ओली प्रधानमन्त्री,प्रचण्ड उधारो अध्यक्ष !

२०७४ फाल्गुण ३ बिहीबार १२:२९:०० मा प्रकाशित

काठमाडौं,३ फागुन । बूढापाकाले पहिला  पसलको ढोकामा लेख्थे उधारो प्रेमको कैंची हो भनेर । उनीहरुले यो पसल ब्यापारका लागि भन्थे। तर पछिल्लो चरणमा यो भनाई नेपाली राजनीतिसँग मेल खाएको छ। अझ बाठो पसलेले नगदमा कारोवार गर्ने र सोझाले उधारो दिने।

०५३ सालमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले आफ्ना  प्रतिस्पर्धी कृष्णप्रसाद भट्टराईलाई फकाउन राजनीतिमा उधारो कारोबार शुरु गरेका थिए। उनले कृष्णप्रसाद्लाई पार्टीको सभापति दिने शर्त राखेर आफू प्रधानमन्त्री भएका थिए। 
एमाले र माओवादीबीच फेरि यो कारोबार शुरु भएको छ।  एमाले अध्यक्ष केपी शर्मा ओली  र माओवादी अध्यक्ष प्रचण्डबीच राजनीतिक कारोबार भएको छ। यी दुबैको पार्टीभित्रको हालत अर्काको जग्गा देखाएर कारोबार  गर्ने ब्यापारीको जस्तो छ।  जसरी जग्गाको लालपुर्जा आफ्नो हातमा नहुँदा मच्चि मच्चिई  ब्यापारीले मोलतोल र जग्गाकोबारे बयान गर्छन्, त्यसैगरी यी दुईको हालत पनि उस्तै भएको छ।  मओवादीमा प्रचण्ड मात्र छैनन् त्यहाँ नारायणकाजी , रामबहादुर थापा बर्षमान पुन , पम्फा भुसाल छन् भन्ने कुरा न ओलीले सोचेका छन् न प्रचण्डले नै। त्यसैगरी एमालेमा ओली मात्र छैनन् त्यहाँ झलनाथ खनाल, माधव नेपाल वामदेव गौतम छन भन्ने कुरा न प्रचण्डले सोचेका छन् न ओलीले नै। यिनीहरु दुई बसेर सत्ताको बाँडफाँंड गरेका छन् पदको बाँडफाट गरेका    छन् । तर यसको दीर्घकालीन असर के छ भन्ने कुरा सोचेका छैनन्। ओलीको आँंखा प्रधानमन्त्रीको कुर्सीमा छ र प्रचण्डको आँंखा एमाले माओवादी एकीकरण भएपछिको पार्टी अध्यक्षको कुर्सीमा छ।

यसै सहमति अनुसार बिहीवार एमाले र माओवादीले सरकार बनाउने दावी राष्ट्रपति समक्ष गरेका छन्। आजै देउवाले राजिनामा दिएका छन् र ओली नयाँं प्रधानमन्त्री बन्ने छन्। आजकै दिनबाट नेपालमा वाम सरकारको शासन शुरु हुने छ।  

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच सहमतिको बिकल्प थिएन। हुन त यो गठबन्धन हुन नदिन भित्र र बाहिर अनेक चलखेल नभएका होइनन् । तर जनादेशलाई मान्न  र फेरि जनताको घरदैलोमा जाने चस्काले माओवादीलाई पिरोलिई रह्यो। अस्थिर स्वभावका भनिने माओवादी अध्यक्ष प्रचण्ड नलक्पकाएका होइनन्। उनलाई पाँचबर्ष प्रधानमन्त्रीको ग्यारेन्टी प्रस्ताव नगएको होइन। तर त्यो भरपर्दो थिएन। त्यसमा राजनीतिक चाल थिएन खुराफातीपूर्ण खेलकुद थियो। त्यसकारण बुझेर उनले त्यो प्रस्ताव अस्वीकार गरे भन्ने हो भने नेपाली राजनीति राम्रोसँग बुझेकाका लागि यो सहज मानिँदैन। नेपाली राजनीतिमा शान्ति प्रक्रियामा आएपछि प्रचण्ड धेरै पटक  अरुका फुटवल बनेका उदाहरण छन्। यो पल्ट पनि उक्त प्रस्तावको फुटबल बन्नु राजनीतिक रुपमा उनको पराजय नै ठहरिन्थ्थो । परिस्थिति र परिवेशले उनी यसपटक जोगिएका छन् ।

प्रचण्ड जोगिन त जोगिए तर उनीमाथिको खतरनाक समय अगाडि छ। पहिलो त पार्टी एकीकरण भित्र आईलाग्ने खतरा छ। अर्काे पार्टीका नेता तथा कार्यकर्ताको ब्यवस्थापन छ। अहिलेसम्म प्रचण्डले पार्टीको एकताबारे पार्टी भित्र संस्थापन तरिकाले छलफल गरेका छैनन्। पार्टीको सैद्धान्तिक बैचारिक आधार तयार भएको छैन। तर शीर्ष तहमा पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ। एमाले भित्रको अवस्थामा पनि ठीक यहि हो। तर फरक एमालेसँग प्रधानमन्त्री हुने छ। अर्थात् पावर हुने छ। तर माओवादीसँग केहि हुने छैन।

एमालेले सहमति पालना नगरे माओवादीसँग एकमात्र उपाय हुने छ सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने। त्यो राजनीतिमा सबैभन्दा कमजोर खेल मानिने छ माओवादीका लागि ।

अहिले माओवादीको संगठनात्मक हालत पनि कम्जोर छ। गाउँमा ईन्चार्ज झोला बोकेर हिँड्छ  तर गाउँ कमिटी नै नभएको अवस्था छ। क्मिटीको अध्यक्ष तोकिएको छ तर कमिटी नै छैन। यस्तो नाजुक अवस्थामा रहेको पार्टीका राजनीतिक अवस्था रक्षात्मक हिसाबमा हुनु अस्वभाविक होइन। त्यसैले ओलीलाई आफू उधारो अध्यक्ष हुने शर्तमा समर्थन गर्नुको बिकल्प थिएन माओवादीमा । 
अहिले राजनीतिक पसलमा साहुजी भएका छन् प्रचण्ड र उनी उधारो अध्यक्ष हुने शर्तमा ओलीलाई प्रधानमन्त्री पद बेचिरहेका छन्। चतुर  खेलाडी ओली भने प्रधानमन्त्री पाएकोमा मनमनै भनिरहेका छन् ‘जसले लियो उधारो उसले जीवन सुधारो।’

तर प्रचण्डको उधारो अध्यक्ष उठ्ती सजिलो छैन जति ओलीलाई प्रधानमन्त्री हात पार्न भयो। दुबै पार्टी भित्रको एकीकरणको अभ्यासमा प्रचण्डको उधारो न उठ्न पनि सक्छ किन कि यो एमाले अध्यक्ष ओलीको मात्र हातमा छैन। त्यहाँं भित्रका अनगिन्ती अभ्यास र नेताहरु हेर्दा लाग्छ अन्तिममा प्रचण्डले आफ्नो जीवनमा लेख्नेछन् ‘उधारो प्रेमको कंैची हो।’ 
 

ताजा खबर