तुलादानको नाममा पशुपतिनाथमा विकृति बढेको आरोप

२०७४ फाल्गुण १३ आइतबार १७:०४:०० मा प्रकाशित

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस (विपि)का सभापति हरिबोल भट्टराईले धर्मको नाममा विकृति फैलिएकोमा चिन्ता व्यक्त गरेका छन् । 

आईतबार यहाँ नेपालमा विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति प्रदेश नम्बर ३ र विश्व हिन्दु यूवा संघ अन्तर्राष्ट्रिय समितिले आयोजना गरेको संयूक्त पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् । 

उनले भने,‘मैले नेपाली कांग्रेस छोड्नुको कारण पनि त्यही थियो जुन धर्मनिरपेक्षतामा सहमति गर्यो, अन्य राष्ट्रहरु आफ्नो पहिचानको लागि ज्यान दिन्छन् तर हामी हाम्रो पहिचान जोगाउन ध्यान समेत दिँदैनौ, हिजो पशुपति क्षेत्रमा जुन घट्ना भयो त्यो गलत छ, अब नेपाली समाजले आँखा खोल्नुपर्छ, सनातन हिन्दू अधिराज्य कायम गर्नुपर्छ।’

पशुपतिनाथ ग्वलः पुच समाज एवम् विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति प्रदेश नम्बर ३ का संयोजक केदारमान भण्डारीले  पशुपतिनाथ क्षेत्रभित्र धर्मको नाममा लुट मच्चाईरहेको आरोप लगाए ।

उनले भने,‘पशुपति क्षेत्रभित्रको बनकालीमा ईश्वर कृष्ण महाराजले तुलादानको नाममा लुटिरहेका छन्, हामी स्थानीय र जिम्मेवार व्यक्ति भएको कारण के भईरहेको छ भनेर बुझ्न जाँदा उल्टै आक्रमण भयो, हिन्दू धर्मको नाममा यस्ता विकृति र शास्त्रीय विधान विपरित कार्य गरिरहेका छन्, देशका विभिन्न ठाउँमा यस्ता ठगिका कामहरु सञ्चालन गर्ने गरेको स्थिति छ, यसमा सकारको तत्काल ध्यान जाओस् ।’

त्यस्तै  विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष उपेन्द्र बहादुर गौतमले पशुपति क्षेत्रमा भईरहेका विकृतिजन्य कार्यलाई रोक्न र हिजो भएको घटनाका दोषीलाई यथाशक्य कारबाहीको दायरामा ल्याउन माग गरे । 

कार्यक्रममा विश्व हिन्दू यूवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले धर्मको नाममा फैलिरहेका विकृतिको अन्त्यको लागि प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । 

उनले भने,‘शनिबार पशुपतिनाथ क्षेत्रभित्र जुन कार्य भयो, हामी त्यस घट्नाको घोर भत्सर्ना गर्दछौँ, त्यो खुलेआम ठगी हो, हामी चुप लागेर बस्दैनौं, ५० वर्ष माथिकालाई अनिवार्य र ४ वर्षे बालकको रुचीको आधार बनाएर तुलादान गराउने कार्य ईश्वर कृष्ण महाराजले गरिरहेका छन्, जुन धर्म विपरित छ, कानून विपरित छ, शास्त्रीय विधिभन्दा बाहिर छ, आस्था र विश्वासको खेलवाड भैरहेको छ, यसलाई तत्काल निरुत्साहित गर्नुपर्छ।’

उनले भने थपे,‘उहाँले सरकारी कर छल्ने काम गर्नुभएको छ, अस्थायी प्यान नम्बर समेत नलिई राज्यलाई चुनौति दिने काम भएको छ, हाम्रो राज्यको नजरले यस्तो विकृतिलाई देख्दैन, पत्रकारहरुले देखे र लेख्न खोज्दा उल्टै गुण्डागर्दी शैलीमा आक्रमण भयो, पत्रकारहरु मेघराज पहाडी र राज अधिकारीमाथि हातपात भयो, पुजारी केदारमान भण्डारीमाथि र ममाथि पनि आक्रमण भयो यसको बारेमा सरकारसँग दोषिमाथि कारबाही गर्न माग गर्दछाँै।’

फगुन ३० गतेदेखि चैत्र ६ गतेसम्म पशुपति महोत्सवको तयारीमा आफूहरुको जुटिरहेको जानकारी दिँदै अध्यक्ष थापाले सम्पूर्ण यूवाहरुलाई धार्मिक विकृति र विसंगतिकाबिरुद्ध एकजुट हुन आग्रह समेत गरेका छन् । 
    
 

ताजा खबर