यी हुन् भद्रगोलका ‘खुपीको बाउँ’

२०७४ फाल्गुण १५ मंगलबार ११:३१:०० मा प्रकाशित

रंगमञ्चबाट कलाकारिता थालेका कलाकार हुन् कमलमणि नेपाल । उनी अहिले नेपाल टेलिभिजबाट प्रशारण भैरहेको ‘भद्रगोल’ हाँस्य टेलिसिरियलमा व्यस्त छन् । कलाकारितामा कमलमणिले २० वर्षभन्दा बढी बिताएका छन् । पहिला गुरुकुल नाटक घरमा रहेर अभिनय गरेका कमलमणि यतिबेला चलचित्र र सिरियलमा धेरै व्यस्त देखिन्छन् । उनी आफूलाई नाटकले नै चिनाएको भन्न रुचाउँछन् । तर उनले अभिनय गर्ने गरेको गुरुकुल नाटक घर यतिबेला क्रियाशील छैन । अहिले ‘खुपीका बाउँ’ भन्ने नामबाट चर्चामा आएका कमलमणि नेपालसँग सरलपत्रिका गरेको यो रमाइलो गफगाफ :

आजकल के गर्दै ?

अहिले तीनवटा चलचित्र सकें र अरु तीनवटा पोस्ट प्रोडक्सनमा छन् । यो भनेको प्रदर्शनका लागि अगाडि बढेका छन् । एउटा चलचित्र छ ‘लखपती माग्ने’ भन्ने चैत्रको ६ गतेबाट फ्लोरमा जाँदैछ । 

कसरी सुरु भयो कलाकारिता यात्रा ?

म मोरङमा जन्मिएको हो । म आज भन्दा अठार वर्ष अगाडि काठमाडौं आएँ । म कम्प्युटर सिक्न भनेर काठमाडौं आएको हो । त्यसपछि नाचघरमा एक्टिङको कक्षा शुरु गरें । त्यहि क्रममा बीरेन्द्र हमालसँग काम गरें । काम कै शिलशिलामा सुनिल पोखरेललाई भेटें । त्यसपछि गुरुकुलमा जोडिन पुगें । गुरुकुलमा निरन्तर बाह्र वर्ष काम गरें । बाह्र वर्ष काम गर्ने क्रममा झण्डै दुई दर्जन जति नाटकहरु खेलें । गुरुकुल बन्द भएपछि हाँस्य टेलिसिरियल भद्रगोलमा छिरें । भद्रगोलबाट एकखालको ‘खुपीका बाउँ’ भनेर बाहिर दर्शकहरुले चिन्ने नाम ‘खुपीका बाउँ’ भनेर जन्मियो । त्यसपछि कमलमणि हरायो । पछिल्लो समय ‘खुपीका बाउँ’ एउटा ठाउँमा छ तर कमलमणि पनि छ है भनेर नेपाली चलचित्रहरुमा काम गर्छु । सकेसम्म रंगमञ्चमा पनि समय दिने प्रयत्न हुँदै छ । 

कलाकारिताको औपचारिक तालिम लिन परेन ?

म १४ वर्ष शुरुमा नै नेपाली रंगमञ्चमा काम गरेको मान्छे हुँ । यत्रो वर्ष रंगमञ्चमा काम गरिसकेपछि कतै गएर सिक्न पर्छ भन्ने लागेन । 

नाटकमा अभिनय गरेको कति भयो ?

अहिलेसम्म लगभग दुई दर्जन जति नाटकहरुमा काम गरिसकें होला । 

एकै ठाउँमा नटिक्नुको कारण  के हो ?

आज गुरुकुल बन्द नभएको भए त म अहिलेसम्म पनि नाटक नै गरिरहन्थे । त्यो बाहेक कहिलेकहीं फ्याटफुट्ट टेलिसिरियल चलचित्र भनेको फरक कुरा हो । अहिले पनि धेरै नेपाली रंगमञ्चका साथीहरु चलचित्रमा नै व्यस्त छन् । अहिले चलचित्रमा व्यस्त हुनुको कारण के हो भने पहिला त नेपाली चलचित्रमा हामीले काम नै पाउँदैनथ्यौं । हामीलाई कसैले लिँदा पनि लिदैनथ्यो । लुट भन्ने चलचित्रले एकखालको धार परिवर्तन गरिदियो । यसको मतलब के हो भने कलाकार बन्नको लागि सुसंगठित शरीर, एकदमै मोडल जस्तो अनुहार नै चाहिन्छ भन्ने खालको एउटा ट्रेण्डलाई परिवर्तन गरिदिएपछि हामीले नेपाली चलचित्रहरुमा काम गर्ने मौका पाउन थालेका हौं । यो नटिकेर होइन गुरुकुल चलुन्जेल त हामीहरुले गुरुकुलमा नै काम गरेका हौं । गुरुकुल बन्द भइसकेपछि आफ्नो मन खोलेर काम गर्ने ठाउँ नभएर हो । 

समय  व्यवस्थापन कसरी गर्नुहुन्छ नि ?

अहिले नाटक त खासै गरिएको छैन । आप्mनो ठाउँ नभएपछि अरुले खासै बोलाउँदैनन् । यसमा चलचित्रमा काम गर्दा टेलिसिरियल कम हुन्छ र चलचित्र नहुँदा सिरियलमा बढि समय दिन्छु । कहिलेकाहीं नाटक पनि गर्नुपरेको समयमा एउटा समय छुट्याएर काम गर्छु । 

नाटक र चलचित्रमा जम्न नसकेर टेलिसिरियलमा गएको आरोप नि तपाईंमाथि ?

गुरुकुल बन्द हुने बित्तिकै मसँग बिकल्प थिएन । चलचित्रतिर पनि सिधै जान सक्ने स्थिति थिएन किनभने मलाई कसैले लिन्छ लिँदैन भन्ने खालको कुरा पनि हो । फेरि नाटकमा काम गरिरहेका मान्छे त्यति परिचित पनि हुँदैनन् । कसैले थिएटरमा नै गएर हेर्यो भने उसले यसले काम गर्न सक्छ भन्ला तर सबैलाई बिश्वास दिलाउन सकिन्न । गुरुकुल फ्याटै बन्द भएको बेला घर फर्किनु भन्दा केही न केही काम गर्दैछु भन्नका लागि सिरियल पनि एउटा कलाकारिताको पाटो हो त्यसलाई बुझेको मात्र हो । म नाटक र चलचित्र चलेन भनेर टेलिसिरियलतिर गएको होइन । म नाटकबाट टाढिएको छैन ।

कसरी ‘खुपीको बाउँ’ बन्न भयो नि ? 

यसमा शुरुको बेला साथीहरुले खुपीको बाउ भनेर जिग्रिको मामाको रुपमा लिइरहेका थिए । उनीहरुले मलाई त्यो क्यारेक्टरको रुपमा सोच्नुको पछाडि के छ भने मैले धन्दा भन्ने पहिलो चलचित्र गरेको थिएँ । त्यसमा मैले अर्पणको मामाको चरित्र निर्वाह गरेको थिएँ । त्यो अलि पूर्वेली पाराको आफ्नै पाराको थियो । त्यो क्यारेक्टर उनीहरुलाई मन परेको क्यारेक्टर थियो । त्यहि भएर अर्जुन घिमिरे, कुमार कट्टेल र हरि निरौला तीनजना आएर कुराकानी गरे । हामी एउटा सिरियल गर्दैछौं दाई तपाईंले समय दिनुपर्यो । मैले भने म नाटकको मान्छे हुँ मसँग त्यति धेरै समय हुँदैन । कुनै पनि बेला धोका दिन सक्छु भनेर भने । त्यसैले नगरुँ होला पनि भने । मैले एकदमै नगर्नका लागि धेरै नै प्रयत्न गरेको हो तर उहाँहरुले तपाईंलाई पनि राम्रो हुन्छ हामीलाई पनि राम्रो हुन्छ गरौं भनेपछि काम गरेको हो ।

प्रस्तुति : सुकृत नेपाल  

 

 

ताजा खबर