कमल न्यौपाने रिटायर्ड क्याप्टेन । उबेलाको शाही नेपाल वायु सेवा निगमका बरिष्ठ क्याप्टेन न्यौपानेले बादलमाथि हज्जारौं घण्टा बिताएका छन् । नेपाल,दक्षिण एशिया र यूरोपका आकाशमा कतिपटक चक्कर लगाए स्वयं न्यौपानेलाई नै सम्झन कठिन हुन्छ । उडानका समय कति जहाज अपहरणमा परे,कति त नामोनिशान नभेटिनेगरी दुर्घटना नै भए,क्याप्टेन न्यौपानेले यस्ता अनेक अप्रिय समाचार कहिले आकाशमा उडिरहेका बेला सुनेका छन् । कहिले उड्न लागेका अवसरमा पनि । तर उनले  जहाज उडाउने साहस कहिल्यै पनि गुमाएनन् । शौभाग्यको कुरा हो क्याप्टेन न्यौपानेले कहिल्यै पनि यस्ता आपतकालिन दिनहरुको सामना गर्नुपरेन । उनले जति वर्ष जहाज उडाए सकुशल उडाए । अनि हवाई जहाज उडाउने अनुमति सकिएपछि आफ्नो जागिरे व्यस्ततालाई सलाम गर्दै उनले करिअरलाई सकुशल अवतरण गरे । अहिले क्याप्टेन न्यौपाने ध्यानको उडानमा रमाएका छन् । आकाशबाट देखेको संसारभन्दा बिल्कुल नयाँ तर आश्चर्यले भरिपूर्ण झलमल आकाश हेरेर जीवनका बाँकी दिनहरु खर्च गरिरहेका छन् उनी । क्याप्टेन न्यौपानेले लामो समयको आकाश यात्रामा सँगालेका अनुभव उनकै शब्दहरुमा :

प्रशिक्षण उडान कराँचीमा

मैले टे«निङ गर्दाबाट नै जहाज उडाउन सिकेको हो । पहिलो उडान कराँचीमा गरेको थिएँ । सन् १९६७ मा कराँचीमा सिंगल इन्जिन जहाज थियो, त्यहि उडाएको हो । जहाज उडाउँदा मसँग मेरो प्रशिक्षक पनि थिए । प्रशिक्षकसँग जहाज उडाउन खोज्दा डर लाग्नु स्वाभाविक नै थियो । तर अहिले सोच्दा अचम्म लाग्छ । प्रशिक्षकले पहिलो दिनमा मलाई साधारण कुराहरु सिकाएका थिए । कसरी जहाज घुमाउने, जहाजमा भएका उपकारणहरुलाई कसरी प्रयोग गर्ने । प्लेन टेक अफ हुँदा के गर्नु पर्छ र ल्यान्ड गर्दा के गर्नु पर्छ भन्ने कुराहरु सिकाएका थिए । 

ट्वीनअटरबाट व्यावसायिक उडान

म क्याप्टेन भएपछि पहिला आफ्नो कमाण्डमा ट्वीनअटर उडाएँ । आफू क्याप्टेन भएपछि पहिलो पटक जहाज उडाउँदा के हुने होला, उडाउन सक्छु कि सक्दिन भन्ने जस्ता कुराहरु दिमागमा खेलिरहे । अलिअलि डर पनि लाग्यो तर डर लागे पनि मैले हिम्मत गरें र प्लेन उडाएँ । मेरो को–पाइलट अलि नयाँ नै थिए, केही भईहाल्यो भने को–पाइलटसँग मद्दत माग्ने कुरा पनि आउँदैनथ्यो । ट्रेन्ड भइसकेको हुनाले मलाई खासै गाह्रो भएन ।

पहिलो नै क्र्यास

म पहिला मेघौली गएको थिएँ । त्यतिबेला हामी दुईजना क्याप्टेन थियौं । पहिलो फस्ट कमाण्ड भएकै दिन अरु उडान गरिसकेर मेघौली डोयल क्याप्टेन उड्ने भनेर म र मेरो एउटा साथी सँगै उड्यौं । पेपर सबै मैले बनाएँ । अनि उनलाई उडाउन दिएँ । उनलाई उड्न दिएको त कमाण्डमा आएको पहिलो दिनको फ्लाईट नै क्रयास भयो । धेरै जान्ने हुनाले यस्तो भयो । मेघौलीमा एकदमै बिस्तारै ल्यान्डिङ गर्न लाग्दा अलि बाउन्स हुन्छ कि भनेर अलिकित पावर दिन खाजेको थियो । पावर त दियो तर जहाज फुस्स माथि गयो ।  माथि गएपछि एउटा टहरामा ठोकिएर क्रयास भयो । क्रयास हुँदा जहाजमा सबै भर्खरका अमेरिकन केटीहरु थिए । हामीले उनीहरुलाई उठाउनु पर्ने ठाउँमा उल्टै तिनीहरुले लडेको ठाउँबाट मलाई पो उठाएका थिए । टहरामा ठोकिएर मेरो खुट्टा बज्रिएको थियो । उनीहरुले नै मलाई व्यान्डेजहरु गरिदिएका थिए ।

जहाज ब्रेक फेल भएको घटना

मैले काम गरेको ३६ वर्ष भयो । ३६ वर्ष मा धेरै घटना घटे । जहाज उडाउनु भनेको पनि त एउटा घटना नै हो । कतिबेला के हुन्छ भन्न सकिन्न । मेरो दुई पटक त्यस्तै घटना घट्यो । एकपटक बोइङ ७२७ उडाउँदा एउटा को–पाइलट थियो । त्यसबेला पनि जहाजको हाइड्रोलिक सिस्टम फेल भयो । यो भनेको जहाजको ल्यान्डिङ गेयर निकाल्न नमिल्ने हो । पछि जहाजलाई दिल्ली लिएर गइयो र त्यहिं समाधान गरियो । त्यसपछि फर्किने बेलामा जहाज ल्यान्डिङ गर्नुपर्ने तर जहाजको ब्रेक फेल भइदियो । अनि हामीले बल्ल बल्ल बाँकी भएका इमरजेन्सी ब्रेक लगाएर जहाज रोक्यौं । यो समस्या पार लाग्यो तर जहाजको स्टेयरिङले पनि काम गरेन । जहाज त्यहि छोडेर रिपोर्टटिङ गरेर हामी घर लागेका थियौं । 

मैलै नेपालको सबै ठाउँमा जहाज उडाएको छु । हाम्रो यात्रुहरुसँग सोझै कुरा हुँदैनथ्यो । पर्यो भने मात्र नभए धेरै मान्छेहरुलाई कोक्यापटेन को हो, यो, त्यो नै भन्ने हुँदैन । हामीलाई यी कुराहरुमा त्यति वास्ता पनि हुँदैनथ्यो । जहाजमा राजा चढुन् कि प्रधानमन्त्री पाईलटलाई खासै मतलब हुन्न । हाम्रो काम भनेको यात्रुहरुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्याउने हो । हाम्रो नाम बिमान परिचारिकाले प्लेन उड्नु भन्दा अघि यात्रुहरुलाई सुरक्षा सम्वन्धी सुझाव दिँदा मात्र लिने गर्छन् । पछाडि को को हुन्छ खासै हामीलाई मतलब हुँदैन । क्याबिन क्रूले आएर रिपोर्ट गरे भने मात्र हामी ध्यान दिन्थ्यौं । 

वीपी मसँग उडेका छन्

  कांग्रेसका संस्थापक नेता वीपी कोइराला मैले उडाएको जहाजमा चड्नु भएको छ । मेरो स्वर्गीय दाजुले वीपी फर्किसकेपछि एकपटक मलाई मित्रपार्कमा लिएर जानुभएको थियो । त्यहाँ गएर बाहिरै बेन्चमा हामी बस्यांै, त्यसबेला वीपी त्यति बोल्न सक्नुहुन्नथ्यो । चिनापर्चीको क्रममा मलाई वीपीले सोध्नु भयो– ‘यो नदेखेको मान्छे को भनेर ।’ अनि मेरो दाईले भाई हो मेरो भनेर उहाँसँग मलाई चिनाईदिनु भएको थियो । त्यसपछि मलाई वीपीसँग केही सोध्न मन लागेको थियो, तर मेरो दाईले अहिले केही सोध्नु पर्दैन भन्नुभयो । मलाई एकदमै सोध्न मन लागेको थियो र मैले सोधें पनि । ‘मैले प्रजातन्त्र आएपछि के हुन्छ र प्रजातन्त्र भनेको के हो भनेर वीपीलाई सोधेको थिएँ । उहाँले बताउनु भएको कुरा सबै मैले लेखेर राखेको छु ।   झण्डै ६ महिना पछि जतिबेला म एभ्रो बिमानमा क्याप्टेन थिएँ । यात्रुहरु लिएर काठमाण्डौबाट बिराटनगर जान लागेको थिएँ । काठमाण्डौमा म बिमान कै कर्मचारीहरुसँग कुरा गरिरहेको बेला कसैले पछाडिबाट आएर मलाई धाप हाने र कमल बाबु तपाईं बिराटनगर जाने कि नजाने भनेर सोधे । म एकछिन त झसंग परें । पछाडि फेर्केर हेर्दा त वीपी पो रहेछन् । मलाई लाग्छ ६ महिनासम्म नदेखेको मान्छेले त्यसरी आएर कुरा गर्दा म त एकदमै आश्र्चयमा परें । यसरी उहाँ मेरो जहाजमा बिराटनगर जानुभएको छ । एकपटक गणेशमान सिंह बिमारी हुँदा पञ्चायतकालमा उहाँलाई लुकाएर लैजानु पर्ने थियो । कहिं कतै रिपोर्ट नगर्दै उडेर दिल्ली पुर्याएको छु ।

जति उचाई त्यति सुरक्षित

मैले त्यस्तै ४३ हजारको उचाईसम्म जहाज उडाएको छु । डर त खासै हुँदैन, त्यसले त झन आफूलाई सुरक्षित महसुस हुन्छ । मैले उडाउँदासम्म जहाज अपहरणमा परेन । अहिले रिटायर्ड भएपछि पनि जहाज उडाउँ उडाउँ जस्तो लाग्छ । सपनामा त धेरै पटक जहाज उडाएको पनि छु । तर अब कहाँ पाईन्छ र । मैलै यहाँ काम गरेर खासै पैसा भने कमाईन । पैसा भन्दा पनि मलाई धेरैले चिने । नाम कमाईयो भन्न सकिन्छ । म ३६ वर्ष काम गरेर रिटायर्ड हुँदा मेरो तलब १६ हजार थियो । महिनामा मैले १ हजार रुपैँया कमाउँथे । पछिल्लो १५ वर्ष त मैले अन्तर्राष्ट्रिय बिमान उडाएँ । त्यतिबेला नेपालको जहाज उडाउने भनेको आँखाले हेरेर मात्र उडाउने हो । तर बाहिर जहाज उडाउँदा धेरै कुराहरु ध्यान दिनु पर्ने हुन्थ्यो । 
पहिला धेरै अनुशासन थियो । सबैले भनेको मान्थे । अहिले धेरै बिमानहरु आए । अनुशासन पनि  हराउँदै गयो । धेरै बिमानहरुले आ–आफनो तरिकाबाट बिमान उडाउन थालेका छन् । एउटा पाइलटले बुझ्न नसक्ने ठाउँमा अर्को पाइलटले उडाइदिने । यही भएर अहिले बिमान क्र्यासका घटनाहरु पनि बढि हुन्छन् ।

प्रस्तुति : सुकृत नेपाल    
तस्बिर-ककपिटको अगाडि दायाँतर्फ बसेका क्याप्टेन न्यौपाने ।         

ताजा खबर