यस्तो पत्र आयो - प्रधानन्यायाधीशको चरित्र हत्या गर्ने गिरोह चिनौं !

२०७४ फाल्गुण ९ बुधबार १२:३४:०० मा प्रकाशित

विभिन्न तरिकाबाट यो देशका हरसंयन्त्र तथा निकायलाई कमजोर बनाउने, विवादमा ल्याउने र गरिमामय एवं संवेदनशील त्यस्ता निकायहरुप्रति नागरिकको आस्थामा कमिल्याउने खालका दुष्साहसी कार्यहरु भइरहेका छन् । यतिबेला कार्यपालिका, न्यायपालिका जस्ता अतिसंवेदनशील संवैधानिक अङ्गसमेत षड्यन्त्रकारी तत्वको टार्गेट बनेका छन्, बन्दै आएका छन् । कहिले अदालत, कहिले सुरक्षा निकाय, कहिले स्वास्थ्य, त कहिले कुन कहिले कुन क्षेत्र तथा निकाय र तिनका प्रमुख पात्रलाई टार्गेट गरी नाजायज गतिविधि मच्चाउने, मर्यादित पात्रहरुकाबारेमा बेइज्जतिपूर्ण अफवाह फैलाउने, प्रतिष्ठित ओहोदामा रहेका आधिकारिक व्यक्तिको चरित्रहत्या हुने कामहरु गरिगराई आमजनमानसमा भ्रम सिर्जना गर्ने काम भइरहेको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई बद्नामी गर्ने हरकोशिस तथा षड्यन्त्र भइरहेको प्रष्टिन्छ । न्यायाधीशको विभिन्न चरण हुँदै प्रधानन्यायाधीशको गरीमामय पदमा पुग्दासम्म के उनका सर्टिफिकेट लगायतका कागजातको कुनै जाँच भएन होला ? के कुनै प्रोसेस् नै पूरा नगरी उनी प्रधानन्यायाधीश हुन पुगेका हुन् ? उनका विरुद्ध बजारमा गरिएको हल्ला आफंैमा सर्मिन्दापूर्ण छन् । न्यायपालिकाको गरिमामै आँच आउने गरी षड्यन्त्रकारी गिरोहहरु दिनरात सल्बलाइरहेका छन् । 

हरकोणबाट झुटो कुरालाई सयौंहजारौं पटक भनिरह्यो भने त्यो पनि सत्य सावित हुन्छ भने जस्तै । कुत्सित नियतले परिचालित पाश्र्वअसर कारक तत्त्वहरुले गोपालप्रसाद पराजुलीको लास्टै खेदो खनिरहेका छन् । यसले डा. गोविन्द के.सी.को स्वास्थ्यक्षेत्रको मुद्धाले बनाएको उचाई पनि गिराउने देखिन्छ । 

प्रधानमन्त्री बनेको तेस्रो दिनदेखि नै प्रधानमन्त्रीको समेत राजीनामा माग्ने काममा अग्रसर डा.केसीलाई उनमा सवारभएको उन्मादी मनोविज्ञानले कता लैजाने हो भविष्यले बताउला । मनमोहन मेडिकल कलेजकै नाताले डा.केसीले प्रधानमन्त्रीको राजीनामा माग्ने धन्दालाई चलाउन खोजेका हुन् भने यो किर्पणी कार्यले डा.केसीलाई कहाँ पुर्याउँछ । हिजोका दिनमा स्वास्थ्यको क्षेत्रका अभिभावकको हैसियत र राम्रो समर्थन पाएका केसी अबको उनको गन्तव्य कता हुने हो चनाखो भएर हेर्न पनि पर्ने भएको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको जन्ममिति लगायतका विषयमा यस पूर्वपनि सवाल उठेर त्यस उपर न्याय परिषद्बाट सफाई भइसकेको  हो । सफाई भएपछि मात्रै उनी प्रधानन्यायाधीश बनेका हुन् । बरु डा. केसीकै जन्ममितिको विवरणहरु विभिन्न कागजातमा अलगअलग भएको पनि त सुन्नमा आएको छ । के अब अर्को केसी उत्पादन गरेर डा.केसीको विरुद्धमा हल्लाबाजी गर्न लगाउने ?

कुन निकायको प्रमुख को हुने भन्ने एउटा निश्चित विधि छ । सो विधिले तय गरेको अधिकारी प्रमुख हुन्छ नकि डा.केसीले भनेको व्यक्ति । आज डा. केसीलाई प्रधानन्यायाधीश मन परेन प्रधानन्यायाधीश फेर्ने, भोली फेरि प्रधानमन्त्री राष्ट्रपति मन नपर्ला अनि प्रधानमन्त्री राष्ट्रपतिलाई पनि हटाएर अर्को ल्याउने ? डा. केसी वास्तवमा के चाहन्छन् ? उनी स्वास्थ्यक्षेत्रका आधिकारिक व्यक्ति हुन् भने उनले स्वास्थ्य सेवाको बारेमा आफूले कसरी बढीभन्दा बढी उचित सेवा दिनसकूँ भन्नेतर्फ चिन्तित हुन जरुरी छ नकि विभिन्न संवैधानिक निकायमा बसेका व्यक्तिहरुको चरित्रहत्या गर्ने    कार्यमा । 
डा.केसीलाई उचाल्नेहरुको पँक्तिलाई पनि आमसर्वसाधारणले पहिचान गरिरहेको अवस्था छ । लहैलहैमा लागेर मुखमा जे आयो त्यही बोल्दै हिँड्ने राजनीतिकर्मीदेखि लिएर अन्य आफूलाई सामाजिक अभियन्ता भन्ने सबैले समयमै होस पुर्याउन जरुरी छ । डा. केसीले मनमोहन मेडिकल कलेजलाई नै टार्गेट गरेर अनसन बसिरहनु पर्ने विषयको बारेमा पनि सरोकारपक्षले मूल्याङ्कन गरिनै रहेको छ । 

बजारमा यो मुद्धाले बढीनै अनावश्यक आतङ्क सिर्जना गरेपछि मात्रै ब्यूरोले यसप्रति चेष्टा बढाएको हो । यस्ता अनावश्यक हल्लाबाजी गर्ने र राज्यका संवैधानिक तथा मर्यादित अङ्गमा रहेका अधिकारीहरुको बेइज्जति गर्ने लगायतका कार्य गर्ने र अन्ततः राज्य तथा समाजको सुशासनमै खलल ल्याउने काममा उद्दत तत्त्वको विरुद्ध सबै नागरिक समयमै होशियारी हुन जरुरी छ ।

(यो पत्र INTELLIGENCE BUREAU OF NEPAL नेपाल समाचार ब्यूरोका नामबाट बुधबार बिहान सरल पत्रिकालाई प्राप्त भएको हो ।)
 

ताजा खबर