‘पत्रकार छन् समाचार लेख्न जान्दैनन्’

२०७४ फाल्गुण ५ शनिबार १४:५९:०० मा प्रकाशित

अहिले पत्रकारिता पढेर आउनेहरुको संख्या धेरै छ । मैले पत्रकारिता गर्दा देशमा तीन हजारको हारहारिमा पत्रकार थिए । तर अहिले पत्रकार महासंघको सदस्य मात्रै १५ हजार छन् । सदस्य नै नबनेका पत्रकार पनि छन् । यसोगर्दा अहिले २० हजार पत्रकार छन् भन्दा फरक पर्दैन । मिडिया हाउस जन्मिदैछन् । ५०० को हारहारिमा त एफएम नै चलिरहेका छन् । १०० वटा जति टिभी च्यानल छन् । अनलाइन मात्रै १५ सय भन्दा माथि पुगिसके । संख्यात्मक हिसाबले यो धेरै ठूलो भयो तर पत्रकारितामा दक्ष जनशक्तिको अभाव छ । पत्रकारहरुको संख्या ठूलो छ तर अहिले पनि समाचार लेख्न सक्ने पत्रकार खोज्यो भने पाइँदैन । त्यसैले पत्रकारितामा राम्रो जनशक्तिको पूर्ण अभाव छ । 

पत्रकारिता शुरुवात 

म औपचारिक रुपले पत्रकारितामा लागेको २०४० साल देखि हो । नयाँ सन्देश, मातृभुमि, राष्ट्रपुकार साप्ताहिक पत्रिकाहरु म स्कूल पढ्दा नै पढ्न पाएको थिएँ । म इटहरीमा हुर्केको हुँ । त्यहाँ एउटा गुराँस पुस्तक पसल थियो । त्यहाँ जान्थे अनि नयाँ सन्देशमा खोकनाको कार्टुन छापिन्थ्यो । मैले २०३० देखि ०३६ सालसम्मको त कार्टुन मात्र संकलन गरेर राखेको थिएँ । कहिलेकाहीँ सम्पादकलाई चिठी लेख्थें । त्योबेला पत्रिकाहरुमा प्रश्न उत्तर भन्ने स्तम्भ आउँथ्यो । त्यसमा पनि प्रश्नका उत्तर पठाउने गर्थें । मेरो मामाघरमा पत्रिकाहरु आउथे । मलाई अलिकति बिद्यार्थी राजनीतिमा पनि चासो थियो । इटहरीका पत्रकारहरुमा डम्बर बहादुर थापा जो भर्खरै दिवंगत हुनुभयो । उहाँ मातृभुमिको संवाददाता हुनुहुन्थ्यो । अर्का पत्रकार ऋतुवर्ण पराजुली हुनुहुन्थ्यो । उहाँहरु अभिवादन र सयपत्री भन्ने पत्रिका निकाल्नुहुन्थ्यो ।   त्यहाँ पञ्चायतकालमा पत्रिकाहरु बन्द हुने चल्ने भइरहन्थ्यो । पत्रकारहरुको रहनसहन देखेर २०३४ सालतिर डम्बरबहादुर थापाले एमालेका नेता मनमोहन अधिकारी र कांग्रेसका संस्थापक बिपि कोइरालाको अन्तर्वार्ता लिनुभएको थियोे । उहाँहरुको काम नजिकबाट नियाल्न पाएपछि मलाई लाग्यो यो त बडो गजबको पेशा रहेछ । पत्रकारिता पेशाप्रतिको आकर्षण यसरी भयो । तर म पत्रकार नै बन्छु भन्ने कुनै निश्चित त थिएन ।

पत्रिकामा छापिएको पहिलो सामग्री

मैले बिराटनगरमा एउटा साथी भन्ने पत्रिकामा व्यङ्ग्य लेखेको थिएँ । म साहित्यमा पनि रुची राख्ने मान्छे । मेरो कविता र व्यङ्ग्यहरु २०३४÷०३५ सालमा नै छापिएका थिए । 

  तलब र सुविधा

मैले युगधारा पत्रिकामा लेख्ने काम सुरु गरेको हो । तलब भनेर त्यस्तो तोकेको त हुँदैनथ्यो तर महिनाको २०० रुपैंयाँ हामीलाई दिने गरेको थियो । अब थप सुविधा भनेको अफिसमा बस्दा चिया पिउन पाइन्थ्यो । साप्ताहिक पत्रिका थियो । भोलि पत्रिका निस्कन्छ भने अघिल्लो दिन बेलुका अफिसमा मासु भात खान पाईन्थ्यो । कहिलेकाहीँ अरु सामान्य खर्चहरु पनि पाइन्थ्यो । 

काम गरेका संस्थाहरु 

मैले यथार्थ साप्ताहिक, छलफल साप्ताहिक, नवजवान साप्ताहिक, प्रयाश साप्ताहिकमा काम गरें । यी   पत्रिकामा कहिलेकाहीँ सानोतिनो खर्च टार्न काम गरिन्थ्यो । तर मैले तलब नै लिने हिसाबले युगाधाराबाट काम शुरु गरेको हो । यसमा मैले संवाददाता भएर काम शुरु गरेको थिएँ । यसपछि बिमर्श साप्ताहिकमा एक वर्ष जति काम गरें । मातृभुमिमा मैले सात वर्ष काम गरें । त्यहिबीचमा मैले नेपालीपत्रमा आठ महिना जति काम गरें ।  त्यसपछि मैले रेडियो वातावरण कार्यक्रम चलाएँ । कृष्णा ताम्राकारले मलाई रेडियोमा बोल्न सिकाउनु भयो । मैले यहाँ तीन वर्ष रेडियो कार्यक्रम चलाएँ । यसपछि कान्तिपुर शुरु भयो । मैले सबैतिरका जागिरहरु माया मारेर कान्तिपुर प्रवेश गरें । त्यतिबेला कान्तिपुर र काठमाडौं पोष्टको एउटै रिपोर्टिङ प्रमुख थियो । यी दुइवटा नै म हेर्थें । मैले कान्तिपुरमा तीन वर्ष जति प्रमुख संवाददाता पदमा काम गरें । केही समय पछि कान्तिपुर    छाडें । कान्तिपुर छाडेर   श्रीसगरमाथा र एभरेष्ट हेराल्ड पत्रिका शुरु गर्ने भयौं । उपेन्द्र महतो र कृष्ण आचार्यहरुको यसमा लगानी थियो । लगानीकर्ता अरु पनि थिए र मेरो पनि सानोतिनो लगानी थियो । यसमा व्यवस्थापक खासै सफल हुन सकेन र त्यसपछि म त्यो छाडेर स्वतन्त्र रुपमा लेख्न थालें । त्यहिबेला म नेपाल टेलिभिजनमा समाचार सल्लाहकार, बोर्ड सदस्य र अध्यक्ष पनि भएँ । पछिल्लो कालखण्डमा आएर मैले  हिमालयन टाइम्स दैनिकमा पनि एक वर्ष काम गरें ।

एकवर्ष पछि फेरि म कान्तिपुर नै फर्किएँ । कान्तिपुरको नेपाल साप्ताहिकमा म गएँ र त्यसमा मैले दुई वर्ष काम गरें । त्यसमा सम्पादक पनि भएँ अनि त्यो दुई वर्ष सकेपछि कान्तिपुर टेलिभिजनमा सरें। टेलिभिनमा मैले बाह्र वर्ष काम गरें । कान्तिपुर छाडेपछि अहिले यहाँ थाहा खबर डट कम छु । यसमा पनि टेलिभिजनको सुुरुवात गर्ने भनेको थियो तर केही विविध कारणले केही समय लाग्ने भयो । त्यसैले केही न केही काम त गर्नै पर्यो भनेर अनलाइन सुुरु गरेको हो । 

एउटै संस्थामा टिक्न नसक्नुको कारण

अब १४ वर्ष भन्दा कति टिक्ने । मातृभुमिमा ७ वर्ष गरें । यसमा कमजोरी मेरो पनि हुन सक्छ र व्यवस्थापनको पनि । हामीले पनि अवसर खोजेका हुन्छौं र व्यवस्थापनले पनि अलिकित नयाँ गर्दा केही हुनछ कि भन्ने सोचेको हुन्छ होला । तर धेरै कुरा कस्तो छ भने मिडियाको जागिर भनेको हाम्रो लागि नयाँ हो । हामी र काम गर्नेहरु नयाँ हो र व्यवस्थापन त झन नयाँ हो । यस्तो कर्पोरेट हाउसहरु भर्खर भर्खर आएका हुन् । उहाँहरु व्यापारको हिसाबबाट हेर्नुहुन्छ, हामी पत्रकारिताको हिसाबबाट हेछौं । कहिलेकाहीँ दृष्किोणमा तलमाथि पनि पर्छ । मिलाउँछु गर्छु भन्दा भन्दै कहिलेकाहीँ त्यो हुन सक्दैन । त्यसका असन्तुष्टिहरु पनि पोखिन्छन् । यसमा दुबै पक्षको कुरा आउँछ । 

यति धेरै संस्थाहरुमा काम गरेको उपलव्धि

पत्रकारिता भनेको निरन्तर प्रक्रिया हो । यसको उपलव्धि आज लेख्यो भोलिपल्ट नै आउँछ भन्ने पनि छैन । तपाईँ हामीले पञ्चायतकालमा लेखेका कुराहरुले २०४६ सालपछि एउटा परिवर्तन आयो । २०३६ सालको परिवर्तन भन्नुहोस् त्योभन्दा पहिलेको लेखले आयो । धेरै परिवर्तनहरु भएका छन् । यी सबै पत्रकारिताकै माध्यमबाट सम्भव भएको हो । अहिले तपाईँलाई कसैले यो कुरा कहाँबाट थाहा पाईस् भनेर सोध्यो भने, यो पत्रिका पढेर, रेडियो सुनेर अथवा टिभी हेरेर थाहा पाएँ भनिएला । अहिले त अझ सामाजिक सञ्जालहरुले गर्दा यसमा धेरै परिवर्तन आएको छ । मानिसमा जुन परिवर्तन आएको छ त्यो परिवर्तन नै यसबाट भएको हो । कम्युनिकेसन अथवा पत्रकारिताबाट नै परिवर्तन हुन्छ । किन मान्छे यसमा आकर्षित भएका छन् त । पत्रकारितामा आउने मान्छेहरु यति धेरै छन्, त्यो आकर्षण किन छ । मिडियामा लगानी गर्नेहरुको आकर्षण किन छ । अथवा अरु मान्छेहरुले पत्रकारलाई कसरी हेर्छन् । यदी केही पनि नभएको भए त यो बन्द भइसक्थ्यो नि । मैले एकपटक यस्तै प्रश्न मदनमणि दीक्षितजीसँग सोधेको थिएँ । उहाँले यस्तो होइन, हामीले समग्रतामा हेर्नुपर्छ भनेर भन्नुभएको थियो । म पनि वास्तवमा समग्रतामा पनि हेर्नुपर्छ भनेर भन्छु तर यसमा तत्कालमा असरहरु पनि हुन्छन् । 

टिभी, रेडियो र प्रिन्ट 

अब कामको हिसाबले हेर्ने हो भने साप्ताहिक पत्रिकामा काम गर्न अलि आनन्द नै हो ।  पञ्चायतकालमा एउटा गजब के थियो भने पत्रिकामा लेखिसकेपछि त्यसको असर चाहि छिटो हुन्थ्यो । छिटो भन्नाले त्यसको सुनुवाई छिटो हुन्थ्यो । २०४६ सालपछि  क्रमश सुनुवाई कम हुँदै गयो । तर मान्छेहरुमा पर्ने असर चाहि बढ्यो । त्योबेला पत्रिकाहरु सबै ठाउँमा पुग्दैन्थ्यो पनि । समूहमा त्यसको असर कम हुन्थ्यो । अरु आधिकारीक मान्छेहरुले बढि सुन्थे । अहिले पछिल्लो कालखण्डमा माथिल्लो तहले कम सुन्ने र समूहमा यसको असर धेरै हुन थाल्यो । साप्ताहिक सजिलो हो । पाक्षिक पत्रिका अझ आनन्दै हो । अब टेलिभिजन भनेको एकदमै हतारको पत्रकारिता र व्यापार हो । दैनिक पत्रिका पनि समाचार भेला गरेर बेलुका काम सक्छु भन्दा हुने हो । अब अहिले अनलाईन पत्रकारिता सुरु भएको छ । यो बिजुली पत्रकारिता चाहि बिजुली जस्तै छिटो छ । अब यसलाई तपाईले दिने समाचार पनि छिटो चाहिन्छ । मान्छेहरुले छिटो खोज्छन् । यसले पार्ने असर पनि छिटो हुन्छ । सत्यतथ्यमा पनि एकदमै ध्यान दिनुपर्छ किनभने त्रुटी हुनपुग्यो भने यसले आगो बाल्छ । कहि उम्किने ठाउँ हुँदैन ।  

लेटर, अफसेट र बिजुली पत्रकारिता 

यो त धेरै जटिल भयो । रिपोर्टरले समाचार ल्याउँछ । रिपोर्टरले ल्याएर हातले लेखेर, डेस्कलाई बुझाएर, कम्पोज गरेर र फेरि टाइप पनि अर्कैले गर्ने र बल्ल प्रुफ रिडरले प्रुफ हेरेर छाप्ने काम हुन्थ्यो । लामो प्रक्रिया पूरा भएपछि मात्र समाचार तयार हुन्थ्यो तर अब त्यो समय छैन । अब त एउटा रिपोर्टरले आफ्नो समाचार जहाँकहिंबाट पनि अनलाइनमा अपलोड गर्न सक्छ,सुविधा त्यति धेरै उपलव्ध छ । त्यहिबाट टिभीमा पठाउन सक्छ । त्यहिबाट रेडियोमा लाइभ दिनसक्छ । अमेरिकामा निस्कने अनलाइनलाई अहिले नेपालबाट नै पनि अपलोड गर्न सकिन्छ । अहिले समाचारमा जति बिकास भयो नि हामीलाई त्यति दबाब परेको छ । अब तपाईले लेखेको समाचारमा हिजो चुनौतीहरु कम हुन्थ्यो तर मान्छे पत्याउँथे । एउटा पत्रिकामा केही छापियो भने यो हो भन्ने हुन्थ्यो । अब अहिले हामीले केही समाचार दियौं भने पनि त्यहि घटनास्थलबाट दिएको कुरा र एउटा सामान्य नागरिकले दिएको फेसवुकमा हालेको कुरा अथवा ट्वीट गरेको कुरामा केही फरक पर्यो भने तपाईँको विश्वास जीवनभरलाई गुम्छ । अहिले हामी त्यस्तो चुनौतीमा छौं । हरेक पाठक त्यो पत्रकार पनि भइरहेको छ ।

लिडरसिपमा बसेर काम गर्दा व्यवस्थापनसँगको सम्बन्ध 

यो खासमा भन्ने हो भने संयोजनकारी भूमिका हो । सम्पादकीय टिमलाई नेतृत्व गर्ने हो । अब एउटा सम्पादकले एकथोक मात्र हेरेर पुग्दैन । उसले आफ्नो सम्पादन सहकर्मीहरुको पिरमर्का पनि हेर्नु पर्यो । समाचार त हेर्न परिनै हाल्यो । समाचार सबै आएका छन् कि छैनन् । कतै समाचार छुटेको पो छ कि भन्ने जस्ता कुराहरु पनि हेर्नु पर्ने हुन्छ । कुनैबेला अर्को पक्षको समाचार छुटेको पनि हुनसक्छ । कतिपय ठाउँमा व्यवस्थापनका कुराहरुलाई पनि हेर्नुपर्ने हुन्छ । उनीहरुको समाचार पनि छ कि । हामीले मार्केटिङको हिसाबले पनि समाचारहरु हेर्नुपर्ने हुन्छ । मैले कान्तिपुरमा काम सुुरु गरें । अब अहिले त एउटा मिडिया हाउसमा धेरै नै मान्छेहरु हुन्छन् । अब यसमा तलब बृद्धि देखि लिएर बढुवाका कुराहरु होला । उनीहरुको यी कुराहरु पनि बिचार गर्नुपर्यो । ठूलो टिम भइसेकपछि मान्छेहरुबीचको सम्बन्धहरुमा समस्याहरु पनि भइरहेको हुन्छ । त्यसलाई पनि हेर्नुपर्यो । सम्पादक भनेको धेरैतिरको सन्तुलन मिलाउने समन्वयकर्ता पनि हो । व्यवस्थापनसँग मिलेर काम गर्ने हो । तर यो सजिलो काम भने होइन । धेरै टेन्सनको काम हो ।

पत्रकारितामा जनशक्तिको अवस्था

अहिले पत्रकारिता पढेर आउनेहरुको संख्या धेरै बढि छ । मैले पत्रकारिता गर्दा देशमा तीन हजारको हारहारिमा पत्रकारहरु थिए । तर अब अहिले पत्रकार महासंघको सदस्य मात्रै १५ हजार भन्दा बढि छन् । सदस्य नै नबनेका पत्रकारहरु पनि छन् । यसो गर्दा अहिले २० हजार पत्रकारहरु छन् भन्दा फरक पर्दैन । मिडिया हाउसहरु जन्मिदैछन् । ५०० को हारहारिमा त एफएम नै चलिरहेका छन् । १०० वटा जति टिभी च्यानल छन् । अनलाइन मात्रै १५ सय भन्दा माथि पुगिसके । संख्यात्मक हिसाबले यो धेरै ठूलो भयो तर पत्रकारितामा दक्ष जनशक्तिको अभाव छ । पत्रकारहरुको संख्या ठूलो छ तर अहिले पनि समाचार लेख्न सक्ने पत्रकार खोज्यो भने पाइँदैन । पत्रकारितामा  राम्रो जनशक्तिको पूर्ण अभाव छ । 

पत्रकारको स्तर 

यसलाई अन्यथा नलिनु होला । अहिलेको पत्रकारले सूचनाका क्षेत्रमा भाषाका क्षेत्रमा आत्मज्ञानका क्षेत्रमा र ज्ञानका क्षेत्रमा धेरै काम गर्नुपर्छ । संसारमा चुनौति यति बढिरहेको छ । यो चुनौतिलाई सामना गर्न त्यो अनुसार आफुलाई बलियो बनाएर जानुपर्ने अवस्था छ । सबैभन्दा ठूलो समस्या प्रविधिमा अभ्यस्त हुने क्रममा यी कुराहरु गुमेका छन् । प्रविधिप्रति मान्छेको ध्यान गयो तर यी कुराहरु चाहि पछि परे । अहिले मैले डेस्कमा काम गर्ने एउटा राम्रो मान्छे चाहियो भनिरहेको छु । म आफैं पनि नेपाल प्रेस इन्स्टिच्युटको अध्यक्ष छु । हामीले त्यहाँ एउटा डेस्कमा काम गर्ने जनशक्ति बढाउन टे«निङ गराउने भनेर लाग्यांै तर पैसा तिरेर ट्रेनिङ लिन आउने पनि छैनन् । किनभने पत्रकारितामा बिए, एमए गरेको छ र त्यहाँ टे«निङ लिनुपर्छ भन्ने पनि उसलाई लाग्दैन । तर त्यति पढेर आएको मान्छेको भाषा र लेखाई चित्तबुझ्दो भने हुन सकेन । यसको कारण शिक्षा नै हो । हामीसँग राम्रो शिक्षा भएन । सर्टिफिकेटको पढाई त भयो तर साँच्चै काम लाग्ने शिक्षा भएन कि ।

पत्रकारितामा राजनीति 

पञ्चायतकालमा पनि राजनीति थियो । त्यसबेला हामी पञ्चायत भन्दा बाहिर पक्षका थियौं । अरु पञ्चायत पक्षका थिए । पञ्चायत पक्षको चाहि यसकै कुरा थियो निर्दलीय । अनि अर्को पक्षमा चाहि लेफ्ट र राइट । अहिले त हरेक पार्टीको पत्रकार । पार्टीको पनि कुन गुटको पत्रकार । गुटको पनि कुन नेताको पत्रकार । कुन नेताको पनि कुन रुचीको पत्रकार । त्यसको लगानीकर्ताको पत्रकार । दोस्रो हामीलाई गैरसरकारी संस्थाहरुले धेरै कुरा हामीलाई सिकाए । धेरै कुरा हामीलाई बनाए पनि । हामीले धेरै कुरा जान्यौं पनि । तर तिनले हाम्रो बानी बिगारीदिए । हामी दुईवटा कारणले कमर्शियल भयौं एउटा पत्रकारिता नै कमर्शियल भएर गयो । हामीले गर्ने पत्रकारिता पत्रिकारिताका लागि गर्छौ तर लगानी गर्नेले आफ्नो मुनाफा आर्जन गर्नका लागि पनि गर्छन् ।

पत्रकारिताका माध्यमबाट उ मुनाफा आर्जन गर्छ । हामी त्यसका माध्यमबाट सूचना प्रवाह गर्छौ । मुनाफा आर्जन गर्नेले लगानी सुरक्षित गर्ने काम पनि गर्छ । लगानी प्रवर्धन गर्ने काम पनि गर्छ । पावर शेयरिङको काम पनि गर्छ । यो हुने बित्तिकै सम्पादकको भूमिका त्यहाँनिर आउँछ । तपाईंले आफ्नो व्यवस्थापनलाई पत्रकारिताको हितमा यो भन्दा धेरै गर्नु पत्रकारिताको पेशागत हितमा हुँदैन भनेर एउटा सम्पादकको हैसियतले भन्न सक्नु भयो भने त्यो पत्रकारिताले एउटा सहि बाटो लिन्छ । पत्रकार राजनीति भन्दा बाहिर हुन सक्दैन । पत्रकार राजनीतिक हुन सक्छ तर पत्रकारितालाई राजनीतिक बनाउनु हुँदैन । 

स्वतन्त्र पत्रकार कि पार्टी पक्षको पत्रकार 

मेरो बिचारहरु हेर्नुस् । अहिले हरेकले आफूलाई स्वतन्त्र भन्छ । मैले दिएका अभिव्यक्तिहरु मैले पत्रकारिता गरिरहेको मिडियाले के भूमिका गर्छ । मैले लिड गरेको । अब म रिपोर्टर भएर गरेकोले त म भन्न सक्दिन । यसमा त मेरो कलमले कसको वकालत गर्यो त्यो त पक्कै देखिन्छ । मातृभुमिमा हुँदा मैले कसको बारेमा लेखें । कान्तिपुरमा हुँदा कसको लेखें । नेपाल पाक्षिकमा हुँदा त्यो पत्रिकालाई मैले कसरी चलाउन खोजें । मैले लिड गरेको ठाउँबाट न एउटा मुद्धा नै पर्यो न कोही ढुंगा हान्न नै आए । न यसमा फलानोको समाचार आएन भन्ने गुनासाहरु नै आए । 

प्रेस चौतारीको उम्मेदवार 

नेपाल पत्रकार महासंघमा म चौतारीबाट उम्मेदवार भएको भन्दा पनि म उठेपछि चौतारीले मलाई सहयोग गरेको हो । म चौतारी प्रति आभारी छु । मैले उठ्छु भन्ने मानसिकता राखें । म नेपाली कांग्रेसका नेताहरुलाई पनि भेट्न गएँ । मैले एउटा घोषणापत्र पनि बनाएको थिएँ । अहिले पनि म नेपाल पत्रकार महासंघमा छु । त्यहाँ सल्लाहाकार छु । 

महासंघमा सल्लाहाकारको भूमिका 

अहिलेसम्म म एउटा बैठकमा बसेको छु । केही दिन अघि गएर सुनें हेरें अब रमाइलो नै लाग्यो । 

खामबन्दी पत्रकारिता 

मैले पनि सुनेको छु । मेरो अहिलेसम्म इन्काउन्टर भएको छैन । तर बिकासे पत्रकारितालाई खामबन्दी पत्रकारिता पनि भन्छन् । पत्रकारितामा मात्र होईन यो हरेक पेशामा छ । यसलाई अपवाद नै भन्नुहोस् । सबै पत्रकार खामबन्दी नै हुन्छन् भन्ने पनि मलाई लाग्दैन । हामीले अब आफ्नै आँखा अगाडि मान्छेको जीवनस्तर कहाँबाट कहाँ पुगेको पनि देखेका छौं । तर यो एउटा पत्रकारिताको मूलधार भने होइन । 

पत्रकार र मदिरा

अब पिउनेलाई नराम्रो भन्न त मिल्दैन । त्यो सामाजिकीकरणको प्रक्रिया होला । धेरै साथीहरुले सामाजिकीकरणको प्रक्रियाको रुपमा लिनुहुन्छ । कतिसम्म पिउँदा त्यो प्रक्रिया हुने हो र कति पिए ड्रन्कर । यसमा चाहि सिमाना आफैंले छुट्याउने हो । अब यो कुरामा पत्रकार बद्नाम नै छन् । म पनि खासै पिउँदिन तर पत्रकार भएर पनि नखाने भनेर सोध्छन् । मसँग धेरै नपिउने साथीहरु पनि छन् । हामी सँगै हटलेमन खाएर पनि बस्छौं । तर पनि कुरा रमाइलो नै हुन्छ । अब पिउनु नै नराम्रो त म भन्दिन तर यो आफ्नो मर्यादालाई ख्याल राख्ने कुरा हो । अब भात पनि धेरै खायो भने अपच हुन्छ । जे पनि धेरै खायो भने बिख हुन्छ नि । त्यसले बिखको काम गर्नुभएन ।  

पत्रकारितामा बिताएको समयको मूल्यांकन

म आफ्नो बिवेक, बुद्धि र आफ्नो श्रमबाट यहाँसम्म आइपुगेको पत्रकार हुँ । मेरा शुभ चिन्तक मेरा साथीहरुको अथाह माया र सद्भावले यहाँ आइपुगेको हुँ । मेरो कसैसँग वैरभाव छैन । मप्रति  पनि कसैले सायद वैरभाव राख्छन् भन्ने लाग्दैन । कसैले राखेकै छ भने पनि नबुझेर राखेको होला जस्तो लाग्छ ।  
प्रस्तुति : सुकृत नेपाल 


 

 
 

ताजा खबर