‘हाईट र लाईटमात्र टाढाबाट देखिन्छ’

२०७४ फाल्गुण १३ आइतबार १३:३७:०० मा प्रकाशित

काठमाडौं, १३ फागुन । ‘कि हाइट भएको कि लाइट भएको चिज मात्र टाढाबाट देख्न सकिन्छ । सगरमाथाको हाइटले संसारले नेपाल देख्छ । बुद्धको लाइट (बुद्धत्वको प्रकाश) ले पनि नेपाललाई संसारले देखेको छ ।’

यो व्याख्या हो प्रधानमन्त्री केपी शर्मा ओलीको । 

प्रधानमन्त्री ओलीले संसारकै अग्लो बुध्द मूर्ति निर्माण गर्ने परिकल्पनालाई साकार पार्ने आफ्नो प्रतिवध्दतामाथि जोड दिँदै यस्तो व्याख्या गरेको थिए ।

पहिलोपल्ट प्रधानमन्त्री छँदा आफ्नो क्षेत्रमा विश्वकै अग्लो बुध्दमूर्ति स्थापना गर्ने परिकल्पना गरेर विदा लिएका  ओलीले दोस्रो पटक त्यो पदमा पुगेपछि त्यसलाई साकार तुल्याउने अठोट गरेका छन् । उनले सरकारबाट विदा लिएर दमक पुग्दा सरोकारवालालाई आश्वस्त पार्दै भनेका थिए – ‘जग्गा पुगेन भनेर चिन्ता नलिनु ।’ 
झापाको दमकमा विश्वकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न ओली नेतृत्वको सरकारले ठूलो परियोजना प्रस्ताव गरेको थियो ।  ओलीले ५४२ फिट अर्थात १९४ मिटर अग्लो बुद्ध मूर्ति निर्माण गर्ने प्रस्ताव गरेका थिए ।

अहिले दोस्रो पटक प्रधानमन्त्री बनेपछि ओलीले आफ्नो गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्ब बराबरका योजना पारेका छन् । उनले गृहनगर तथा निर्वाचन क्षेत्रको   यस नगरपालिकामा प्रदेश नबर १ कै सबैभन्दा धेरै योजना पारेका छन् । नगरभित्र एक सय करोडभन्दा बढीका ६ योजना परेका छन् । करोडभन्दा माथिका डेढ दर्जन बढी योजना परेको थाहा भएको छ । 

त्यसमध्ये नगरपालिकाभित्र औद्योगिक पार्क, विश्वकै अग्लो बुद्ध मूर्ति, भ्यू टावर, विज्ञान पार्क, फाल्गुनन्द सभागृह, सपिङ कम्प्लेक्स, नमुना बजार, रोज गार्डेन पार्क, रिङरोड, संग्रहालय, पुल निर्माण, कालोपत्रे, प्रज्ञा प्रतिष्ठान, पशु बजार निर्माण जस्ता योजना छुट्याईएका छन् ।

 वडा नम्बर १० मा चीन सरकारको लगानीमा औद्योगिक पार्क बन्ने भएको छ । चीनको वान बेल्ड वान रोड अन्तर्गत २२ सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ ।

 प्रधानमन्त्री ओलीले बिराट बुद्ध आयोजनाका लागि  जग्गा पुगेन भनेर चिन्ता नलिन सरोकारवालाई सम्झाए अनुसार नै अब काम अगाडि बढाउन निर्देशन दिएका थाहा भएको छ । 

 बिराटबुद्ध आयोजना 

 यस आयोजनाको बिस्तृत परियोजनाका लागि हालसम्म ३६ बिगाहा जग्गाको जोहो भइसकेको छ । आयोजनामा प्रस्ताव गरिए अनुसारका संरचना निर्माणका लागि कम्तीमा १ हजार बिगहा जग्गा आवश्यक पर्ने सरोकारवालाले सुझाएका छन् । त्यसका लागि परियोजना निर्माण स्थल नजिकै रहेको भुटानी शरणार्थी शिबिरको जग्गा उपयोग गर्न सकिने बताईएको छ ।  परियोजनामा बौध्द विश्वविद्यालय,चैत्य, खुला ध्यान केन्द्रहरु, पुस्तकालय,अष्टबुद्ध चक्रपथ,संग्राहलय,खुला ध्यान केन्द्र,अखण्ड दीप आदि सामेल गराइने भएको छ । बौद्ध पर्यटनको विकास,बौद्ध चक्रपथमा थप आकर्षण र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उद्धेश्यले बुद्ध प्रतिमा निर्माण गरिन लागेको सम्बध्द निकायले बताएको छ ।

 हंसेदुम्से सामुदायिक बनउपभोक्ता समितिको अधिनमा रहेको जंगल क्षेत्रमा रहेका जतिवटा रुख छन् त्यती नै  रुख रोपेर बुद्ध पार्क निर्माण गरिने भएको छ । त्यहाँ धुपी सल्ला र मसलाका बोट नभइ फलफूलका बिरुवा रोप्नु पर्ने स्थानीयको सुझाव छ । प्रधानमन्त्री ओली पनि आयोजनाका अधिकारीहरुलाई सुझाएका थिए– ‘बुद्धपार्कमा मौरी र चराचुरुंगीले पनि बास र खानेकुरा पाउनु पर्छ । त्यो भनेको या त त्यहाँ फूल्ने जातका वा फल्ने जातका बोटविरुववा लगाउनु पर्दछ ।’ ओलीले नेपाल बुद्धको जन्मभूमि मात्र नभएर बुद्धिज्मको आधारभूमी पनि भएको चर्चा गरेका थिए ।  ‘नेपाल बुद्धको वर्थ प्लेस मात्र नभएर बुद्धिज्मको फाउन्टेन पनि हो ’ उनको तर्क थियो । 

  यो परियोजना सम्पन्न भएपछि कम्तीमा १० लाख पर्यटक हरेक बर्ष दमकमा आउने अनुमान छ । बिराट बुद्ध आयोजना केवल धार्मिक हिसाबले मात्र बनाउन लागिएको नभै यो एउटा ठूलो पर्यटकीय सम्भावना सहितको आयोजना भएको दमक नगरपालिकाले जनाएको छ ।
 आयोजनाको कुल लागत करिब १५ अर्ब ५० करोड रुपैंयाँ अनुमान गरिएको छ ।
 
 
 

ताजा खबर