बन्यो कालिन्चोक मन्दिर जाने नयाँ बाटो 

२०७४ असार १३ मंगलबार १२:१२:०० मा प्रकाशित


शम्भु गौतम- दोलखा, १३ असार । प्रशिद्ध कालिन्चोक भगवती मन्दिर जाने पैदल मार्गले नयाँ रुप पाएको छ । भूकम्प हुँदा भत्किएको पैदल मार्गको मर्मत र नयाँ निर्माण भएपछि अब दर्शनार्थीलाई मन्दिर पुग्न कुनै कठिनाई नभएको बताईएको छ । नेपाली सेनाका सहायक रथी जितबहादुर गुरुङ र स्थानीय विकास अधिकारी शंकर नेपालले पदयात्रा मार्ग उद्घाटन गरेका छन् । 


२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको घ्याङडाँडादेखि कालिन्चोक मन्दिरसम्मको पदयात्रा मार्ग नेपाली सेनाको रणभीम गणले निर्माण गरेको   हो । सो पदयात्रा मार्गमा भूकम्पले भत्किएको ठाउँहरुमा फलामे भ¥याङ हाल्ने, रिलिङ लगाउने र सिँडी बनाउने तथा बाटो मर्मत गर्ने काम भएको   छ । सो मार्ग निर्माणको लागि जिल्ला समन्वय समितिबाट ५ लाख ५० हजार बराबरको निर्माण सामग्री, रणभीम गण चरिकोटबाट ६५ हजार रुपैयाँ बराबरको निर्माण सामग्री र श्रमदान तथा जिल्लाका उद्यमीहरुबाट ६० हजार बराबरको निर्माण सामग्री खर्च भएको रणभीम गण चरिकोटले जानकारी दिएको छ । 


निर्माण तथा मर्मत कार्य सम्पन्न भएपछि सो पदयात्रा मार्ग नेपाली सेना ९ नं बाहिनी अड्डाका बाहिनी पति सहायक रथी जितबहादुर गुरुङले कालिन्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामीलाई हस्तान्तरण गरे ।  कालिन्चोक मन्दिर नजिकै पदमार्गमै भएको उद्घाटन समारोहमा सहायक रथी गुरुङले प्रसिद्ध कालिन्चोक मन्दिर जाने पैदल यात्रा मार्ग निर्माणपछि सो क्षेत्रको पर्यटन विकासमा सघाउ पुग्ने बताए । यस्तै विकास निर्माणको अरु काम र अन्य स्थानमा पनि आफूहरु तयार भएको प्रतिवद्धता व्यक्त    गरे । 


स्थानीय विकास अधिकारी शंकर नेपालले प्रसिद्ध कालिन्चोक मन्दिर जाने पैदलमार्ग भूकम्पले क्षतिग्रस्त बनाएपछि नेपाली सेनाको रणभीम गणसँग सहकार्य गरी पदयात्रा मार्ग निर्माण गरेको बताए । उनले सो काममा सम्पूर्ण श्रमदान गरी मार्ग निर्माण गरेकोमा रणभीम गणलाई धन्यवाद दिए । 
कालिन्चोक गाउँपालिका प्रमुख विनुकुमार थामीले निर्वाचित प्रतिनिधिहरु तथा पार्टीका नेताहरुले भाषण गर्न छाडेर काम गर्ने बेला आएको बताए । उनले भने, ‘मुख चलाउन छाडेर हात र दिमाग चलाउनुपर्ने बेला भएको छ ।’ 


रणभीम गणका गणपति झविन्द्रबहादुर रेश्मीले जिल्ला समन्वय समितिको मुख्य सहयोगमा पहिलो चरणमा सो पदयात्रा मार्गको निकै काम भएको र यात्रुहरुलाई बाटो सहज भएको बताए । उनले अन्य आवश्यक निर्माण सामग्री कहीँबाट सहयोग भए आफूहरु बाँकी रहेको काम गर्न तयार रहेको प्रतिवद्धता जनाए ।  पछिल्लो समय कालिन्चोक भगवती मन्दिर जाने यात्रुहरुको संख्या निकै बढ्ने गरेको छ । त्यसैगरी कालिन्चोक क्षेत्रमा चलचित्र छायाँकन गर्ने तथा म्युजिक भिडियो छायाँकन गर्नेहरुको आकर्षण बढ्दै गएको छ । 

ताजा खबर