नेपालका ५६ भाषा मरणासन्न अवस्थामा

२०७४ असार १३ मंगलबार १५:३९:०० मा प्रकाशित

धुलिखेल, १३ असार । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले भाषाको विकास र संरक्षणका लागि विगत र वर्तमान अवस्थाका बारेमा संश्लेषण गर्न आवश्यक रहेको बताएका छन् । 

प्रदेश नं ३ का जिल्लालाई केन्द्रित गरी ‘भाषा आयोगको मार्गचित्र निर्माण एवम् भाषासम्बन्धी अन्तक्र्रियात्मक’ कार्यक्रममा अवस्थीले भाषाको विगतको विरासत र अहिलेको वर्तमान अवस्थाबीचमा भिन्नता रहेकाले त्यसको संश्लेषण गरी अगाडि बढ्न आवश्यक भएकामा जोड दिए। 

अवस्थीले भने,“स्थानीय तहको संवाहक भनेको भाषा हो, त्यसको विकास स्थानीय तहबाट नै गर्न जरुरी छ ।” उनले नेपालमा हाल ३५ प्रतिशतले मात्रै मातृभाषा बोल्ने गरेको उल्लेख गर्दै बाँकी भाषा लोप हुने अवस्थामा रहेकाले त्यसको संरक्षण र विकास स्थानीय तहले गर्नुपर्ने बताए। 
कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भाषा मानव जीवनको पहिचान र संस्कृतिसमेत भएकाले भाषा मेटिन लागेको अवस्थालाई जोगाउन आवश्यक रहेको बताए । ब्याञ्जुले भने, “जसले भोलिको दिनमा आफ्नो पहिचान र इतिहासलाई संरक्षण गर्न चाहन्छ, उसले भाषाको संरक्षण र विकास गर्न लाग्नुपर्छ ।” अब प्रत्येक प्रदेशले आफ्नो प्रदेशभित्र बोलिने भाषाको सङ्ग्रहालय नै खोल्न जरुरी रहेको सुझाव उनले दिए। 

कार्यक्रममा भाषाविद् धनराज रेग्मीले नेपालमा रहेका एक सय २३ भाषामध्ये ५६ भाषा मरणासन्न अवस्थामा रहेको जानकारी दिँदै त्यसका लागि भाषा आयोग केन्द्रीय विभागले मातृभाषालाई प्राथमिक शिक्षामा जोड दिन आवश्यक छ भने। उनका अनुसार त्रिविले ९६ भाषा सर्वेक्षण गरिसकेको र बाँकी भाषाको अवस्थाका बारेमा पनि सर्वेक्षण भइरहेको छ । 

आयोगले देश सङ्घीयतामा गइसकेका अवस्थामा केन्द्रले मात्रै नभई प्रदेश र स्थानीय तहबाट नै कसरी भाषाको संरक्षण र विकासमा लाग्न सकिन्छ भन्ने विषयमा मार्गचित्र निर्माण गर्नका लागि त्यस खालको कार्यक्रम गरिएको जनाएको छ । 

कार्यक्रममा ३ नं प्रदेशका काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौँ, नुवाकोट, रामेछाप, सिन्धुलीलगायत जिल्लाका भाषाका क्षेत्रमा काम गरिरहेका सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधि र शिक्षकको सहभागिता छ । रासस 

ताजा खबर