 

यस्तै, ट्राफिक प्रहरीले समेत बुधबार नै सार्वजनिक सूचना जारी गरी आज र भोलि सडक खुला रहने जानकारी दिएको छ । उक्त सडकको ३४ किलोमिटर क्षेत्रको काम अहिलेसम्म करिब ७५ प्रतिशत पूरा भएको छ । 

अझै केही ठाउँमा भित्तो काट्ने, क्यान्टिलिभर हाल्ने र विभिन्न स्थानमा कालोपत्रको काम बाँकी नै छ । निर्धारित समयमा निर्माण नसकिएपछि दुईपटक थपिएको समयसमेत अभाव हुँदै पुनः म्याद थपको तयारीमा आयोजना रहेको छ । रासस

ताजा खबर