यता प्रधानमन्त्री राजिनामा दिँदै,उता संचारमन्त्री फिल्मसिटी घुम्दै

२०७४ फाल्गुण ३ बिहीबार १३:५५:०० मा प्रकाशित

काठमाडौं,३ फागुन । जात्रा नै हेर्नु छ भने संचार क्षेत्रकै जात्रा किन नहेर्ने। यस्तो गाइजात्रा अन्यन्त्र कहाँ देख्न पाइन्छ र? यता प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान वालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकेर राजीनामा दिने तयारी गर्दैगर्दा त्यही मन्त्रिपरिषद्का एक सदस्य भने त्यहाँ अनुपस्थित थिए।

यसरी मन्त्रिपरिषद्को बैठक छोडेर ती मन्त्री भने जम्मो टोली बोकेर बिहानै दोलखातिर हुँइकिएका थिए। प्रधानमन्त्रीले राजीनामा दिने तयारी गरिरहँदा चलचित्रकर्मीहरुको टोली सहित दोलखा प्रस्थान गर्ने मन्त्री हुन् निवर्तमा संचारमन्त्री मोहन बहादुर बस्नेत।

मन्त्री पदबाट बिदा हुने बेलामा दोलखामा नवनिर्मित फिल्म सिटीको उद्घाटन गर्न त्यहाँ पुगेका थिए। चलचित्र विकास वोर्ड मातहतको फिल्मसिटी निर्माणका लागि तीन करोड बजेटमा बन्न लागेको योजना हो। यो योजना उद्घाटन गर्दा मन्त्री बस्नेतलाई शुभलाभ हुने चलचित्रकर्मीमाझ चर्चा छ। उसो त यस अगाडि नै मन्त्री बस्नेतले विकास वोर्डको अध्यक्ष बनाउँदा कांग्रेस निकट चलचित्रकर्मीहरुलाई पन्छाएर राप्रपा समर्थक निकितालाई वोर्डको अध्यक्ष नियुक्त गरेको थिए।

मन्त्री बस्नेतले विकास वोर्डको अध्यक्षमा गोपीकृष्ण हलको मालिक उद्धव पौडेलकी छोरी निकिता पौडेललाई नियुक्त गरेपछि कांग्रेस समर्थक चलचित्रकर्मी मुर्मिरिएका थिए। कांग्रेसी निकट चलचित्रकर्मीहरुले बस्नेतले ५० लाख रुपैंयाँको थैली बुझेर निकितालाई नियुक्त गरेको आरोप समेत लगाएका थिए। मन्त्री बस्नेतले अहिलेसम्म यसको खण्डन गरेका छैनन्।

ती चलचित्रकर्मीले त सभापति शेरबहादुर देउवासँग भेटेर गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको पूर्व सन्ध्यामा नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई कायल पारेर दुई करोड रुपैंयाँ   चुनाव खर्च उठाएको भन्दै बस्नेतको उजुरी गरेको टेलिकम सम्बद्ध कर्मचारीहरु बताउँछन्।

  केही दिन अगाडि उनै मन्त्री केही दिन अघि चलचित्र विकास बोर्ड एउटा  बैठकमा भाग लिन आफैं विकास वोर्डको कार्यलय गोपीनगरमा पुगेका थिए। चलचित्रकर्मीहरुका अनुसार यसरी विकास वोर्डको इतिहासमा बैठकमा भाग लिन मन्त्री पुगेको यो पहिलो घटना हो।

मन्त्रीले त्यहाँ पुगेर दोलखामा फिल्म सिटीको समुद्घाटन कार्यक्रम राख्न निकिताहरुलाई दबाब दिएका थिए।

यस विषयमा प्रतिक्रिया लिनका लागि चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग फोन सम्पर्कका गर्दा उनले बिहीबार बिहान सञ्चारमन्त्री बस्नेत दोलखामा फिल्म सिटी निर्माण कार्यक्रममा सरिक भएको स्वीकारिन्।

अर्काे गाइजात्रा : निकिताका पिता उद्धव पौडेल कमल थापाको पार्टीको कोषाध्यक्ष हुन्। र उनी एनआइडिसी नामक संस्थाका प्रमुख समेत हुन्। यस्को कार्यलय बालाजुमा छ। जहाँ उनै उद्धव पौडेलको मूर्ति निर्माण भइरहेको छ। न त उनी कुनै राजा महाराजा हुन्। न त उनको कुनै विशेष देन छ। तैपनि मूर्ति बन्न लागेको प्रति चलचित्रकर्मीहरुले नै आश्र्चय प्रकट गरेका छन्।   

ताजा खबर