सर्वनाममा अब ‘जिउँदो आकाश’

२०७४ फाल्गुण ६ आइतबार १४:१८:०० मा प्रकाशित

काठमाडौं, ६ फागुन । जन्मिदा केटा भएर जन्मिएका गौरवको स्वाभाव भने केटीको हुन्छ ।  उनको हुर्किदाको नाम गौरव हुन्छ भने पछि उनी गरिमा बन्छिन् । उनमा पुरुषको शरीर भए पनि स्वभाव तथा प्रकृति भने स्त्रीको हुन्छ । समाजले उनको यो चरित्रलाई चित्त बुझाउँदैन । उनलाई समाजले कतैबाट पनि राम्रो दृष्टिकोणले हेर्दैन । उ स्कुलमा पनि स्वतन्त्र भएर पढ्न पाउँदैन । अरु त अरु उसको आफ्नै काका समेत दुश्मन भएर उभिन्छन् ।  कहिले पिट्ने त कहिले मानसिक यातना दिने । उनलाई धेरै मन पराउने दिपक पनि उनीबाट एकाएक टाढिन्छन् ।  यो कथा हो कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन ११ बाट शुरु हुने नाटक ‘जिउँदो आकाश’ को ।  

नाटकमा मनोरञ्जनका साथै रोदन र वेदनामा समेटिएको छ । नाटक हेरिरहँदा कसैले अभिनय गरिरहेको छ भन्ने लाग्दैन । कथा एकदमै सर्रर बगेको पानी जस्तै लाग्छ ।  अनिल सुब्बाले आफनो चरित्रलाई सर्लक्कै अँगालेका छन् । उनको अनुहारको अभिव्यक्ति, शारीरिक हाउभाउ, चालढाल हेर्दा कतै लाग्दैन एक पुरुषले अभिनय गरिरहेका छन् । अनुहार हेर्दा र स्वर सुन्दा पुरुषजस्तो लाग्छ, शृंगार र चालढाल हेर्दा महिलाजस्तो लाग्छ । फ्रक र सुरुवाल लगाएको अनिल आफनो चरित्रमा पुरै डुबेका छन् ।

‘जिउँदो आकाश’ गतवर्ष पहिलो पटक दोलखाको चरिकोटमा मञ्चन भएको थियो । तेस्रोलिंगीले पनि आम मान्छे जस्तै जन्म लिने हुन् । तर सामाजिक चेतना स्तर कमजोर भएका कारण उनीहरू अन्य सरह स्वतन्त्र भएर बाँच्न पाइरहेका छैनन् ।

तेस्रोलिंगीको कथा समेटिएको तथा अनिल सुव्बाको एकल अभिनय रहेको नाटकलाई चन्द्रप्रसाद पाण्डेले लेखेका हुन ।  आरके मेहता रोशनको निर्देशन तथा परिकल्पना रहेको नाटकको निर्माण भने सम्रान्त थापा र टंक टाइगर (संग्रौला) ले गरेका हुन् । 

डाँफे थिएटरको प्रस्तुति रहेको नाटकमा विनोद बञ्जारा, विश्व काफ्ले, टंक टाइगर (संग्रौला), सुशान्त चालिसेका संगीत संयोजन रहेको छ भने प्रकाश परिकल्पना मिलन नेपालीको रहेको छ ।

नाटक फागुन १९ गतेसम्म मञ्चन हुनेछ । 

ताजा खबर