प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले शिक्षामा परिवर्तन

२०७४ फाल्गुण १३ आइतबार १२:३६:०० मा प्रकाशित

पोखरा, १३ फागुन ।युएसएडको सहयोग र शिक्षा मन्त्रालयद्वारा सञ्चालित प्रारम्भिक कक्षा पढाइ सीप प्रवद्र्धन कार्यक्रम (इजिआरपी) प्रभावकारी बन्दै गएको छ । 

कास्कीका तीन विद्यालयमा छुट्टाछुट्टै गरिएको छलफलमा कक्षा १, २ र ३ का बालबालिकाको पठन सीप विकासमा युएसएडअन्तर्गत इजिआरपी कार्यक्रमले कास्कीलगायत छ जिल्लाका बालबालिकाका लागि समुदायमा आधारित यस कार्यक्रमको प्रभावकारिताले पठनपाठनमा परिवर्तन ल्याउन सफल भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिए । 
कार्यक्रम सञ्चालनसँगै यसले गाउँपालिकामात्र नभई पोखरा लेखनाथ महानगरका सामुदायिक विद्यालयमा राम्रो प्रभाव पारेको कास्कीका उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले बताए। 

बालबालिकाको पठन सीपको विकासमा यो कार्यक्रम सहयोगी भएको बताउँदै उनले भने, “ स्थानीय तहको काँधमा आएको यो कार्यक्रमलाई विद्यालय र अभिभावकको समन्वयमा निरन्तरता दिन आवश्यक देखिएको छ ।” 

इजिआरपी कार्यक्रम निरन्तर चलाउनु पर्नेमा जोड दिँदै पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले दाताको सहयोग नभए पनि यस किसिमका कार्यक्रमले निरन्तरता पाउनु जरुरी भएको छ भने। 

गोगन माविका प्रधानाध्यापक डम्मरप्रसाद पौडेलले कार्यक्रमले घर घरमा बालबालिकाको पढ्ने बानीको विकास, हुँदै पढाइ सीपमा सुधार र अभिभावकले आफ्ना बालबालिकालाई पढाउन समय दिनु पर्नेतर्फ सचेत गराएको बताए। 

भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले 
कार्यक्रमसँगै विद्यार्थीको घर घर गएर बालबालिका पढे÷नपढेको अनुगमन गरी अभिभावकलाई सचेत बनाउने गरिएको बताईन। 

तीन वर्षे कार्यक्रमअन्तर्गत जिल्लाका २२ स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा लागू गरी टोल टोलमा पढाइ समूह गठन गरिएको इजिआरपी कार्यक्रम क्षेत्रीय संयोजक दीपक शर्माले जानकारी दिए । उनका अनुसार प्रारम्भिक शिक्षा पढाइ कार्यक्रमले जिल्लाका ३८७ विद्यालयका १ देखि ३ कक्षासम्म अध्ययनरत करिब १४ हजार विद्यार्थी लाभान्वित भएका छन् । 

कार्यक्रमअन्तर्गत विद्यालयका प्रअ, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकसमेतलाई अभिमुखीकरणको माध्यमबाट बालबालिकाको पठन सीपलाई अझै उत्तरदायी बनाउँदै लगिएको समुदायस्तरको कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी पाएको बाल हितकारी परियोजनाका कार्यकारी अधिकृत माधव आचार्यले बताए।  

समुदाय परिचालनको सम्बन्धमा अभिभावक दौँतरी शिक्षा, शिक्षक अभिभावक सम्मेलनलगायत टोल पढाइ समूहलाई स्थानीयस्तरमा पठन सामग्री निर्माणलगायतका क्रियाकलाप गर्दै घर तथा समुदायमा पढाइ वातावरण तयार गर्न सहयोगी बनेको उनले बताए। रासस
 

ताजा खबर