‘हाम्रो चलचित्रमा लेडिज एक्सन बढि हुन्छ’

२०७४ फाल्गुण ११ शुक्रबार १०:४१:०० मा प्रकाशित

विराटनगरमा जन्मिएकी नायिका शिल्पा पोखरेल नेपाली चलचित्र नगरीमा अहिले चलेको नाम हो । जस्तोसुकै अभिनय गर्न सक्ने नायिका पोखरेलाई कुनैबेला रेखा थापाको डुप्लिकेट पनि भन्ने गरिन्थ्यो । उनी रेखाको डुप्लिकेट नै नभए पनि रेखाका पूर्वपति छविराजसँग भने चलचित्रमा सहकार्य गरिरहेकी छिन् । करिब दर्जन चलचित्रहरुमा काम गरिसकेकी यी नायिका बेलाबेलामा चर्चामा पनि आउने गर्छिन् । कहिले छविराज ओझासँगको बिहे प्रसंगले त कहिले छोटा कपडाले पोखरेल चर्चामा आइनै रहन्छिन् । टेलिश्रृंखलाबाट कला क्षेत्रमा प्रवेश गरेकी यी नायिकालाई फिल्म नगरीमा स्थापित गराउने काम चाहिँ निर्माता छविराज ओझाले नै गरेका हुन् । विवाहको बारेमा अहिले केही नसोचेको बताउँछिन् नायिका शिल्पा । नायिका शिल्पासँग सरलपत्रिकाले गरेको यो रमाइलो कुराकानी :

के छ व्यस्तता आजकल ? 

आजकल चलचित्रको प्रचारमा नै व्यस्त छु । नेपाली दर्शकहरुको कान–कानमा चलचित्रको प्रचारको कुराहरु पुर्याउने काम भइरहेको छ । तराई देखि पहाडसम्मका दर्शकहरुको कानसम्म पुर्याउन पाउँदा खुशी लाग्छ । यो किनभने मैले गरेको चलचित्रमा छविराज प्रोडक्सनमा मात्र प्रोमोसन एकदमै राम्रो भइरहेको छ । अरुबेला बाहिरका निर्माताहरुले किन हो चलचित्र प्रदर्शनको बेलामा वास्तै गर्नुहुन्न । त्यहि भएर अहिले यो चलचित्रको बारेमा सबै दर्शकहरुको कान–कानमा प्रचार गरेर पुर्याउन पाउँदा खुशी छु । 

चलचित्र ‘मंगलम’ को अर्थ के हो ?

‘मंगलम’ को अर्थ खासमा सबैको राम्रो होस्, शुभ होस् भन्ने हो । चाडपर्वमा टिका लगाउँदा पनि शुरुमा आउने शब्दको मन्त्र ‘मंगलम’ नै हो । मंगलममा खास के छ र किन हेर्न जाने भने हाम्रो समाज भित्रै घटेको कुनै घटना तपाईंको परिवारमा पनि घटेको हुन सक्छ, मेरो मा पनि हुन सक्छ अथवा हाम्रो नेपाली दर्शक जतिले चलचित्र हेर्नुहुन्छ उहाँहरुको परिवारमा पनि घटेको हुनसक्छ । यस्तो घटनालाई उठाएर हामीले चलचित्र भित्र देखाएका छौं, जसलाई हामीले देखेर पनि नदेखेको जस्तो गरेका छौं । चलचित्रबाट केही न केही सन्देश चाहि दिन खोजेका छौं । यसपाली हामीले काल्पनिक दृश्यहरु राखेर, बिज्ञापन गरेर केवल मनोरञ्जनको लागि मात्र भनेर चलचित्र बनाएको छैनौं । दर्शकहरुले चलचित्र हेरेपछि केही न केही सन्देश पाउनुहुन्छ भन्ने उदेश्यले चलचित्र बनाएका छौं । 

तपाईं चलचित्रको निर्मात्री पनि हुनुहुन्छ, अब नायिकाबाट बढुवा भएको हो ? 

त्यस्तो हैन, मलाई नायिका भन्दा पनि कलाकार नै भनेको मन पर्छ । अहिले म सिकिरहेकी छु, त्यसैले मलाई प्रस्तुकर्ता अथवा निर्माता भनेको मन पर्दैन ।

त्यसो भए चलचित्रमा तपाईं निर्मात्री बनेको केवल प्रचारको लागि मात्र हो त ? 

यो प्रचारको लागि भन्दा पनि आफूले नै केही गरुँ न त भनेर हो । भोलि पर्सीको लागि पनि एउटा बाटो बनिरहन्छ भनेर हो । यो क्षेत्र छाडेर अब म कतै जान पनि सक्दिन र पछिसम्म टिकिराख्नको लागि एउटा यो साइड व्यापार हो । यसमा राम्रो हुँदै गयो भने साइड व्यापार किन गर्नुपर्यो ।  यसमा राम्रो काम दिन सक्यो भने हामीले यसबाट पनि पैसा कमाउन सक्छौं नि । 

 आफैं निर्मात्री पनि आफैं नायिका पनि बन्न मिल्छ त ?

यो मलाई भन्दा पनि हाम्रो चलचित्र निर्देशक नवल नेपाल दाईलाई सोध्नुपर्छ । मैले उहाँलाई म पनि तपाईंको चलचित्रमा पैसा हाल्दैछु । तपाईंको चलचित्रमा म फिट हुन्छु भने राख्नु फिट हुन्न भने मलाई नराख्नु मैले भनेकी हुँ । मैले त्यसरी कुरा गरेको थिएँ । उहाँले एउटा क्यारेक्टरमा त तिमी फिट हुन्छौं भन्नुभयो । तिमी नै बस र अर्कोमा हामीलाई साम्राज्ञी जस्तै केटी चाहिन्छ भन्नुभएको थियो । फिट हुने कारणले नै राख्नुभएको हो, नत्र मलाई मेरो पैसा डुबाउने रहर छैन ।

तपाईंलाई निर्मात्री बनाउनमा छविराज ओझाको भूमिका छ भन्ने चर्चा छ नि ?

हो, यो एकदमै सत्य कुरा हो । उहाँको ठूलो हात छ किनभने चलचित्र बनाउनको लागि उहाँलाई कसैको पनि सहयोग चाहिंदैन । एकलौटी बनाइरहनु भएको छ । अरु सहयोगी पनि कहिले खोज्नु हुन्न । पैसा हाल्छु भनेर कोही आयो भने पनि उहाँ म मेरो पैसा लगानी गरेर बनाउँछु म कसैको पनि पैसा हाल्दिन भन्ने मान्छे हो । तर मैले यो चलचित्र क्षेत्रमा टिक्नको लागि त बाटो खोजिरहेको छु । मेरो नाम सधैंभरी रहिरहोस् भनेर म यस क्षेत्रमा टिक्नु पनि त पर्यो । म यो क्षेत्र छोडेर जान सक्दिन भनिसकेपछि मैले यो क्षेत्रमा केही त गर्नुपर्यो । मैले उहाँसँग हात जोडेर बिन्ती गरें – म पनि चलचित्रमा केही प्रतिशत लगानी गर्छु भनेर । अब पैसा कति हालें त्यो कुरा त नभनौं तर चलचित्रमा असी लाख खर्च भइसकेको छ र प्रमोसन समेत गर्दा करोड नाघीसकेको छ ।

नायिकाबाट सोझै निर्मात्री बन्दा कस्तो अनुभव हुँदो रहेछ ?

नायिका हुँदा पनि मलाई गाह्रो नै लाग्थ्यो । कुनै पनि क्यारेक्टरमा काम गर्दा त गाह्रै हुन्छ नि । म त साधारण तरिकाले आफ्नो जिन्दगी बिताइरहेकी थिएँ । अर्को नयाँ क्यारेक्टरमा ढल्नु पर्दा त्यो पनि गाह्रै थियो । ओहो यो भन्दा गाह्रो काम केही पनि छैन जस्तो लाग्थ्यो । तर निर्माणमा हात हालिसकेपछि मलाई यो अझै बढि गाह्रो लाग्यो । चलचित्र सुटिङ गर्न त धेरै सजिलो रहेछ । तर प्रदर्शन गर्ने बेला त पसिना नै निस्कँदो रहेछ भन्ने अहिले थाहा पाएँ ।

तपाईंको चलचित्रको कथा प्राय रोनाधोना कै मात्र हुन्छ किन ?

यसमा रोनाधोना मात्र नभएर कुनै पनि कुराहरुमा महिलाहरु पनि कम छैनन् है भनेर देखाउन खोजेको हुन्छ । महिलाहरु पनि शक्तिशाली हुन्छन् है भनेर देखाउन खोजेको छ । अरुले लेडिज एक्सनहरु बढि राख्दैनन् हाम्रोमा लेडिज एक्सनहरु बढि हुन्छ । मेरा चलचित्रहरुमा पुरुषहरु मात्र हैन नारीहरु पनि सक्षम छन् भन्ने सन्देश दिन खोजिएको हुन्छ । नारीहरुले पनि केहीगर्न सक्छन् भन्ने खालको सन्देश छोडेकै हुन्छ । मेरो चलचित्रहरुमा रोनाधोना मात्रै हुँदैन ।

 छबिजी र तपाईंको विवाहको कुरा पनि चल्दै थिया नि ? 

हो एक जमानामा चल्दै थियो । अहिले म बुझ्दै छु । जिन्दगी धेरै लामो छ सोच्नु पर्ने हुन्छ । प्रोफेसनल लाइफकोबारेमा मात्र बुझेर हुँदैन रहेछ । त्यसैले व्यक्तिगत जीवनको बारेमा पनि बुझ्दै छु । 

तर चलचित्र प्रदर्शन पछि आगामी दशैंमा विवाह गर्दै हुनुहुन्छ रे भन्ने चर्चा पनि छ त ?

चलचित्र प्रदर्शन गर्ने त्यसपछि हाम्रो विवाहको बारेमा सोच्ने भनेर छविजीले भन्नुभएको हो । उहाँले विवाह गर्ने भनेर भन्नुभएको होइन । समाचारहरु घुमाएर, दामी हेडलाइन बनाएर राखेको मैले पनि पढेकी थिएँ । अब बोलेको हामीले अर्कै हुन्छ तर हेडलाइन बन्छ अर्कै,कसलाई के भन्ने !

चलचित्र प्रदर्शनको समयमा तपार्इंहरुको बिवाहको चर्चा धेरै हुन्छ नि त ? 

म यो कुरा प्रष्ट बनाउँछु । मलाई यो विवाहको कुरा सुन्दासुन्दा आफैंलाई रिस उठ्न थालिसक्यो । किनभने मैले पनि आफूले निर्माण गरेको कारणले होला म मेरो चलचित्रको कुरा बढि आओस् भन्ने चाहन्छु । हाम्रो व्यक्तिगत जीवनकोबारेमा धेरैले नकोट्याईदिउन् जस्तो लाग्छ । अब चलचित्र प्रदर्शन हुने बेलामा मात्र मिडियाहरुले हामीलाई खोज्दै आउनुहुन्छ । अरुबेला त कसैले वास्ता नै गर्दैन । हामीसँग बीस पच्चिस मिनेट अन्तर्वार्ता गर्दा चलचित्रको बारेमा, व्यक्तिगत कुराहरुको बारेमा र कलाकारहरुको बारेमा कुरा गर्नुहुन्छ । विवाहको कुरा पाँच मिनेट सोध्दा पनि त्यसलाई हाइलाइट किन गरिदिनुहुन्छ । यो प्रश्न म मिडियाका साथीहरुलाई सोध्न चाहन्छु ।

हामीले जबकी चाहेकै छैन हाम्रो व्यक्तिगत जीवनको बारेमा नसोधदिनुस् । मेरो जीवनको बारेमा म सोच्दै छु । मेरो निधारमा जे लेखिएको छ त्यहि हुन्छ । भोलि जे पनि हुनसक्छ । छविजीसँग विवाह हुन पनि सक्छ नहुन पनि सक्छ । भाग्यमा जे लेखिएको हुन्छ त्यहि नै हुन्छ । म अहिले विवाह गर्दिन । अहिले म आफूलाई करियरमा फोकस गरिरहेकी छु ।  प्रस्तुति : सुकृत नेपाल 
   
 


 

 
      

ताजा खबर