मुस्ताङमा  खुल्यो समता स्कुल

२०७४ असार १३ मंगलबार १०:२८:०० मा प्रकाशित

मुस्ताङ, १३ असार । समता एजुकेशन फाउन्डेसन ट्रष्ट काठमान्डौंले मंगलबारदेखि मुस्ताङको जोमसोममा आफ्नो ५१ शाखा विस्तार गरेको छ । निम्न आयश्रोत भएका गरिब, दलित र बिपन्न परिवारका बालबालिकालाई  सस्तो र गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्धेश्यले मुस्ताङमा पनि समता स्कुल खुलेको हो । 

संस्थाले जोमसोममा नर्सरी, एलकेजी र यूकेजीसम्मको प्रारम्भिक कक्षा संञ्चालन गर्ने भएको छ। यसका लागि बाह्र गाउँले गुरुङ समाजघर भाडामा लिएर कक्षा संञ्चालन गर्न लागेको संस्थाका निर्देशक दिपक सन्जेलले जानकारी दिए। उनले यो सुविधा गरिबका छोराछोरीलाई विसुद्ध समाजिक सेवा पुर्‍याउने  उद्देश्यले बिस्तार गरिएको बताए। जोमसोममा सञ्ञ्चालन हुने समता स्कुलका लागि संस्थाका केन्द्रीय सदस्य श्रीराम कार्कीले आवश्यक भौतिक सामाग्री उपलब्ध गराउने भएका छन्।

हाँस्य कलाकार महजोडीको बिशेष सहयोग र परिकल्पना रहेको समता एजुकेशन फाउन्डेसन ट्रष्टले सन् २००१मा  ५० जना बालबालिका समेटेर काठमाडौंको बौद्धबाट यो सेवा सुरूवात गरेको हो। बालबालिकाका लागि अंग्रेजी माध्यमको शिक्षा भन्ने मूलमन्त्रसहित समताले जोमसोम लगायत देशका ५१ जिल्लामा ५३ वटा स्कुल स्थापना गरिसकेको निर्देशक सन्जेलको भनाई छ।

निकै सर्वसलुभ मानिएको समता संस्थाको शैक्षिक सेवा प्रवाहले बिपन्न वर्गलाई राहत पुर्‍याउने जोमसोमका सरोकारवालाहरु बताउँछन्। संस्थाले बालबालिकाका लागि सुरुवाती भर्ना १ सय ५० र मासिक शुल्क जम्मा १ सय मात्र तोकेको छ। एकपटक भर्ना भएका बालबालिकाले कक्षा १२ पुग्दा सम्म मासिक १ सय बाहेक कुनै शुल्क तिर्न पर्देन। नर्सरीदेखि सुरू गरिएको कक्षा वर्षेनी कक्षा बृद्धि गर्दे कक्षा १२ सम्म सञ्चालन हुनेछ।
संस्थाले आगामी २ वर्ष भित्र देशका ७५ वटै जिल्लामा समता एजुकेशन स्कुल बिस्तार गर्ने योजना बनाएको छ ।

ताजा खबर